काठमाडौं, १४ वैशाख । आज देशभर आमा र मातृत्वको सम्मानमा मातातीर्थ आंशी अर्थात् ‘आमाको मुख हेर्ने’ पर्व मनाइँदैछ । जन्म दिने आमाप्रति कृतज्ञता प्रकट गर्ने यो विशेष दिनमा छोराछोरीहरू बिहानैदेखि आमालाई मीठा परिकार दिएर, राम्रा लुगा लगाइदिएर र आशीर्वाद लिँदै श्रद्धा व्यक्त गरिरहेका छन् ।
हरेक वर्षको वैशाख कृष्ण औँसीका यो पर्व दिन मनाइन्छ । जीवित आमालाई सम्मान गर्ने र दिवङ्गत आमाप्रति श्रद्धा व्यक्त गर्दै तर्पण, पिण्डदान र सिदादान गर्ने चलन पुरानै भए पनि यसको आत्मिक महत्व आज झनै गहिरिएको देखिन्छ ।
धर्मशास्त्रविद्हरूका अनुसार आमा उपाध्याय, आचार्य र पिताभन्दा पनि श्रेष्ठ हुन् । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भन्ने वैदिक मन्त्रमा आमाको स्थान स्वर्गभन्दा माथि राखिएको छ । सन्तानले आमाको स्नेह, त्याग र सहनशीलतालाई सम्झिने दिन हो आज ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा। डा। देवमणि भट्टराईका अनुसार मृत्युपछि पनि आमाको आत्माले आजको दिन आफ्ना सन्तानबाट आशा राख्ने भएकाले तर्पण र श्राद्ध गरिँदा दिवङ्गत आमाले आशीर्वाद दिने धार्मिक विश्वास छ ।