अस्मिता सापकोटा
काठमाडौं, ४ असोज । बालबालिका स्वाभावैले चञ्चल हुन्छन् । बाल्यावस्था उनीहरुको खेल्ने, कुद्ने, दौडिने उमेर हो । तर अहिलेका बालबालिका बाहिर खेल्न, कुद्नभन्दा पनि घरमै कार्टुन वा भिडियो गेममा रमाउन थालेका देखिन्छन् ।
पहिले पहिले सबैको घरमा टिभी हुँदैनथ्यो । बुबा पुस्ता विद्यालयपछि घरायसी कामका साथै बाहिरी खेलकुदमा रमाए । हाम्रो पुस्तामा टिभी सबैजसोको पहुँचमा भयो । यद्यपि त्यसमा आउने कार्यक्रम सीमित थिए । त्यो पनि बालबालिकाकै लागि भनेर बनाइएका त विरलै हुन्थे । त्यसैले थोरैमात्र समय टिभीमा खर्च भयो भने बाँकी समय घरायसी काम र खेल्न, कुद्नमै बित्यो ।
अब कुरा गरौं, ९० पछिका इन्टरनेट युगका पुस्ताको । इन्टरनेटसँगै आयो भिडियो गेम, २४सै घण्टा विभिन्न्न माध्यममा कार्टुन, फिल्म लगायत अन्य मनोरञ्जनका सामग्री ।
एक्कासि प्रविधिमा आएको यस्तो उथलपुथलले वयस्कहरुको मात्र ध्यान खिचेको छैन, यसले बालबालिकामा पनि आफ्नो क्षेत्राधिकार जमाइसकेको छ । यससँगै बालबालिकाको बाह्य खेलकुदप्रतिको रुचि घटिरहेको देखिन्छ ।
धेरै समय टिभी, कम्प्युटर, मोबाइल जस्ता उपकरणको स्क्रिनमा बस्दा सबै उमेरका बालबालिकाको मानसिक स्वास्थ्य, मस्तिष्कको विकास र व्यवहारलाई नकारात्मक असर पार्न सक्ने विश्वभरका विज्ञहरु दाबी गर्छन् ।
प्रविधिको अत्यधिक प्रयोगले बालबालिकाको स्वास्थ्यमा असर परिरहेको देखिए तापनि यसलाई न्यूनीकरण गर्न भने जटिल नै देखिन्छ । प्रविधि दैनिक जीवनका लागि एक आधारभूत आवश्यकता हो । यसको प्रयोगविना अहिलेको समयमा दैनिक कार्य नै सम्भव छैन । बालबालिकाहरुले समेत यसको प्रयोग गर्दैछन् र गर्नैपर्नेछ । तर यसकै कारण बालबालिकामा नकारात्मक असर पर्न नदिन भने अभिभावकहरु सचेत हुनैपर्ने देखिन्छ ।
विज्ञहरूका अनुसार बालबालिकालाई प्रविधिको नकारात्मक असर पर्न नदिने केही उपाय :
१. परिवारसँग केही भिडियो कलबाहेक १८ महिनामुनिका बालबालिकालाई मोबाइल, ल्यापटप, टिभी जस्ता सामग्री प्रयोग गर्न नदिने ।
२. पाँच वर्षमुनिका बालबालिकालाई दिनमा एक घण्टाभन्दा बढी स्क्रिनमा बस्न नदिने । साथै उच्च गुणस्तरका कार्यक्रम मात्र हेर्न दिने ।
३. बालबालिकासँगै बसेर उनीहरुलाई मन पर्ने वा उपयोगी कार्यक्रमहरु हेर्ने । उनीहरुलाई आफूखुशी मोबाइल, ल्यापटप, टिभी जस्ता सामग्री प्रयोग गर्न नदिने ।
४. १३ वर्षभन्दा मुनिका बालबालिकालाई कुनै पनि सामाजिक सञ्जाल एपहरू प्रयोग गर्न नदिने ।
५. रोइरहेको वा झगडा गरिरहेको बच्चालाई शान्त पार्नको लागि मोबाइल, ल्यापटप जस्ता उपकरण नदिने । यसको साटो अभिभावक आफैले फकाउने वा मनाउने ।
६. नो–फोन जोन सेट गर्ने र त्यसको अनिवार्य पालना गर्ने । सुत्ने र खाना खाने कोठामा बालबालिकालाई मोबाइल, ल्यापटप जस्ता उपकरण प्रयोग गर्न नदिने ।
आजको युग डिजिटल प्रविधिको युग हो । यस प्रविधिबाट बालबालिकाले कक्षा कोठामा सिक्ने भन्दा धेरै ज्ञानगुणका कुरा सिक्न सक्छन् । सकारात्मक तरिकाले उपयोग गर्न सके यसबाट अथाह ज्ञान आर्जन गर्न सकिन्छ ।
अभिभावकले डिजिटल प्रविधिको सकारात्मक र नकारात्मक पक्षहरु बुझेर बालबालिकालाई खुसी र स्वस्थ तरिकाले हुर्काउन मद्दत गर्ने गरी प्रयोग गर्नुपर्ने बोस्टन बाल अस्पतालको डिजिटल वेलनेस ल्याबका निर्देशक डा. माइकल रिच बताउँछन् । साथै बालबालिकाको पहिलो प्राथामिकता आमाबाबुको हेरचाह र ध्यान नै भएको र यो नपाउँदा मात्र उनीहरुले मोबाइल, भिडियो गेम जस्ता उपकरण धेरै चलाउने पाइएको उनी बताउँछन् ।
बालबालिकाको बौद्धिक तथा शारीरिक विकासमा प्रविधिको थोरै प्रयोगबाट मनग्गे लाभ उठाउन अभिभावकले उच्च सतर्कता अपनाउनु पर्ने देखिन्छ । यसैगरी प्रविधिको अत्यधिक प्रयोगबाट बालबालिकाको ध्यान हटाउन तल दिइएका तरिकाहरु अपनाउन सकिन्छ :
१. बालबालिकासँग पर्याप्त कुराकानी गर्ने
बालबालिकाले सधैं अभिभावकको ध्यान खिच्न खोजिरहेका हुन्छन् । अभिभावकको माया र हेरचाह पर्याप्त नपाउँदा अन्य नकारात्मक कुरामा भुल्ने सम्भावना समेत हुन्छ । उनीहरुसँग पर्याप्त अन्तरक्रिया गर्नाले उनीहरुको ध्यान अनावश्यक कुराहरुमा जान पाउँदैन ।
२. बालबालिकासँगै खेल्ने वा उनीहरूलाई पर्याप्त खेल्ने वातावरण सिर्जना गरिदिने
कतिपय अभिभावक आफ्नो बच्चा बाहिर नजाओस्, बाहिर नखेलोस् भन्ने सोच्छन् । तर मानसिक तथा शारीरिक विकासका साथै सामाजिक विकासको लागि पनि बाह्य खेलकुद बालबालिकाका लागि अत्यावश्यक हुन्छ ।
बाह्य खेलकुद बालबालिकालाई शारीरिक र मानसिक विकासमा मात्र नभई वरपरको संसारमा घुलमिल हुन सिकाउन पनि अत्यावश्यक भएको डाक्टर रिच बताउँछन् ।
३. बालबालिकाको अगाडि उदाहरणीय बन्ने
बालबालिकाको लागि सिकाइ महत्वपूर्ण हुन्छ । उनीहरु सिकाएको भन्दा पनि देखेको कुरा छिट्टै सिक्छन् । घरमा अन्य सदस्यले जे गर्छन् उनीहरुले पनि त्यही सिक्ने सम्भावना हुन्छ । त्यसैले उनीहरुको बानी विकासमा अभिभावकको बानीले पनि निकै प्रभाव पार्छ । त्यसैले बालबालिकाको सिकाइमा उदाहरणको महत्व हुन्छ ।
साथै बालबालिकालाई नैतिक शिक्षाको ज्ञान दिनु, उनीहरुले बुझ्ने तरिकाबाट समाजका आवश्यक पक्षका सकारात्मक र नकारात्मक दुवै पाटोहरुका बारेमा बुझाउनु अभिभावकको दायित्व हो । यसले उनीहरुलाई समाजमा असल नागरिकको रुपमा स्थापित हुन पनि भरपुर सहयोग गर्छ ।
(एजेन्सीको सहयोगमा)