एसईईपछिको प्राविधिक शिक्षा: के छन् अवसर ?

अनलाइनसमय |
२४ असार २०८१
एसईईपछिको प्राविधिक शिक्षा: के छन् अवसर ?

सुनिता सुवेदी

काठमाडौं, २३ असार । दुई साताअघि एसईईको नतिजा सार्वजनिक भयो । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार यस वर्षको एसईईमा ४ लाख ६४ हजार ७८५ विद्यार्थी सहभागी थिए, जसमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्र उत्तीर्ण भए भने ५२.१४ प्रतिशत विद्यार्थी अनुत्तीर्ण ( ननग्रेडेड) भए ।

अनुत्तीर्ण भएका विद्यार्थीका लागि बोर्डले पूरक परीक्षाको कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ । बोर्डले एसइईमा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीका लागि पुरक परीक्षा तालिका सार्वजनिक गरिसकेको छ । परीक्षा आगामी साउन २३ गतेदेखि ३१ गतेसम्म हुँदैछ । पूरक परीक्षा दिने विद्यार्थीको नतिजा आउला नै ।

तर, एसईईका बिद्यार्थीहरु अब के गर्ने, कुन विषय पढ्ने, कहाँ पढ्ने भनेर दुविधामा देखिन्छन् । कलेजहरुले पनि भर्ना अभियान चलाउन थालिसकेका छन् । अभिभावक तथा विद्यार्थी कहाँ पढ्ने, कुन कलेज पढ्ने भनेर कलेजको खोजीमा छन् । कतिपय विद्यार्थी कलेजको प्रवेश परीक्षा दिन धाइरहेका पनि छन् ।

कक्षा ११ र १२ उच्च शिक्षाको प्रवेशद्वार भएकाले विद्यार्थीले धेरै यही तहमा नै मिहेनत गर्नुपर्छ । विद्यालयकै शिक्षामा राम्रो गर्न सकिएन भने उच्च शिक्षामा सफल हुन सकिँदैन ।

त्यसो त कक्षा १० सम्म अध्ययन हुने सबै विषय साधारण नै हुन्छन् । कक्षा ११ मा पढ्ने विषय १० सम्म पढेकाभन्दा केही फरक हुन्छ । कक्षा ११ मा मुख्यतः ५ वटा विषय क्षेत्र छुट्याइएका छन्– विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा र प्राविधिक । विद्यार्थीले आफ्नो रुचि र क्षमता अनुसार यी क्षेत्रका विषय अध्ययन गर्न सक्छन् । कक्षा ११ मा पढाइ हुने ५ विषय क्षेत्रमध्ये पछिल्लो समय विद्यार्थीको रोजाइमा पर्दै आएको विषय हो प्राविधिक शिक्षा ।

के हो प्राविधिक शिक्षा ?

मानव जीवनलाई आवश्यक पर्ने भौतिक सुविधाहरु परिपूर्ति गर्ने विज्ञानका साथै प्रविधिबाट उत्पादन र उत्पादकत्व वृद्धि गरेर भौतिक सुविधा भौतिक तथा सामाजिक आवश्यकता परिपूर्ति गर्ने शिक्षा प्राविधिक शिक्षा हो । एउटा भनाइ नै छ, हातमा सिप भए भोकै मर्नुपर्दैन । हो, यस्तै हो प्राविधिक शिक्षा पनि प्राविधिक शिक्षा लिनेहरूसँग हातमा सिप हुन्छ । यही सिपले उसलाई भोको बनाउँदैन ।

के कारण बढ्दै छ विद्यार्थीको रोजाइमा प्राविधिक शिक्षा ?

पछिल्लो समय नेपालमा शैक्षिक बेरोजगारको अवस्था विकराल नै छ । धेरै युवा–युवती डिग्री सकेको प्रमाणपत्र बोकेर भौतारिएर हिँडेका छन् भने कतिपय वैदेशिक रोजगारीमा छन् । यसमा नेपालको गुणस्तर शैक्षिक अवस्था, स्थानीय तथा विश्व बजारको आवश्यकता अनुसारको ज्ञान, सिप नहुनु मुख्य कारण हुन् । यसैलाई ध्यानमा राख्दै पछिल्लो समय प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण समेत बढ्दै गएको छ ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभीटी)का सदस्य सचिव महेश भट्टराईले प्राविधिक शिक्षा हासिल गरेपछि सहजै रोजगारी पाइने र स्वरोजगार समेत बन्न सकिने भएकाले प्राविधिक धारका विषय विद्यार्थीको रोजाइमा परेको बताए ।

‘आफू रोजगार स्वरोजार बन्न पैसा कमाउनुपर्‍यो, परिवार सञ्चालन गर्नुपर्‍यो, पैसाका लागि काम गर्नुपर्छ, काम गर्न पनि सिप चाहिन्छ, सिपका लागि पढ्नुपर्छ । त्यसका लागि प्राविधिक शिक्षा पढेपछि त्यो त सुनिश्चित छ,’ सिटिइभीटीका सचिव भट्टराईले भने, ‘त्यसकारण प्राविधिक शिक्षामा विद्यार्थीको आकर्षण छ ।’

यसमा सिटिइभीटी मातहतका कलेज सञ्चालक समेत सहमत छन् । शंखरापुर बहुप्राविधिक शिक्षालयका प्राचार्य अनिलमुनी बज्राचार्य भन्छन्– ‘विद्यार्थीहरूको आकर्षण एकदमै राम्रो छ । उहाँहरूको चाहना, यहाँको पढाइ, गुणस्तर हेर्दा विद्यार्थीको आकर्षण राम्रो छ ।’ रोजगारीका विविध अवसर र सम्भावनाका कारण प्राविधिक शिक्षा अहिलेको आवश्यकता नै बनेको उनले बताए ।

कति खर्च लाग्छ प्राविधिक शिक्षा अध्ययन गर्न ?

एसइई उत्तीर्ण गरेका विद्यार्थीहरुले डिप्लोमा तथा प्रिडिप्लोमा तहमा विभिन्न क्षेत्रका विषय अध्ययन गर्न पाउँछन् । ती विषय अध्ययन गर्न ग्रेड पोइन्ट एभरेज (जीपीए) १.६ देखि २.० सम्म तोकिएको छ । साथै विषयअन्र्तगत ३ लाख देखि ६ लाख रुपैयाँसम्म शुल्कको व्यवस्था गरिएको छ ।

‘परिषद्ले आफै सञ्चालन गरेका कार्यक्रममा तीन वर्षको करीब एक लाख लाग्छ भने निजी क्षेत्रले सञ्चालन गरेका कार्यक्रममा पौने पाँच लाखसम्म शुल्क छ, न्यूनतम शुल्क ३ लाख ५० हजारबाट सुरु हुन्छ । धेरै प्रतिस्पर्धात्मक भएको कार्यक्रममा शुल्क महङ्गो छ भने केहीमा कम छ,’ परिषद्का सचिव भट्टराईले भने ।

कस्तो छ प्राविधिक शिक्षा पढेका विद्यार्थीको रोजगारीको अवस्था ?

सिटिइभीटी मातहतमा सञ्चानमा रहेको शंखरापुर बहुप्राविधिक शिक्षालयको मात्रै तथ्याङ्क हेर्दा प्राविधिक शिक्षा अध्ययन गरेका ६४.७ प्रतिशत विद्यार्थी रोजगार छन् भने बाँकी उच्च शिक्षा अध्ययनकै क्रममा छन् । यस शिक्षालयका प्राचार्य बज्राचार्य भन्छन्, ‘यहाँबाट पछिल्लो तथ्यांक अनुसार ग्य्राजुएट भइसकेका दुई तिहाइ विद्यार्थी रोजगार भएको देखिन्छ । प्राविधिक शिक्षामा ८० प्रतिशत माथि रोजगार भयो भने राम्रो मानिन्छ ।’

यसतर्फको शिक्षा हासिल गरेपछि सरकारी, निजी क्षेत्रतर्फ रोजगारीमा संलग्न हुन सक्नुका साथै आफ्नै उद्यम व्यवसाय गरेर पनि बस्न सकिन्छ । ‘आफै स्वरोजगार हुनु सबैभन्दा उत्तम हो । हामी पनि धेरैजसो स्वरोजगार होस् भन्ने चाहन्छौं । हाम्रो तथ्याङ्कले १२÷१३ प्रतिशत स्वरोजगार भएको देखिन्छ । बाँकी २० प्रतिशतले स्वदेशमै जागीर गरेको पाइन्छ । केही प्रतिशत वैदेशिक रोजगारमा छन्,’ बज्राचार्यले भने ।’

यसैगरी परिषद्का सचिव भट्टराईले व्यावसायिक शिक्षाको अर्को विशेषता व्यवसाय प्रवद्र्धन गर्नु पनि रहेको बताए । ‘यो शिक्षा पढेर रोजगार भइसकेपछि त्यसले व्यावसायिक प्रवद्र्वन गर्न सक्छ भन्ने मान्यता राखिन्छ,’ उनले भने ।

हाल सीटीईभीटीले औपचारिक र अनौपचारिक रूपमा सिकेका सीपको प्रमाणीकरण, प्रि–डिप्लोमा तथा डिप्लोमा तहको प्रशिक्षण, परीक्षा सञ्चालन, व्यवस्थापन र प्रमाणपत्र वितरणलगायत विविध काम गर्दै आएको छ । सिटिइभीटी अन्तर्गत स्थापना भएयता २०८० साल फागुन मसान्तसम्ममा एक हजार १६९ शिक्षालय रहेका छन् । जसअन्र्तगत आगिंकतर्फ ६५ वटा शिक्षालय छन् । यस्तै साझेदारी शिक्षालय ५८ वटा रहेका छन् भने सामुदायिक र निजी शिक्षालय क्रमशः ६३९ र ४०७ रहेका छन् ।

के भन्छन् प्राविधिक शिक्षा अध्ययनरत विद्यार्थी ?

पछिल्लो समय उच्च शिक्षा हासिलल गरे पनि रोजगारी नपाउँदा विदेशिने युवाको लहर नै छ । तर प्राविधिक शिक्षामा अध्ययनरत विध्यार्थी अध्ययनपश्चात् देशभित्रै रोजगार पाइने तथा आफ्नै उद्यम व्यवसाय गरेर बस्न सकिनेमा विश्वस्त छन् । शंखरापुर बहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थी शक्ति श्रेष्ठ आफै स्वरोजगार बन्न सकिने भएकाले प्राविधिक शिक्षा पढेको बताउँछन् । रोजगारीको सम्भावना धेरै भएकाले एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक विषय पढ्न उनी सुझाउँछन् ।

प्राविधिक विषय नै पढ्ने अर्का विद्यार्थी दिपक कुमार यादव भन्छन्, ‘नेपालमा सिभिल इन्जिनियरको क्षेत्र राम्रो छ । यो पढिसकेपछि रोजगार पाउनेमा पूर्ण विस्वस्त छौं,’ उनले थपे, ‘रुचि र योग्यता छ भने एसइई उत्तीर्ण विद्यार्थीले प्राविधिक शिक्षा रोज्दा पनि राम्रो हुन्छ ।’

यस्तै अन्जना न्यौपाने पछि गएर दक्ष जनशक्ति बन्ने र लोकसेवातिर पनि राम्रो हुने भएकाले आफूले प्राविधिक शिक्षा अध्ययन गरेको बताउँछिन् । आत्मनिर्भर बन्न सकिने भएकाले एसईई उत्तीर्ण विद्यार्थीलाई प्राविधिक तथा व्यावसायिक विषय पढ्न उनको सुझाव छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस