कुल नारायण श्रेष्ठ,
काठमाडौं, १ वैशाख । ‘अवसरलाई चिन्न सक्नेहरू नै सफल हुन्छन् । कठिनाइ पार गर्दै अगाडि बढ्न सक्ने आँट भएकाहरूको सफलता पक्का हुन्छ । हिम्मत र परिश्रमले असम्भवलाई सम्भव बनाउँछ ।’
सानै उमेरमा बिवाह । घरधन्दामा सीमित जिन्दगी । आर्थिक अभाव । बिरामी पर्दा अस्पताल जाने पैसा हुँदैनथ्यो, घर खर्च जोहो गर्न हम्मे हम्मे पथ्र्यो । ऋण खोज्न जाँदा कसैले पनि पत्याउँदैनथे । कहिल्यै बाहिर निस्केर पैसा कमाउने कल्पनासम्म नगरेकी उनको जीवन एउटा प्रश्नले बदलिदियो ।
कावासोती–१७, गार्सोतेकी विन्दु कुमारी महतोले गाउँका दिदीबहिनीहरू ड्रेस लगाएर हिँडेको याद राखेकी थिइन् । एकदिन उनले सोधिन्, ‘यसरी तपाईंहरू कहाँ जानुहुन्छ ?’ ‘हामी छिमेक लघुवित्त संस्थामा बसेका छौँ, महिनामा एकपटक मिटिङ हुन्छ, यहाँ बचत गर्न सकिन्छ, सहजै ऋण पनि पाइन्छ,’ छिमेकी महिलाहरूले जवाफ फर्काए ।

त्यस दिन बिन्दुको मनमा नयाँ सोच आयो । ‘म पनि यसमा सामेल हुन सक्छु ?’ उनको प्रश्नले जीवनको नयाँ ढोका खोल्यो । ‘सकिन्छ,’ भन्ने जवाफ पाएपछि उनले पाँच जना साथीहरूसँग मिलेर छिमेक लघुवित्त संस्थाबाट सात दिने तालिम लिइन् । उनी त्यही साधारण तर गहकिलो निर्णयकै कारण आज सफल महिला व्यवसायी बनेकी छन् ।
लघुवित्तबाट पहिलोपटक तीन हजार रुपैयाँ ऋण लिइन् । त्यो पैसाले उनले टेलिफोन किनिन् । सानो सटर भाडामा लिएर फोन सेवा सञ्चालन गरिन् । त्यसबेला गाउँमा सीमित मात्रामा फोन भएकाले धेरै मानिस टेलिफोनको लागि उनको पसलमा आउन थाले । थोरै भए पनि मुनाफा हुन थाल्यो । दोस्रोपटक ऋण लिएर केही कस्मेटिक सामान थपिन् । पसलबाट भएको नाफा र थप कर्जा लिदै पसललाई ठूलो बनाउदै लगिन् । ‘शुरूमा त ऋण लिन पनि डर लाग्थ्यो,’ विन्दुले विगत सम्झिइन्, ‘हिम्मत गरे, समयमा किस्ता बुझाउँदै गए, विश्वास जित्न सकेँ ।’

व्यवसाय गर्न विन्दुलाई उनको श्रीमान् र परिवारले साथ, सहयोग र हौसला प्रदान ग¥यो । छिमेक लघुवित्तले ऋणको सही सदुपयोग गर्ने ज्ञान पनि दियो । ‘अनावश्यक खर्च गरे तिर्न गाह्रो हुन्छ, त्यसैले सोचविचार गरेर लगानी गर्नुपर्छ,’ उनले सिकेकी छन् ।
छिमेकले दिएको सस्तो ऋणले व्यवसाय निरन्तरता दिन सहज भयो । अरू ठाउँमा ऋण खोजेको भए ब्याज महँगो तिर्नुपर्ने, समयमा नपाउने उनी सुनाउछिन् । पसल राम्रोसँग चल्यो, फाइदा हुँदै गयो । बिस्तारै घर खर्च सहज हुन थाल्यो । ऋण लिएरै तरकारी खेती पनि शुरू गरिन् । ‘लगानी छिमेक लघुवित्त संस्थाले गरिदिनुभयो,’ उनले भनिन्, ‘व्यवसाय गर्न आफैँले आँट गरे ।’ खेतीबाट पनि राम्रो आम्दानी हुन थालेपछि जग्गा बन्धकीमा लिएर थप खेती बढाइन् ।

विन्दुले साढे ४ बिगाहामा खेती गर्दै आएकी छन् । ३ बिगाहामा मेवा खेती छ, डेढ बिगाहामा तरकारी खेती । उनले २२ कठ्ठामा जुकुनी फर्सी लगाएकी छन् । सिजन अनुसार नयाँ तरकारी लगाउछिन् । उनले पहिले खर्बुजा खेती गरेकी थिइन् । त्यसबाट डेढ लाख लगानी गरेर ६ लाख आम्दानी गरिन् । अहिले मेवा खेतीमा लागेकी छन् ।
उनको खेतमा रेड लेडी प्रजातिको मेवा छ । मेवा खेतीमा १३ लाख लागत लाग्यो । बीउमै १ लाख खर्च भयो, रोपाइँसम्म ५ लाख पुग्यो, बाँकी मल, गोडमेल र खेतालामा गयो । मेवा लगाएको पाँच महिनामा खान योग्य हुन्छ । दस महिनासम्म फल दिने मेवा खेतीले हालसम्म १६ लाख आम्दानी गरिसकेको छ । हावाहुरीले फल नझारीदिए खेतमा अझै ५ लाख बराबरको मेवा बाँकी रहेको उनले सुनाइन् ।

मेवाको लागि मासिक वेतन दिएर एक जना कुरुवा राखेका छन् । आवश्यक पर्दा स्थानीय खेतालाहरूलाई घण्टाको हिसाबले बोलाउछन् । यसरी विन्दुका कारण गाउँका केही मानिसले रोजगारी पाएका छन् ।
तरकारी खेतीमा मेहेनेत धेरै हुने तर आम्दानी कम हुँदा कहिलेकाही उनलाई निराश लाग्छ । तर बजारमा भाउ घट्दा पनि उनीहरूले हार मानेका छैनन् । खेतीमा नयाँ प्रविधि प्रयोग गर्न थालेका छन् । कृषि ज्ञान केन्द्र र नगरपालिकाबाट केही अनुदान लिएर उनीहरूले खेतीको स्तर उचाइमा पुर्याएका छन् ।
पहिले सटर भाडामा लिएर सुरु गरेको पसल अहिले आफ्नै घरमा छ । पसल र खेतीबाट फाइदा भएको केही पैसाले थोरै जग्गा किनेर चार कोठाको घर बनाएको विन्दुले सुनाइन् । आगामी दिनमा समयसापेक्ष नयाँ–नयाँ तरकारी लगाउने विन्दु र उनको परिवारको चाहना छ ।

परिवारको साथ, छिमेक लघुविको सहुलियत ऋण र आफ्नै मेहेनेतले उनी आत्मनिर्भर बन्न सफल भइन् । ‘आँट गर्ने हो भने जीवन बदल्न सकिन्छ, मेहनत गर्दा सफल भइन्छ,’ उनले भनिन् । आज उनको सफलता देखेर गाउँका अरू महिलाहरू पनि प्रेरित भएका छन् । उनले गरेका खेती देखेर अन्यले पनि गर्न थालेका छन् । उनी एक सफल व्यवसायी मात्र होइन, महिलाहरूका लागि प्रेरणाको स्रोत बनेकी छन् ।