अस्मिता सापकोटा
काठमाडौं, ४ असोज । कुनै पनि देशको अर्थतन्त्र त्यहाँको उद्योग व्यवसायमा निर्भर हुन्छ । यसैगरी विश्व अर्थतन्त्र चलायमान राख्न पनि ठूला उद्योगहरुको मुख्य भूमिका हुन्छ । आज हामी आइबिआइएसवल्र्डले सार्वजनिक गरेको सन् २०२४ मा आम्दानीका आधारमा १० ठूला उद्योगबारे चर्चा गर्छौं ।
१. जीवन तथा स्वास्थ्य बीमा कम्पनी
जीवन तथा स्वास्थ्य बीमा कम्पनी २०२४ मा विश्वकै ठूलो उद्योग बनेको छ । पछिल्लो पाँच वर्षयता बीमाको विश्वव्यापी माग बढेकाले यस उद्योगमा उल्लेख्य वृद्धि भएको हो । यसले स्वास्थ्य समस्याको उपचारमा सहुलियत प्रदान गरेर उपभोक्तामाझ रोगको जोखिम घटाउन मद्दत गर्छ । विश्वव्यापी रोग संक्रमण दर वृद्धिका कारण यसको महत्व बढ्दै गएको छ । २०२४ मा यस उद्योगको आम्दानी ५५ हजार ३ सय १९ बिलियन डलर रहेको छ ।
२. कार तथा अटोमोबाइल विक्री
हालैका वर्षहरूमा संयुक्त राज्य अमेरिका, क्यानडा, युरोप लगायत स्थापित अर्थतन्त्रमा छाएको मन्दीले कार तथा अटोमोबाइल उद्योगलाई बाधा पु¥याएको छ । तर विकासशील अर्थतन्त्र भएका देशमा भने यसको बजार बढिरहेकै छ । त्यसैले विश्वव्यापी कार डिलरहरूको आम्दानी घटेको छैन । सुरक्षा, मनोरञ्जन लगायतका सुविधा भएका एसयूभी र क्रसओभर जस्ता कारले विकसित देशका नगरिकहरुको ध्यान खिचेकाले पनि यसको उद्योग फस्टाइनै रहेको देखिन्छ । २०२४ मा यस उद्योगको आम्दानी ४३ हजार ५ सय ७५ बिलियन डलर रहेको छ ।
३. कमर्सिअल रियल इस्टेट
विगत पाँचवर्षदेखि कमर्सिअल रियल इस्टेट उद्योग ओरालो लागेको लाग्यै छ । कोभिडपछि खस्किँदै गएको उद्योगले अहिलेसम्म पहिलाको गति समाउन सकेको छैन । कुनै देशको अर्थतन्त्र बढ्दा व्यापार विस्तार हुने, उपभोक्तामाझ खरिद विक्री बढ्ने हुँदा यो उद्योगको आम्दानी पनि बढ्छ । एसियाली देशहरूको आर्थिक विकासले उद्योग वृद्धिमा सहयोग पुगेको भए तापनि विकसित देशहरुको आर्थिक स्थिति अनुसार नै विश्वव्यापी रियल इस्टेट उद्योगको दिशा निर्धारण हुन्छ । विकशित देशमा हुने राजनीतिक तनावले पनि यसमा उतारचढाव ल्याउँछ । त्यसैले व्यापार विवाद, महामारी जस्ता विश्वव्यापी समस्या हुँदा यो उद्योग प्रभावित हुन्छ । २०२४ मा यसको उद्योगको राजस्व ४३ हजार २ सय ९८ बिलियन डलर रहेको छ ।
४. पेन्सन कोष
पेन्सन कोष वृद्ध जनसंख्याको अवकाश आवश्यकता पूरा गर्ने प्रमुख माध्यम बनेको छ । योगदान, लगानी आय, धितोपत्रको विक्री लगायत उद्योगको आम्दानीका मुख्य स्रोत हुन् । वित्तीय बजारमा अस्थिरता भए तापनि इक्विटीमा सकारात्मक लगानीले यस उद्योगको आम्दानीमा वृद्धि भइरहेको छ । योगदान प्रोत्साहित गर्न विभिन्न देशका सरकारले कर छुट दिन थालेका छन् । साथै केही देशमा पेन्सन कोष अनिवार्य जम्मा गर्नुपर्ने बनाइएको छ । यसका कारण विश्वव्यापी प्रतिव्यक्ति आय बढ्दै जाँदा योगदान पनि बढेको छ, जसले कर्मचारीहरूलाई आफ्नो योजनामा अधिक रकम छुट्याउन सक्षम बनाएको छ । २०२४ मा यसको उद्योगको राजस्व ४२ हजार ५ सय ३६ बिलियन डलर रहेको छ ।
५. तेल तथा ग्यास अन्वेषण र उत्पादन
तेल तथा ग्यास उत्पादन कम्पनीमा पछिल्ला केही वर्ष उतारचढावको वातावरण थियो । कोभिड र त्यससँगैका लकडाउनले उत्पादकहरूलाई निकै प्रभावित ग¥यो, जसका कारण आम्दानी दोहोरो अंकले घट्यो । तर अर्थतन्त्र खुल्नासाथ यो स्थिति छिट्टै उल्टियो । यसले गर्दा आपूर्ति तथा माग दुवै उल्लेख्य रूपमा बढ्यो, जसका कारण आम्दानी तीव्र रूपमा वृद्धि भयो । २०२४ मा यस उद्योगको राजस्व ४२ हजार ३ सय ३८ बिलियन डलर रहेको छ ।
६. प्रत्यक्ष निर्जीवन बीमक
पछिल्ला पाँच वर्षको अवधिमा यस उद्योगले कमजोर बीमा बजार, कम ब्याजदर जस्ता चुनौती सामना गरेको छ । यद्यपि उदीयमान बजारमा भएको वृद्धिले स्थापित बजारमा भइरहेको मन्दीलाई केही हदसम्म रोक्न मद्दत गरेको छ । चीनजस्ता देशहरूमा मध्यम वर्गको विस्तारले बीमाको माग बढाएको छ, जसले उद्योगको आम्दानीमा हुने गिरावटलाई सीमित गरेको छ । २०२४ मा यस उद्योगको राजस्व २८ हजार ५ सय ८५ बिलियन डलर रहेको छ ।
७. वाणिज्य बैंक
ऋणको माग, उपभोक्ताको विश्वास, वित्तीय सहायता लगायत कुरा विश्वव्यापी आर्थिक गतिविधिमा निर्भर गर्ने भएकाले वाणिज्य बैंकलाई यसले धेरै ठूलो प्रभाव पार्छ । पछिल्ला पाँच वर्षमा संयुक्त राज्य अमेरिका र चीनको निजी लगानीले आर्थिक गतिविधिलाई मजबुत बनाएको थियो । कम ब्याजदरले व्यवसायीलाई ऋण लिन आकर्षित गरेको थियो । तर अहिले मुद्रास्फीतिका कारण ब्याजदर बढेको छ । यसले अन्त्यसम्ममा उद्योगको नाफा बढाउने अपेक्षा गरिएको छ भने विश्व अर्थतन्त्र सुधार हुँदै जाँदा उद्योगको आम्दानी बढ्ने देखिन्छ । ब्याजदर बढ्दा उद्योगलाई फाइदा हुनेछ भने उदीयमान बजारहरूको राम्रो प्रदर्शनले बैंकिङ गतिविधि र आम्दानी बढाउने अपेक्षा छ । २०२४ मा यस उद्योगको राजस्व २८ हजार २ सय ३३ बिलियन डलर रहेको छ ।
८. कार तथा अटोमोबाइल उत्पादन उद्योग
कोभिड अघि विश्वभरका कार तथा सवारी साधन निर्माताहरूले उपभोक्ता, व्यवसायी र सरकारबाट मनग्गे फाइदा उठाएका थिए । स्थिर आर्थिक वृद्धि कम ब्याजदर लगायत कारणले यो सम्भव भएको थियो । हाइब्रिड तथा विद्युतीय सवारी, स्वचालित ड्राइभिङ लगायत महत्वपूर्ण प्रविधिक सुधारले विश्वभर सवारीसाधनको माग बढाएको थियो । सन् २०२०मा कोभिडको प्रकोपले सवारी साधनको मागमा ठूलो कमी गरायो । तर यसपछि यो उद्योग क्रमसः सुधार हुँदैछ । २०२४ मा यस उद्योगको राजस्व २६ हजार ६ सय ८९ बिलियन डलर रहेको छ ।
९. कोइला खानी
विश्वभरका कोइला खानीको बिजुली उत्पादन तथा स्टिल निर्माणमा महत्वपूर्ण भूमिका छ । चीन, इन्डोनेसिया, अमेरिका र भारत विश्वका ठूला कोइला उत्पादक देशहरू हुन् र यी देशहरूले आगामी दिनमा पनि आफ्नो स्थान कायम राख्ने अपेक्षा छ । कोभिडका कारण स्टिल तथा ऊर्जा उत्पादनमा गिरावट आयो, जसले आम्दानी घटायो । तर अर्थतन्त्र सुधारसँगै सन् २०२१÷२२ मा कोइलाको मूल्यमा ठूलो वृद्धि भयो, जसले खानी कम्पनीहरूलाई आम्दानी र नाफामा ठूलो फाइदा गरायो । २०२४ मा यस उद्योगको राजस्व २५ हजार ४ सय २६ बिलियन डलर रहेको छ ।
१०. विश्व पर्यटन उद्योग
सन् २०१९ विश्व पर्यटन उद्योगको लागि आर्थिक वृद्धिको समय थियो । त्यो वर्षको बढ्दो आम्दानीले पर्यटन व्यवसाय मजाले फस्टायो । तर २०२० मा कोभिडको कारण यात्रामा प्रतिबन्ध, सिमानामा बन्देज तथा स्वास्थ्यमा प्रतिकुल असर लगायतले उद्योगमा ठूलो धक्का पुग्यो । यसले आम्दानीमा ठूलो ह्रास ल्यायो । यसकै कारण पछिल्ला पाँच वर्षमा यस उद्योगमा निकै उथलपुथल भयो । तर २०२४ मा आइपुग्दा मुद्रास्फीति र आर्थिक अनिश्चितता जस्ता चुनौती हुँदाहुँदै पनि उद्योगले राम्रो प्रदर्शन गरिरहेको छ । २०२४ मा यस उद्योगको राजस्व २० हजार २ सय ९७ बिलियन डलर रहेको छ ।
(आइबिआइएसवल्र्ड रिर्पोटका आधारमा)