काठमाडौं, २६ भदौ । अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले उनका प्रतिसपर्धी कमला ह्यारिस मार्क्सवादी भएको आरोप लगाएका छन् । ’द एबीसी न्युज प्रेसिडेन्सिय डिबेट’मा बुधबार बिहान ट्रम्प र ह्यारिस नर्वाचनअघिको टेलिभिजन बहसमा आमनेसामने भएका थिए । सो क्रममा ट्रम्पले ह्यारिसलाई यस्तो आरोप लगाएका हुन् ।
ह्यारिसका पिता डोनाल्ड जे ह्यारिसले स्ट्यान्फोर्डमा अर्थशास्त्र पढाउँदा मार्क्सवाद पढाएको भन्दै ट्रम्पले ह्यारिस पनि सोही बाटोमा हिंडेको आरोप लगाए । ‘यिनी मार्क्सवादी हुन्, सबैलाई थाहा छ । यिनका पिता मार्क्सवादी प्राध्यापक थिए । छोरीलाई पनि राम्रैगरी मार्क्सवाद पढाएका छन् ।’
हाल अमेरिकी उपराष्ट्रपति रहेकी कमला ह्यारिसलाई राष्ट्रपति जो बाइडेनले आफ्नो उम्मेवारी फिर्ता लिँदै डेमोक्रेट पार्टीबाट उम्मेदवारका रुपमा अघि सारेका थिए ।
पूर्वराष्ट्रपति तथा रिपब्लिकन उम्मेदवार ट्रम्पले लगाएको आरोपमा ह्यारिसले भने आफू पुँजीवादकै समर्थक भएको बताइरहिन् । आफ्ना पिता मार्क्सवादी बौद्धिक भए पनि आफूले हालको अमेरिकी बाटो नै पछ्याउने ह्यारिसको भनाइ थियो ।
करिब ९० मिनेट चलेको बहसमा ट्रम्प र कमलाले एक–अर्काको नीतिलाई लिएर आरोप प्रत्यारोपमा उत्रिए ।
बहसका क्रममा ट्रम्पले ह्यारिसलाई “इतिहासकै सबैभन्दा खराब उपराष्ट्रपति“ भन्दै युक्रेनमा रुसी अतिक्रमण हुनुअघि वार्ता गर्न गएको तर युद्ध रोक्न असफल भएको समेत आरोप लगाए । युक्रेनले रुसमाथि जित हासिल गरेको हेर्न चाहनुहुन्छ भनेर ट्रम्पलाई सोधिएको प्रश्नमा उनले आफूले “युद्धको अन्त्य चाहेको“ जबाफ दिए । इजरेलका विषयमा ट्रम्पले यदि आफू राष्ट्रपति भएको भए र ह्यारिसले ’’दुई राज्यको समाधान’’ र युद्ध अन्त्य गर्न आह्वान गरेको भए युद्ध नै नहुने बताए ।
जवाफका क्रममा ह्यारिसले इजरेलको प्रतिरक्षाको अधिकारलाई आफूले जहिल्यै समर्थन गर्ने तर प्यालेस्टिनीहरूसँग सुरक्षित भएर आत्मसम्मानसाथ बाँच्ने हक रहेको बताइन् ।
ह्यारिसले आफ्नो फोकस भविष्यप्रति रहेको बताउँदा ट्रम्पले कमलाको नीतिको कुनै अर्थ नभएको टिप्पणी गरे । उनले आफ्नो चार वर्षे कार्यकालमा केही पनि हासिल गर्न नसकेको ट्रम्पको टिप्पणी थियो ।
ट्रम्पले अमेरिका बर्बादीको दिशातर्फ अघि बढिहरेको भन्दै पूरा विश्व यसलाई हेरेर हाँसिरहेको टिप्पणी गरे । उता ह्यारिसले भने ट्रम्पले क्यापिटल हिलमा भएको दङ्गाको बचाउ गरेको आरोप लगाएकी थिइन् ।
बहसका क्रममा ट्रम्पले अन्य देशहरूमाथि कर लगाउने कुरामा जोड दिएका थिए । भने ह्यारिसले लघु उद्यमहरूबारे कुरा गरेकी थिइन् । गर्भपतन अधिकारका विषयमा ट्रम्पले यस मुद्दालाई पुनः राज्यहरूसम्म ल्याउन सहयोग गरेको बताए भने ह्यारिसले गर्भपतनसम्बन्धी प्रतिबन्धहरूले महिलाको महत्त्वपूर्ण स्याहारको विषयलाई नकार्ने बताइन् ।