अस्मिता सापकोटा
काठमाडौँ, ३० असार। नेपाल ‘पहिरो मृत्युदर जोखिम सूचक’मा विश्वका प्रमुख १० राष्ट्रमा पर्छ । यसैगरी दक्षिण एसियामै पहिरोको उच्च जोखिम रहेको मुलुक हो नेपाल । नेपालको पहाडी भूगोल पहिरो नियन्त्रणको दृष्टिकोणले आफैमा एउटा चुनौती हो । वर्षेनि पहिरोको कारण यहाँ ठूलो जनधनको क्षति हुने गरेको छ । यसपालि मात्रै देशका विभिन्न स्थानमा बाढीपहिरो लगायतका विपद्का घटनामा शनिवार बिहानसम्ममा एक सय तीन जनाले ज्यान गुमाइसकेका छन् भने बेपत्ता हुनेको संख्या पनि ठूलै छ ।
शुक्रवार मात्रै चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा दुईवटा यात्रुवाहक बस पहिरोले बगायो । पहिरोले बगाएका दुवै बस त्रिशूली नदीमा खसे । चालकसहित करिब ६५ यात्रु सवार उक्त बस आइतवार दिउँसोसम्म भेटिन सकेको छैन । यस्ता घटना नेपालका लागि नौलो भने होइन । यसैगरी वर्षेनि कैयौं मानिसले पहिरो परेर ज्यान गुमाइरहेका छन् । तर राज्यले भने बाढी, पहिरो जस्ता प्रकोप नियन्त्रणमा खासै चासो दिएको देखिँदैन । यसका लागि गरिएको पहल र प्रयास पनि प्रभावकारी देखिएका छैनन् ।
नेपालका तराई क्षेत्र बाहेकका प्रायःजसो राजमार्ग, मुख्य सडक र सहायक सडक पहिरोका उच्च जोखिममा छन् । यो वर्ष मात्र मनसुन भित्रिएयता बाढीपहिरोले २५८ वटा सडकमा क्षति पुर्याएको छ । नेपालमा मनसुनको समयमा हुने निरन्तरको वर्षाका कारण पहिरो जाने गरेको छ ।
भूक्षय हुनु, पहिरो जानु, गल्छी बन्नु, थिग्रेनी स्थानान्तरण हुनुलाई यस क्षेत्रमा भइरहने सामान्य प्राकृतिक प्रक्रिया मान्नुपर्ने भूगर्भविद्हरू बताउँछन् । यद्यपि सडक निर्माण वा विकास निर्माणका कार्य गर्दा यसको जोखिमलाई ध्यानमा राख्नुपर्नेमा उनीहरूको जोड छ ।
नेपालका सडकहरु पहिरोको उच्च जोखिममा पर्नुमा अध्ययन, अनुसन्धानविनै भएका सडक निर्माण मुख्य रहेको विज्ञहरू बताउँछन् । उच्च हिमाल, मध्य पहाड, महाभारत र चुरे पर्वतले बनेको हिमालय शृंखलामा थुप्रै कमजोर जोर्नीहरू भएकाले पनि नेपालमा पहिरोको उच्च जोखिम रहेको उनीहरुको भनाइ छ । नेपालमा पहिरो रोक्ने प्रविधिको विकास नभएकाले पनि यसको नियन्त्रणमा चुनौती हुने गरेको छ ।
भूगर्भशास्त्री प्राडा. खुमनारायण पौडेल भन्छन्, ‘भूगर्भविद्ले अध्ययन–अनुसन्धान गरी उनीहरूले बनाएको भौगर्भिक नक्सांकनका आधारमा भएको विकास निर्माण दीर्घकालीन हुन्छ ।’ शुरूमै अनुसन्धान गरी सावधानी नअपनाउँदा पहिरोको जोखिम उच्च रहने उनको भनाइ छ ।
नेपालमा मात्र होइन, विश्वमै विकसित कतिपय देशहरू समेत पहिरोको उच्च जोखिममा छन् । यस्ता देशले विभिन्न प्रविधिको प्रयोग गरेर पहिरोको जोखिम न्यूनीकरण गर्दै आएका छन् । तर नेपालमा भने अहिलेसम्म यस्तो प्रविधि भित्रिएको छैन । त्यस्तै जापान पनि पहाडी भूभाग भएको पहिरोको जोखिम भएको देश हो । तर त्यहाँ पहिरो नियन्त्रणका लागि उच्च प्रविधिको प्रयोग गरिएकाले नेपालमा जस्तो ठूलो जनधनको क्षति हँुदैन ।
जापानी प्रविधि हुन सक्छ सहयोगी
सडकमा हुने पहिरोलगायत प्राकृतिक प्रकोप नियन्त्रणमा जापान सफल मुलुक मानिन्छ । जापानले ठूला भूकम्प र मुसलधारे पानीका कारणले हुने पहिरो रोकथामका लागि विभिन्न प्राकृतिक तथा प्राविधिक उपाय अवलम्बन गर्दै आएको छ । यसमध्ये ‘इम्प्लान्ट डिटेरेन्स पाइल्स एण्ड इम्प्लान्ट रिटेनिङ वाल’ मुख्य प्रविधि हो । यो प्रविधिमा जमिनमुनि गाडेको डिटेरेन्स पाइल्स (पहिरोको जोखिम न्यूनीकरण प्रविधिमा प्रयोग गरिने एक प्रकारको डन्डीको समूह)ले माटोलाई अँठ्याउँछ र पानीलाई त्यसको बीच भागबाट बग्न दिन्छ र यसमा लस्करै राखिएका पाताहरुले पहिरो बग्नबाट जोगाउँछ ।
यो प्रविधि जडान गर्दा वातावारणलाई कुनै हानि पुग्दैन । पहिले जडान गर्दा ठूलो रकम खर्च हुने भए तापनि यो प्रविधि दीर्घकालीन हुन्छ । यो प्रविधिलाई एक ठाउँबाट अर्को ठाउँमा सजिलै सार्न पनि सकिन्छ । यसले जमिनको स्थिरता कायम गर्छ, जसको कारण पहिरो जान पाउँदैन ।
त्यस्तै जापानले भिरालो जमिनमा वृक्षरोपण, टेरेस फार्मिङ जस्ता प्राकृतिक विधिको प्रयोग गर्दै आएको छ । साथै भिरालो जमीनमा रासायनिक प्रयोग गरेर जमीनलाई बलियो बनाउने, जमिनमुनि पानी बग्ने कुलो निर्माण गर्ने जस्ता प्रविधिको प्रयोग गरेर पनि जापानले पहिरोको जोखिम न्यूनीकरणमा उल्लेख्य सफलता पाएको छ ।
पछिल्ला वर्षमा नेपालमा पनि पहिरो नियन्त्रण गर्न केही पहल भइरहेका छन् । यहाँ पहिरोको जोखिम र नियन्त्रणबारे अध्ययन गर्न जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका)को प्राविधिक सहयोगमा प्राविधिकहरु आउने भएका छन् । नेपालको सडक पूर्वाधारमा सहयोग गर्दै आएको जापानका प्राविधिकले वर्षेनि पहिरो जाने मुख्य राजमार्गमा अध्ययन गर्नेछन् । प्राविधिक टोलीले गरेको उक्त अध्ययनको प्रतिवेदन नेपाल सरकारलाई बुझाउनेछ । जापानी इन्जिनियरले पहिरो रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गरेर रोकथामका लागि प्राविधिक सहयोग समेत गर्ने सडक विभागले जनाएको छ । उक्त अध्ययन र त्यसअनुसार गरिने प्रयासले पहिरो नियन्त्रणमा टेवा पुग्नेमा भूगर्भविद्हरू आशावादी छन् ।
(एजेन्सीको सहयोगमा)