नेपालको अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थामा छ: आईएमएफ

अनलाइनसमय |
२५ जेठ २०८१
नेपालको अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थामा छ: आईएमएफ

काठमाडौं, २५ जेठ । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले नेपालको अर्थतन्त्रले अझै चुनौतीहरूको सामना गरिरहेको जनाएको छ । टिडियन किन्डाको नेतृत्वमा विस्तारित कर्जा सुविधाका सर्तहरू कार्यान्वयन अवस्था मूल्यांकन गर्न आएको आईएमएफ टोलीले एक विज्ञप्ति जारी गर्दै नेपालले गरेका सुधार प्रयास सकारात्मक भए पनि अर्थतन्त्र अझै चुनौतीपूर्ण अवस्थामा रहेको बताएको हो ।

आईएमएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, समयमै चालिएका नीतिगत कदम, वस्तु मूल्यमा नियन्त्रण र कमजोर घरेलु मागले मुद्रास्फीति नियन्त्रण गर्न सहयोग पुगेको छ ।’

यस्तै आईएमएफले कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा राजस्व संकलन कोभिड अगाडिको भन्दा अझै पनि न्यून रहेका कारण यसले विकास खर्च, पूर्वाधार विकास र लक्षित सामाजिक विकासमा वाधा पुग्ने बताएको छ ।

यस्तै बैंकहरूको निष्क्रिय कर्जा दोब्बरले बढेर ४ प्रतिशत पुग्नु र सहकारी संस्थाको बिग्रिँदो वित्तीय अवस्था चिन्ताको विषय बनेको आईएमएफले जनाएको छ । सहकारी समस्या समाधान गर्न नीतिगत पहल सुरु भएको र त्यसलाई आईएमएफले सकारात्मक कदम भएको बताएको छ । आइएमएफले नेपालको मध्यमकालीन आर्थिक दृष्टिकोण सकारात्मक रहेको बताएको छ। ‘विशेषगरी ऊर्जा क्षेत्रमा रणनीतिक लगानी, पूँजीगत खर्चमा वृद्धिले घरेलु माग बढाउने र मुद्रास्फीति लक्ष्य सीमा ५.५ प्रतिशतभित्र रहने अपेक्षा छ,’ विज्ञप्तिमा उल्लेख छ ।

मौद्रिक नीतिको कार्यदिशा सजग र तथ्यांकमा आधारित बनाउनुपर्ने बताएको छ । आर्थिक स्थिरता र नीतिगत संरचना बलियो बनाउन विस्तारित कर्जा सुविधा कार्यक्रम कार्यान्वयनमा प्रगति हुनु सकारात्मक भएको आईएमएफले जनाएको छ ।
नेपालको वित्तीय प्रणालीलाई बलियो बनाउन १० ठूला वाणिज्य बैंकको कर्जा फोर्टफोलियो रिभ्यु सुरु हुनु, नेपाल राष्ट्र बैंक ऐनमा संशोधन, नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०२३÷२४ को वित्तीय विवरण अन्तर्राष्ट्रिय लेखापरीक्षकबाट परीक्षण गर्नेजस्ता विषय सकारात्मक रहेको आइएमएफले बताएको छ ।

सबै सार्वजनिक संस्थानको वार्षिक वित्तीय विवरण प्रकाशित गर्नु बैंक तथा वित्तीय संस्थामा सुपरभाइजरी इन्फर्मेसन सिस्टम पूर्ण कार्यान्वयन हुनु उपलब्धिपूर्ण भएको आईएमएफले बताएको छ ।

नेपालले सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण संरचना बलियो बनाउने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ । जसका लागि १५ कानुन संशोधन र दोस्रो चरणमा थप कानुन तयार भइरहेको समेत आईएमएफले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस