सहज अवस्थामा उपभोक्ता मुद्रास्फीति, बाह्य प्रभावको चुनौती कायमै (भिडियो रिपोर्ट)
अनलाइनसमय |
५ वैशाख २०८२
काठमाडौं, ५ वैशाख । नेपालमा उपभोक्ता मुद्रास्फीति पछिल्ला महिनाहरूमा निरन्तर घट्दो छ । नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत यस वर्ष उपभोक्ता मुद्रास्फीति ५.५ प्रतिशतको सीमामा राख्ने लक्ष्य लिएको छ, जुन गत कात्तिक र मंसिरमा लक्ष्यभन्दा बढी रहेकोमा त्यसयता घट्दै गएको छ, जसअनुसार गत फागुनमा ३.७५ प्रतिशतमा आएको छ । गतवर्षको सोही महिनाको तुलनामा यो १ प्रतिशत बिन्दुले कम हो ।
मुद्रास्फीतिलाई अर्थतन्त्रको एउटा महत्वपूर्ण सूचकको रूपमा लिइन्छ । सामान्यतया वस्तु तथा सेवाको मूल्यमा हुने वृद्धिलाई मूल्यवृद्धि भनिन्छ । तर, ‘मुद्रास्फीति’ भने सर्वसाधारणले प्रयोग गर्ने समग्र वस्तु र सेवाको औसत मूल्यस्तर निरन्तर बढेको अवस्था हो । अर्थात्, केही वस्तु वा सेवाको मात्र मूल्यवृद्धि भएमा मुद्रास्फीति भनिँदैन । मुद्रास्फीतिका लागि समग्र मूल्यस्तरमै वृद्धि हुनुपर्छ, अर्थात् केहीको मूल्य घटे पनि धेरैजसो वस्तु तथा सेवाको मूल्यवृद्धि लगातार भएको छ भने त्यसलाई मुद्रास्फीति भनिन्छ । घट्दो मुद्रास्फीतिले अर्थतन्त्रमा विभिन्न लाभ तथा अवसर सृजना गर्न सक्छ ।
मुद्रास्फीति घट्दो क्रममा हुँदा त्यसले अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रभाव पार्छ । यसले ब्याजदरलाई न्यून बिन्दुतिर धकेल्छ । न्यून ब्याजदरले लगानी प्रोत्साहन भई अर्थतन्त्रमा आय, उत्पादन र रोजगारी बढाउन सहयोग पुग्छ । तर अहिलेको मुद्रास्फीतिबाट धेरै उत्साहित हुने ठाउँ भने छैन । किनकि अमेरिकी प्रशासनले विभिन्न मुलुकलाई लगाएको नयाँ भन्सार दर र सम्बन्धित मुलुकको जवाफी करले विश्व व्यापार युद्धको खतरा निम्त्याएको छ । यो अवस्था चर्किंदै गए दीर्घकालमा यसको असर नेपालमा समेत पर्न सक्छ ।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३.३४ र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९७ प्रतिशत छ । यस्तै ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत मूल्य सूचकांक ४.१८ र शहरी क्षेत्रको ३.६० प्रतिशतले बढेको छ । प्रदेशगत रूपमा कोशीको सबैभन्दा धेरै ५.६८ र गण्डकीको सबैभन्दा कम २.७७ प्रतिशत मुद्रास्फीति छ । मुख्यतः आयातमुखी अर्थतन्त्र भएकाले विश्व बजारमा विकसित घटनाक्रमले नेपालको मुद्रास्फीतिमा अस्थिरता ल्याउन सक्छ ।
गत फागुनमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ३.२५, तराईको ३.७७, पहाडको ३.७२ र हिमालको ४.७७ प्रतिशत रहेको छ । समीक्षा महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति भने ४.४३ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.६९ प्रतिशत थियो ।
प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा भिडियो रिपोर्टः