अस्मिता सापकोटा
काठमाडौं, ६ असोज । हामीमध्ये धेरैजना कुनै शैक्षिक या प्रयोगात्मक विषयमा न्यूनतम योग्यता हासिल गरेर जागिर गर्ने सोचमा छांै होला । कतिपय भने जागिरको लागि आवेदन दिँदा दिँदा कुनैमा पनि छनोट नभए पछि दिक्क मान्दै बसेको हौँला । त्यसो हो भने यो लेख तपाईंको लागि उपयोगी हुन सक्छ ।
अहिलेको अत्यधिक प्रतिस्पर्धी बजारमा जागिर खोज्ने काम त्यति सजिलो छैन । यसका लागि आवेदन दिँदा धेरै कुरामा ध्यान पु¥याउनुपर्छ । यस प्रक्रियामा हुने सानो गल्तीले पनि काम नपाउने सम्भावना हुन्छ । यहाँ जागिरको प्रतिस्पर्धामा अब्बल देखिन अपनाउनुपर्ने केही उपायबारे चर्चा गरिएको छ ।
१. अन्धाधुन्ध आवेदन नदिने
कुनै पनि कामको अनुभव नभएको मानिस जागिर खुलेको देख्नासाथ आवेदन दिन तत्पर हुनु सामान्य हो । यद्यपि त्यसरी खुलेका सबै जागिरमा आवेदन दिनु खासै उपयुक्त हँुदैन । प्रायः संस्था वा कम्पनीको मानव संसाधन विभागका कर्मचारीहरू आवेदकको काम प्रतिको लगाव, रूचि कति छ छुट्याउन सक्षम हुन्छन् । त्यसैले आफ्नो रूचि र क्षमता अनुसारको रोजगारी छनोट गरेर त्यसका लागि मात्र आवेदन दिनु राम्रो हुन्छ । साथै यसरी आवेदन दिँदा आफ्नो क्षमता तथा सीपलाई प्राथमिकतामा राख्नु पर्छ । अन्यथा जथाभावी आवेदन मात्र पेस गर्दा छनोटमा पर्न सकिँदैन र निराशा उत्पन्न हुन सक्छ ।
यसरी नै आवेदन दिँदा समावेश भएका जानकारी तथा परिचय स्पष्ट र सत्य हुनुपर्छ । साथै उक्त आवेदनमा कुनै पनि त्रुटि हुनुहुँदैन । यदि आवेदन फारममा त्रुटि देखिएमा आवेदक रोजगार प्रति गम्भीर नभएको जस्तो देखिन्छ र छनोटमा पर्ने सम्भावना कम हुन्छ ।
२. नेटवर्किङलाई प्राथमिकता दिने
अहिलेको समयमा रोजगारीका लागि सहजीकरण गर्ने धेरै पोर्टलहरू छन् । तर जागिर खोज्नका लागि यो मात्र एक तरिका भने होइन । धेरै कम्पनी तथा संस्थाले यस्ता पोर्टलमा जानकारी उपलब्ध नगराउन पनि सक्छन् । यस्तो ठाउँमा व्यक्तिगत नेटवर्किङको महत्वपूर्ण भूमिका हुन्छ । आफ्नो रूचि अनुसारका कार्यक्रममा भाग लिँदा वा त्यो विषयमा विशेषज्ञहरूसँग अन्तरक्रिया गर्दा रोजगारीको अवसर नजिक पुग्न सहयोग हुन्छ ।
३. अनलाइन उपस्थितिको सदुपयोग गर्ने
सामाजिक सञ्जाल मनोरञ्जनका लागि मात्र नभएर स्रोत खोज्ने, सीप देखाउने लगायत अन्य कार्यका लागि पनि महत्वपूर्ण छ । कतिपय रोजगार दाताहरूले त यसको माध्यमबाटै पनि कामको अवसर प्रदान गर्छन् ।
अहिलेको समयमा रोजगार दाताहरूले सामाजिक सञ्जालको व्यक्तिगत उपस्थितिलाई पनि अवलोकन र विश्लेषण गर्ने हुनाले यसमा आफ्नो उपस्थितिको सदुपयोग गर्न सक्नुपर्छ ।
४. आवेदनको फलोअप गर्ने
कतिपय आवेदन कर्ता कम्पनीको भरमा परेर फलोअप नगर्दा अवसरबाट बन्चित हुन्छन् । कहिले कहीँ प्राविधिक वा अन्य समस्याले छनोट हँुदा पनि फलोअप मेसेज नआउँदा यस्तो हुन सक्छ । साथै आवेदक आफैले फलोअप गर्दा रोजगार प्रतिको रूचि देखिने र छनोटमा पर्ने सम्भावना समेत बढ्छ ।
(एजेन्सीको सहयोगमा)