४३.९५ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच, १ खर्ब ७० अर्बभन्दा बढीको व्यवसाय

अनलाइनसमय |
१३ असार २०८१
४३.९५ प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच, १ खर्ब ७० अर्बभन्दा बढीको व्यवसाय

काठमाडौं, १२ असार । पछिल्लो एक वर्षअवधिमा बीमाको पहुँचमा आएको जनसङ्ख्या घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को ११ महिनामा बीमा (म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित)को पहुँचमा आउने जनसङ्ख्या ४३ दशमलव ९५ प्रतिशत रहेको छ, जुन गत आवको जेठसम्मको बीमाको दायरामा आउने जनसङ्ख्याको तुलनामा शून्य दशमलव २५ प्रतिशत विन्दुले कम हो । गत आवको सोही अवधिमा ४४ दशमलव २० प्रतिशत जनसङ्ख्यामा बीमाको पहुँच पुगेको थियो ।

यस्तै गत आवको जेठको तुलनामा बीमाको व्यवसाय भने बढेको छ । प्राधिकरणका अनुसार चालू आवको जेठसम्ममा बीमा (जीवन, निर्जीवन) को कुल १ खर्ब ७० अर्ब ३२ करोड ७७ लाख रुपैयाँको व्यवसाय भएको छ, जुन गत आवको सोही आवधिको तुलनामा ५ दशमलव ९६ प्रतिशतले बढी हो । गत आवको जेठसम्ममा बीमाको व्यवसाय १ खर्ब ६० अर्ब ७४ करोडभन्दा बढीको भएको थियो ।

एक वर्ष अवधिमा निर्जीवन बीमाको व्यवसाय ६ दशमलव ९२ प्रतिशतले बढेको छ । प्राधिकरणका अनुसार चालू आवको ११ महिनामा निर्जीवन बीमाको व्यवसाय ३६ अर्ब ५६ कारोडभन्दा बढीको भएको छ । गत आवको सो अवधिमा यसको व्यवसाय ३६ अर्ब १९ करोडभन्दा बढी भएको थियो ।

यस्तै चालू आवको जेठसम्ममा जीवन बीमाको व्यवसाय १ खर्ब ३३ अर्ब ७५ करोडभन्दा बढी भएको छ । गत आवको सो अवधिमा यसको व्यवसाय १ खर्ब २४ अर्ब ५४ करोड भएको थियो । अर्थात् एक वर्ष अवधिमा जीवन बीमाको व्यवसाय ० दशमलव १४ प्रतिशतले बढेको छ ।

जेठसम्ममा बीमालेखको सङ्ख्या १ करोड ६८ लाख २ हजार ६९३ रहेको छ, जसमध्ये जीवन बीमालेखको सङ्ख्या १ करोड ४० लाख ८९ हजार ६२२ र निर्जीवन बीमालेखको २७ लाख १३ हजार ७१ रहेको छ । त्यस्तै जीवन बीमालेख (म्यादी, लघुम्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित) को सङ्ख्या ८३ लाख ८९ हजार ९ सयभन्दा बढी हजारभन्दा धेरै रहेको छ ।

प्राधिकरणका अनुसार चालू आवको जेठसम्ममा जीवन बीमा र निर्जीवन बीमा गरी २ हजार ९ सय ७२ वटा कार्यालय छन् । गत आवको सो अवधिमा २८ सय ८७ वटा बीमाको कार्यालय थिए । अर्थात् एक वर्ष अवधिमा समग्र बीमाको कार्यालय सङ्ख्या २ दशमलव ९४ प्रतिशतले बढेको छ । यी कार्यालयमा ११ हजार ६ सय ७४ कर्मचारी आवद्ध छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस