काठमाडौं, २९ चैत । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाबाट घर जग्गा क्षेत्र (आवासीय व्यक्तिगत तथा व्यावसायिक)मा प्रवाह हुने कर्जा बढ्न थालेको छ । ब्याजदर घट्न थालेसँगै यो क्षेत्रमा प्रवाह हुने कर्जा पनि बढेको तथ्याङ्कले नै देखाउँछ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव)को ८ महिनाको तुलनामा चालू आवको सोही अवधिमा व्यक्तिगत आवासीय र घर जग्गा (रियल इस्टेट) कर्जा बढेको छ । गत फागुनसम्ममा बैंक तथा वित्तीय संस्थाबाट ३ खर्ब २२ अर्ब ५२ करोड रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा प्रवाह भएको छ, जुन गत आवको यसै अवधिको तुलनामा ४ दशमलव ३९ प्रतिशत बढी हो । २०८० को फागुनसम्ममा ३ खर्ब ८ अर्ब ९३ करोड रुपैयाँ व्यक्तिगत आवासीय घर कर्जा प्रवाह भएको थियो ।
यसैगरी बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित घर जग्गा कर्जा १० दशमलव ०८ प्रतिशतले बढेको छ । गत आवको ८ महिनामा २ खर्ब १३ अर्ब ४२ करोड रुपैयाँ घर जग्गा कर्जा प्रवाह भएको थियो भने चालू आवको सोही अवधिमा यस्तो कर्जा २ खर्ब ३४ अर्ब ९४ करोड रुपैयाँ प्रवाह भएको तथ्याङ्क छ ।
चालू आवको ८ महिनामा बढी व्यक्तिगत आवासीयतर्फ सबैभन्दा धेरै कर्जा प्रवाह गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले यस्तो कर्जा ५० अर्ब ६६ करोड रुपैयाँ प्रवाह गरेको छ । यसपछि ग्लोबल आईएमई बैंक ३८ अर्ब ५० करोड, राष्ट्रिय वाणिज्य २७ अर्ब ७९ करोड र नबिल बैंकले २७ अर्ब ३६ करोड रुपैयाँ व्यक्तिगत आवासीयतर्फ कर्जा दिएको छ ।
सो अवधिमा घर जग्गा कर्जा धेरै प्रवाह गर्ने बैंक पनि एनआईसी एशिया नै रहेको छ । बैंकले यस्तो कर्जा २६ अर्ब २७ करोड रुपैयाँ प्रवाह गरेको छ । यसैगरी घर जग्गा कर्जा बढी प्रवाह गर्ने अन्य बैंकहरूमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक २४ अर्ब ७३ करोड, नबिल बैंकले २३ अर्ब ९३ करोड र प्राइम कमर्सियल बैंकले २१ अर्ब ६९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
कुन बैंकबाट कति कर्जा प्रवाह ?
रू. दश लाखमा
स्रोत : नेपाल राष्ट्र बैंक
राष्ट्र बैंकले अधिकतम दुई करोडसम्मको घरकर्जालाई व्यक्तिगत आवासीय र दुई करोडभन्दा बढीको कर्जालाई घर जग्गा शीर्षकको कर्जामा गणना गर्दै आएको छ ।