नयाँ वर्षमा घुम्न जाँदै हुनुहुन्छ ? यी हुन् उपत्यका नजिकैका १० गन्तव्य

अनलाइनसमय |
१ वैशाख २०८२
नयाँ वर्षमा घुम्न जाँदै हुनुहुन्छ ? यी हुन् उपत्यका नजिकैका १० गन्तव्य

काठमाडौं, १ वैशाख । आजबाट वर्ष २०८२ शुरू भएको छ । वैशाख १ गते अर्थात् नयाँ वर्ष नेपालीहरूको लागि विशेष उत्सव हो । पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ आशा, नयाँ लक्ष्य र सकारात्मक ऊर्जा लिएर अघि बढ्ने अवसरका रूपमा यो दिन मनाइन्छ । यस अवसरमा कतिपय मानिस मन्दिरमा गई पूजाआजा गर्छन्, आफन्त तथा साथीभाइसँग भेटघाट र रमाइलो गर्छन् । यस्तै कतिपय प्रकृतिसँग समय बिताउँदै हरियाली जङ्गल, शान्त वातावरण र मनोरम दृश्यमा रम्न चाहन्छन् ।
यदि तपाईं पनि नयाँ वर्षलाई सहरको भीड र कोलाहलबाट बाहिर, स्वच्छ हावा र हरियाली वातावरणमा स्मरणीय बनाउने योजनामा हुनुहुन्छ भने काठमाडौं उपत्यका नजिकैका यी गन्तव्यहरू तपाईंका लागि उपयुक्त विकल्प हुन सक्छन् । यी ठाउँहरूमा हाइक, एकदिने घुमघाम वा परिवारसहित पिकनिकको आनन्द लिन सकिन्छ, जसले तपाईंको नयाँ वर्षको सुरुआतलाई सुखद बनाउनेछ ।

१. सुकुटे
काठमाडौंबाट ६५ किलोमिटर दुरीमा रहेको सिन्धुपाल्चोकको सुकुटे पर्यटकीय उत्कृष्ट गन्तव्य हो । प्रख्यात भोटेकोशी नदीको किनारमा फैलिएको यो सानो बस्ती अहिले देशकै एड्भेन्चर हब बनेको छ । यहाँ जडिबुटिबाट सार्वजनिक गाडीमा साढे दुईदेखि तीन घण्टामा पुग्न सकिन्छ । कोठेश्वर, धुलिखेल, पाँचखाल, दोलालघाट भोटेकोशी पुगिन्छ ।
सुकुटे खासगरी ¥याफ्टिङका लागि चर्चित छ । ¥याफ्टिङका लागि आउने स्वदेशी र विदेशी पर्यटकले यो ठाउँलाई व्यस्त बनाएका छन् । यस्तै बन्जी जम्पिङ, क्यानोनिङ, रक क्लाइम्बिङ, स्काई साइक्लिङ, ह्याम्मक केबलकार, ३६ डिग्री स्विङ जस्ता साहसिक खेल यहाँ उपलब्ध छन् । सुकुटेमा एक दिनमै कयौँ एड्भेन्चरको मजा लिएर काठमाडौं फर्किन सकिन्छ । यहीँ बस्न चाहनेहरूका लागि सुविधायुक्त होटल, रिसोर्टहरू पनि रहेका छन् । सुकुटेले पर्यटकलाई प्रकृति, साहस र रमाइलोको संगम बनाइदिन्छ ।

२, चिसापानी
काठमाडौं उपत्यकाबाट करिब २९ किलोमिटर टाढा अवस्थित चिसापानी, राजधानीनजिकैको रमणीय र शान्त गन्तव्य हो । हाइकिङ पारखीहरूका लागि विशेष रूपमा परिचित यो ठाउँ प्राकृतिक सौन्दर्य, हिमश्रृङ्खलाको मनमोहक दृश्य र शीतल वातावरणका कारण पनि पर्यटकको रोजाइमा पर्छ ।
चिसापानी पुग्न धेरैजसोले सुन्दरीजल हुँदै जाने बाटो रोज्छन् । सुन्दरीजलबाट हिँडेर शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्ज भित्र छिर्दै उकालो लाग्नु पर्छ । करिब ४ देखि ५ घण्टाको हाइकिङपछि चिसापानी पुगिन्छ । आफ्नो सवारी साधनमा पनि पुग्न सकिन्छ । हाइकमा बाटोभरि हरियाली जङ्गल, बगर, पानीका धारा, सुन्दर फाँट र पक्षीहरूको आवाजले यात्रालाई अझ रोमाञ्चक बनाउँछ ।

गौरीशंकर, लाङटाङ हिमालको मजाले दृश्यावलोकन गर्न सकिने यहाँ बाट एकैदिनमा पनि काठमाडौं फर्कन सकिन्छ । चिसापानीबाटै फर्किने हो वा त्यहीँ रात बस्ने हो भने होटलहरू पनि छन् ।

३, भोटेचौर
‘मिनी इलाम’को उपनामले चिनिने काठमाडौंबाट नजिकै रहेको भोटेचौरको चियाबगान धेरैको रोजाइमा पर्छ । चावहिलबाट ३८ किलोमिटर टाढा छ । भोटेचौर पुग्नका लागि काठमाडौंबाट चावहिल–साँखु हुँदै करिब २ घण्टा गाडी यात्रा गर्नुपर्छ । यस्तै करिब ५ घण्टाको हाइकिङ गरेर पनि भोटेचौर पुग्न सकिन्छ । बाटोभरि हरियाली डाँडाकाँडा, स–साना गाउँहरू र पाखा पार गर्दै यात्रा रमाइलो लाग्छ ।

चाबहिलबाट सार्वजनिक सवारी साधनको व्यवस्था भएकाले परिवार र साथीभाइसँग छुट्टीको दिन एकदिनको यात्रा गर्न सकिने रमाइलो ठाउँ हो । भोटेचौरमा बस्न र खानका लागि सुविधासम्पन्न होटल र रिसोर्टहरू समेत रहेका छन्, जसले चिया बगान छेउमै कफी र सुकुटी खाँदै रमाउन सकिने सकिन्छ ।

यहाँबाट धौलागिरी हिमश्रृङ्खला, कञ्चनजङ्घा, मनास्लु, गणेश, लाङटाङ, गौरीशङ्कर, चोयु, ल्होत्से, मकालु लगायत हिमालको अवलोकन गर्न सकिन्छ । नगरकोट क्षेत्र हिमालको काखबाट निस्कने सूर्योदयको दृश्यावलोकन लागि पनि प्रसिद्ध छ । पारिवारिक पिकनिक, साथीभाइसँगको रमाइलो, जोडीहरूको फोटोसुट वा एक्लै पनि आत्मसन्तुष्टि दिने गरी घुम्न सकिने रमणीय स्थल हो यो ।

४, नगरकोट
काठमाडौं उपत्यकाको पूर्व–उत्तर कुनामा अवस्थित प्रसिद्ध पर्यटकीय गन्तव्य हो, नगरकोट । राजधानीबाट करिब ३२ किलोमिटर टाढा रहेको नगरकोट समुद्री सतहबाट २ हजार ७५ मिटर उचाइमा छ । यहाँको मुख्य आकर्षण भनेको सूर्योदय, सूर्यास्त र हिमश्रृङ्खलाको अवलोकन हो ।
सहरको व्यस्तता र धूलोधुवाँबाट केहीबेर टाढिएर चिसो हावामा, हरियाली बोटबिरुवा, डाँडाकाँडा, हिमाली सौन्दर्य निहाल्न चाहनेहरूका लागि नगरकोट उत्कृष्ट गन्तव्य हो । काठमाडौंबाट करिब साढे १ घण्टाको गाडी यात्रामा सजिलै नगरकोट पुग्न सकिन्छ ।

नगरकोटबाट मौसम सफा भएको बेला उत्तरमा मनमोहक हिमालयका चुचुराहरूका साथै विश्वको सर्वोच्च शिखर सगरमाथाको रोमाञ्चक दृश्य हेर्न सकिन्छ । सूर्योदय हेर्न धेरैले बिहानै ४–५ बजे नै यहाँ पुग्ने गर्छन् । टावर वरपर पिकनिक स्पट र शीतल बन पनि रहेको छ । अहिले नगरकोटमा साहसिक खेल जिपलाइन पनि चल्न थालेको छ ।

नगरकोटमा बसोबासका लागि होटल, रिसोर्ट र होमस्टेहरू छन् । नगरकोटबाट हाइकिङ गरेर चागुनारायण मन्दिर, चिसापानी, नाला हुँदै बनेपासम्म पनि पुग्न सकिन्छ । धार्मिक दृष्टिले पनि नगरकोट महत्वपूर्ण छ । यहाँ जाल्पा देवी मन्दिर, काली देवी मन्दिर, महादेव कुण्ड जस्ता पवित्र स्थलहरू छन् ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

५, शिवपुरी
शिवपुरी डाँडा काठमाडौं उपत्यकाकोे अग्लो चुचुरोमध्ये एक हो । शिवपुरी काठमाडौंको उत्तरमा शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा अवस्थित छ । यो समुद्री सतहबाट २ हजार ५६३ मिटर उचाइमा अवस्थित छ । यहाँको शान्त वातावरण र प्राकृतिक सुन्दरताले हाइकिङ र प्रकृतिप्रेमीहरूको लागि उत्कृष्ट स्थल बनेको छ । घना वनमा उकालो यात्रा गर्दै शिवपुरी डाँडा पुगेपछि हिमशृङ्खलाको सुन्दर दृश्यका साथै काठमाडौं उपत्यकाको मनोरम दृश्य देख्न सकिन्छ ।
शिवपुरी पुग्नका लागि विभिन्न बाटोहरू छन् । बूढानीलकण्ठबाट पानीमुहान हुँदै राष्ट्रिय निकुञ्ज प्रवेश गर्दै उकालो जान सकिन्छ । यो यात्रा ४ देखि ५ घण्टा सम्मको समय लाग्छ । त्यस्तै सुन्दरीजलबाट पनि यहाँ पुग्न सकिन्छ ।

शिवपुरीमा पुग्दा यहाँको वातावरण अत्यन्त शान्त र सुकून दिने खालको हुन्छ । न्यानो समय र चिसो समयका लागि पनि आकर्षक छ । यहाँबाट गौरीशंकर, लाङटाङ, मनास्लु, कञ्चनजङ्घा र सगरमाथा लगायतका हिमशृङ्खलाहरूको दृश्यावलोकन गर्न सकिन्छ । यहाँको सूर्योदय र सूर्यास्तको दृश्य पनि विशेष आकर्षणको हो । शिवपुरी राष्ट्रिय निकुञ्ज जैविक विविधता र वन्य जीवनका लागि पनि प्रसिद्ध छ । यहाँ बाघ, भालू, विभिन्न प्रकारका चरा र अन्य जन्तुहरूलाई देख्न सकिन्छ । प्रकृति र वन्यजीव प्रेमीहरूको लागि यो स्थान एकदमै महत्वपूर्ण गन्तव्य हो ।

६, ककनी
काठमाडौंको माछापोखरीबाट २० किलोमिटर यात्रा गरेपछि ककनी पुग्न सकिन्छ । डेटिङ स्पटको रूपमा चिनिने यो ठाँउ नुवाकोटमा पर्छ । ट्राउट माछाको स्वादसँगै मायाको स्वाद लिन चाहनेका लागि यो ठाउँ उत्तम हुन सक्छ । ककनी स्ट्रबेरी र ट्राउट माछाले प्रख्यात मानिन्छ ।
एकएकै दिनमा फर्केर अउन सकिने यहाँ स–साना उद्यान तथा हरियाली डाँडाहरू छन् । बस्नका लागि पनि सुविधायुक्त होटलहरू छन् । हरियाली वातावरण भएको ककनी धेरैको रोजाइमा पर्न सक्ने ‘पर्यटकीय हब’ हो ।

७, चन्द्रागिरि
समुद्र सतहबाट दुई हजार ५ सय मिटर उचाइमा रहेको चन्द्रागिरि डाँडा भौतिक सुविधासम्पन्न पर्यटकीय गन्तव्यका रूपमा अहिले विकास भइसकेको छ । चन्द्रागिरि जानको लागि काठमाडौंको थानकोटदेखि केबुलकारको सुविधा उपलब्ध छ । यतिमात्र होइन थानकोटबाट हाइक गरेर पनि चन्द्रागिरिसम्म पुग्न सकिन्छ ।
विशेषगरी चन्द्रागिरि धार्मिक पर्यटन, दृश्यावलोकन र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण छ । यहाँ भालेश्वर महादेवको मन्दिर रहेको छ ।
नेपाल एकीकरणको क्रममा पृथ्वीनारायण शाहले पहिलो पटक चन्द्रागिरि डाँडाबाट काठमाडौं उपत्यका नियालेको इतिहास छ ।

८, चित्लाङ
काठमाडौंको थानकोटबाट करिब १६ किलोमिटर दूरीमा अवस्थित चित्लाङ मकवानपुर जिल्लाको एक गाउँ हो । यो गाउँ सहरी व्यस्तताबाट केही समयको लागि टाढिन चाहने आन्तरिक पर्यटकको लागि उत्कृष्ट स्थान हो ।
यहाँ परिवार, साथीभाईसँग बसेर क्याम्प फायर, बार्बीक्यू गर्न सकिन्छ । यस्तै चित्लाङमा बाख्राको दूधबाट निर्मित चिज, ट्राउट माछा तथा स्थानीय स्तरमा उत्पादित तरकारीका लागि चर्चित छ ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

९, फूलचोकी
समुद्र सतहबाट २ हजार ७ सय ६२ मिटरको उचाइमा रहेको फूलचोकी काठमाडौं उपत्यकालाई घेरेर राखेका पहाडमध्ये सबैभन्दा अग्लो चुचुरो हो । यो ठाउँ काठमाडौंदेखि करिब १० किलोमिटर दक्षिण पूर्वमा अवस्थित छ । हाइक जानेहरूका लागि गोदावरीबाट ३ घण्टाको पैदल हिडेपछि यहाँ पुगिन्छ । फूलचोकीबाट प्राकृतिक दृश्यावलोकन साथै तराईका समथर फाँटदेखि उत्तरका गगनचुम्बी हिमालहरूको दृश्यावलोकन गर्न सकिन्छ ।
त्यहाँको अर्को आकर्षण वनस्पति तथा वन्यजन्तुहरू पनि हुन् । फूलचोकीमा हिउँदको समय हिउँ खेल्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरू जाने गर्छन् । त्यहाँ फूलचोकी माईको मन्दिर पनि छ ।

१०, लाकुरी भञ्ज्याङ
ललितपुरमा रहेको लाकुरी भञ्ज्याङ उपत्यकाको दृश्यावलोकन र सगरमाथा हिमश्रृङ्खला, गणेश हिमाललगायत हिमालहरू अवलोकनका लागि परिचित छ । साथै यहाँबाट उपत्यकाका तीनवटै सहरको दृश्यावलोकन गर्न सकिन्छ । चक्रपथबाट १३ किलोमिटर दूरीमा रहेको लाकुरी भन्ज्याङ उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा चिनिँदै गएको छ । सल्ला, कटुस र लालीगुराँसको वन हुदै लाकुरी भन्ज्याङ पुगिन्छ । प्याराग्लाइडि गर्न र सूर्योदय हेर्न पनि लाकुरी भञ्ज्याङ उपयुक्त छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस