अस्मिता सापकोटा
काठमान्डौं, ३१ असार । हेर्दा सामान्य किरा जस्तो देखिने लामखुट्टेले हाम्रो ज्यान नै जोखिममा पार्न सक्छ भन्ने कुरा नेपालका लागि सन् २००४ अघिसम्म पनि अनौठो विषय थियो । तर केही वर्षयता पोथी लामखुट्टेले सार्ने डेंगी रोगको संक्रमण दर बढ्दो छ ।
डेंगी, डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । पानी पर्ने समयमा लामखुट्टेको अधिक वृद्धि हुने भएकाले यो रोग प्रायः बर्खायाममा फैलन्छ । यो रोगका कारण उच्च ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी वा जोर्नी दुख्ने, छालामा दाग लाग्ने आदि हुन्छ । डेंगी लागेको बेला आउने ज्वरोलाई ब्रेकबोन फिभर पनि भनिन्छ ।
डेंगीको कुनै विशेष उपचार उपलब्ध छैन । तर यसको लक्षण पहिचान गरेर विशेष सावधानी अपनाए यसलाई नियन्त्रण गर्न सकिन्छ ।
विश्वमै डेंगीको सुरुवात सन् १७७९ मै भएको पाइन्छ । तर यो रोगको कारण पहिचान भने २०औँ शताब्दीमा मात्र भएको देखिन्छ । नेपालमा भने पहिलो पटक यो रोगको सङ्क्रमण सन् २००४ मा चितवनमा आएका एक विदेशी पर्यटकमा देखा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को भनाइ छ । सन् २००६ यता यो रोग प्रकोपका रूपमा बढ्दै गएको छ । सन् २०१७ मा मात्र दुई हजार एक सय ११ जनामा यसको सङ्क्रमण देखिएको थियो ।
यसैगरी सन् २०२४ मै पनि जनवरीयता ७ जुलाईसम्म देशभर एक हजार ४८३ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । यस वर्ष डेंगीको संक्रमण मुस्ताङ, डोल्पा, हुम्ला र जुम्लाबाहेक सबै जिल्लामा फैलिएको छ । बागमती प्रदेशमा सबैभन्दा धेरै ५०५ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा काठमाडौंमा सबैभन्दा धेरै १६५ जनामा संक्रमण पुष्टि भएको ईडीसीडीले जनाएको छ । यस्तै, झापामा १२३, चितवनमा ८३, मकवानपुरमा ६५, तनहुँमा ५२, ओखलढुंगामा ५० जनामा डेंगी पुष्टि भएको छ । भने अन्य जिल्लामा संक्रमण दर न्यून छ । यो विवरण अस्पतालहरूबाट संकलित सूचनामा मात्र आधारित भएकाले त्यो संख्या झन् बढी हुन सक्ने अनुमान गरिएको छ ।
विशेषतः उष्ण क्षेत्रमा देखा पर्ने उक्त रोग केही समययता जलवायु परिवर्तनका कारण बढ्दै गएको तापमानका कारण काठमान्डौं उपत्यका र पहाडी भूभागमा पनि देखा परेको विज्ञहरु बताउँछन् ।
विश्व स्वास्थ्य सङ्गठनले पनि यस रोगलाई जनस्वास्थ्यको एउटा प्रमुख चुनौती मानेको छ । संसारभरि यसको सङ्क्रमण ३० गुणाले बढिरहेको सङ्गठनले जनाएको छ । यो रोग फैलाउने लामखुट्टेले सफा पानीमा फुल पार्ने हुँदा मनसुन र उक्त अवधि सकिएको एक महिनासम्म उच्च जोखिम हुने विज्ञहरू बताउँछन् ।
डेंगीका लक्षण
उच्च ज्वरो डेंगीको प्रमुख लक्षण हो । केही मानिसमा भने यसका साथै अन्य लक्षण जस्तै, हाडका जोर्नी र मांसपेशी दुख्ने, छालामा बिमिरा आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने एवम् आँखा दुख्ने पनि हुन सक्छ । सामान्यतया डेंगी भाइरसको सङ्क्रमण भएको तीनदेखि चौध दिनपछि यसका लक्षण देखिन थाल्छन् । यो रोगले मानिसको रक्तकोष घटाउँछ, जसका कारण रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । केही बिरामीहरूमा सामान्य ज्वरो हेमोरेजिक फिबरमा परिणत भएर रक्तस्राव हुँदा ज्यान नै जोखिममा पनि पर्न सक्छ ।
बच्ने उपाय
संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन डेंगी संक्रमण हुन नदिन लामखुट्टेको बस्ने वातावरण सिर्जना हुन नदिनु नै प्रमुख उपाय रहेको बताउँछन् । पुन भन्छन्, ‘डेंगु संक्रमण हुन नदिनु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो । यो भनेको लामखुट्टे वृद्धि विकास हुने वातावरण सिर्जना हुन नदिनु हो । लामखुट्टे वृद्धि विकास नभएपछि हामीलाई लामखुट्टेले टोक्दैन र डेंगु संक्रमण हुँदैन ।’
डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुका साथै लामखुट्टेको वृद्धि रोक्नुपर्ने पुनको सुझाव छ । साथै विभिन्न स्वास्थ्य संगठनका अनुसार यस रोगबाट बच्ने उपाय निम्नानुसार रहेका छन् ।
१. लामखुट्टेलाई नष्ट गर्ने र यसले फूल पार्ने स्थानहरु जस्तै — पानीका खाल्डाहरु पुर्ने ।
२. घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
३. बिहान, दिउँसो, राति जुनसुकै बेला झुल लगाएर मात्र सुत्ने ।
४. बासस्थान वरिपरि पानी जम्न नदिने ।
५. घरभित्रका भएका भाँडाको पानी छोपेर राख्ने ।
६. शरीर पूरै ढाक्ने गरि कपडा लगाउने ।
७. शरीरको खुला भागमा लामखुट्टेको टोकाइबाट बचाउने मलमहरू लगाउने ।
(एजेन्सीको सहयोगमा)