काठमाडौं, २८ चैत । चालू आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैंकहरूको खुद नाफा बढेको छ । पछिल्लो तथ्याङ्क अनुसार २० ओटा वाणिज्य बैंकहरूको खुद नाफा बढेको हो । यो वृद्धिले नेपालको मौद्रिक तथा वित्तीय क्षेत्रमा सकारात्मक संकेत देखाएको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आवको ८ महिनाको तुलनामा चालू आवको सोही अवधिमा यस्तो बैंकको खुद नाफा २ दशमलव ८१ प्रतिशत बढेको हो । चालू आवको फागुनसम्ममा बैंकको खुद नाफा ४३ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । गत आवको यसै अवधिमा वाणिज्य बैंकहरूले ४२ अर्ब ३० करोड रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।
गत फागुनसम्ममा धेरै खुद नाफा गर्ने नबिल बैंक रहेको छ । बैंकले ४ अर्ब ७८ करोड आर्जन गरेको छ, जुन गत आवको यसै अवधिको तुलनामा १ दशमलव ३४ प्रतिशत बढी हो । यस बैंकले गत वर्षको फागुनसम्ममा ४ अर्ब ७२ करोड खुद नाफा गरेको थियो ।
दोस्रो धेरै खुद नाफा गर्ने ग्लोबल आईएमई बैंक रहेको छ । गत फागुनसम्ममा यस बैंकले ४ अर्ब ७२ करोड रूपैयाँ खुद नाफा गरेको छ, जुन गत आवको यसै अवधिको तुलनामा ३७ दशमल ७५ प्रतिशत बढी हो । बैंकले गत आवको ८ महिनामा ३ अर्ब ४३ करोड खुद नाफा गरेको थियो ।
यस्तै चालू आवको ८ महिनामा तेस्रो धेरै खुद नाफा गर्ने नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको छ । बैंकले ४ अर्ब ८ करोड रूपैयाँ खुद नाफा गरेको छ, जुन गत आवको यसै अवधिको तुलनामा ४५ दशमल ६८ प्रतिशत बढी हो । बैंकले गत आवको फागुनसम्ममा २ अर्ब ८० करोड खुद नाफा गरेको थियो । यसपछि एभरेष्ट, नेपाल बैंक र एन एम बि बैंक क्रमशः अगाडि रहेका छन् ।
राष्ट्र बैंकको तथ्याङ्क हेर्दा गत आवको ८ महिनाको तुलनामा चालू आवको सोही अवधिमा ११ ओटा वाणिज्य बैंकको खुद नाफा बढेको छ भने ९ ओटामा ह्रास (कम नाफा) आएको छ । सो अवधिमा सबै भन्दा कम खुद नाफा गर्नेमा कृषि विकास बैंक रहेको छ । बैंकले गत आवको फागुनसम्ममा १ अर्ब ९७ करोड खुद नाफा गरेको थियो भने चालू आवको सोही अवधिमा ७३ करोड रुपैयाँ नाफा गरेको छ । यस्तै एनआईसी एशिया ८१ करोड, कुमारी ९६ करोड र सिटिजन्स १ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको तथ्याङ्क छ ।
वाणिज्य बैंकहरुको खुद नाफा (रू. करोडमा)

स्रोत : नेपाल राष्ट्र बैंक