काठमाडौं, ३ वैशाख । सरकारको ब्याज अनुदान निकासा प्रवाहित भएपछि सहुलियतपूर्ण कर्जामा असर परेको छ । नेपाल राष्ट्र बैंकले केही समय अगाडि गरेको अध्ययनले सहुलियतपूर्ण कर्जाको करिब १८ प्रतिशत दुरुपयोग भएको पाइएको थियो । सोही कारण ब्याज अनुदान प्रवाहित भएको देखिन्छ ।
केन्द्रीय बैंकका अनुसार उद्यमशील, उत्पादनशील, रोजगारी लगायत क्षेत्रको प्रवद्र्घनका लागि प्रवाह भएर बजारमा कायम सहुलियतपूर्ण कर्जा चालू आर्थिक वर्ष (आव)को ८ महिनामा २३ दशमलव ८१ प्रतिशत अर्थात् ३० अर्ब १९ करोड रुपैयाँ घटेको छ । साउनमा १ खर्ब २६ अर्ब ८१ करोड रुपैयाँ कायम रहेको ब्याज अनुदानको कर्जा गत फागुनसम्म आइपुग्दा घटेर ९६ अर्ब ६२ करोड रुपैयाँमा खुम्चिएको छ ।
गत आव २०८०/८१ को फागुनसम्ममा बजारमा कायम ब्याज अनुदान कर्जाको तुलनामा पनि चालू आवको सोही अवधिमा ३५ दशमलव २८ प्रतिशतले ह्रास आएको देखिन्छ । सो आवमा १ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ ब्याज अनुदान कर्जा रहेको थियो ।
२०८१/८२ को फागुन मसान्तसम्म बजारमा कायम ब्याज अनुदान कर्जामध्ये सबैभन्दा बढी व्यवसायिक कृषि तथा पशुपन्छी क्षेत्रमा छ । यो क्षेत्रमा बजारमा कायम कुल अनुदानको ७० दशमलव ५७ प्रतिशत अर्थात् ६८ अर्ब १९ करोड रुपैयाँ छ । यसैगरी महिला उद्यमशीलतातर्फ ३८ अर्ब २९ करोड, कपडा उद्योगतर्फ ९२ करोड र विदेशबाट फर्केका युवा परियोजनातर्फ १५ करोड रुपैयाँ ब्याज अनुदान कर्जा बजारमा कायम रहेको तथ्याङ्क छ ।
कुन शीर्षकमा कति ब्याज अनुदान कायम

स्रोत : नेपाल राष्ट्र बैंक
सरकारले सहुलियतपूर्ण कर्जामा दिइने ब्याज अनुदानको सीमा घटाउने तयारी गरिरहेको छ । हाल महिला ऋणीलाई ६ प्रतिशत र पुरुष ऋणीलाई ५ प्रतिशत ब्याज अनुदान दिइँदै आएको छ, तर सरकारले नयाँ व्यवस्थामा कटौती गरिने जनाएको छ ।
केन्द्रीय बैंकको मूल्याङ्कन प्रतिवेदन अनुसार सहुलियतपूर्ण कर्जा अन्तर्गत बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको ब्याज अनुदानको कर्जामध्ये सदुपयोग नभएको ७ र दुरुपयोगको आशंका गरिएको ११ गरी करिब १८ प्रतिशत दुरुपयोग भएको पाइएको छ । यो तथ्याङ्कभित्र लक्षित वर्ग पहिचान नभएका र दोहोरो उपयोग भएका कर्जा पनि समेटिएको हुन्छ ।