काठमाडौं, २५ चैत । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने कारागार चलान भएका छन् । सोमबार रुपन्देही जिल्ला अदालतमा पेस गरेर सभापति लामिछानेलाई जिल्ला कारागार चलान गरिएको हो ।
सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा शुक्रबार उच्च अदालत तुलसीपुर, बुटवल इजलासले उनलाई थुनामा पठाउन आदेश दिएको थियो । अदालतको आदेशलगत्तै प्रहरीले लामिछानेलाई शुक्रबार राति उनकै निवासबाट पक्राउ गरेको थियो । त्यस दिन लामिछानेलाई भद्रकालीस्थित जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखेर शनिबार बिहान यती एयरलाइन्सको विमानमार्फत भैरहवा लगेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको थियो ।
सरकारी विदाका कराण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई आज रुपन्देही जिल्ला अदालतमा पेस गरिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी सुरज कार्कीका अनुसार अदालती प्रक्रिया पुरा गरेर लामिछानेलाई कारागार पठाइएको छ । अब अदालतको फैसला नआउन्जेल उनी सोही कारगारमा रहने छन्
गत शुक्रबार जिल्ला अदालत रूपन्देहीले दिएको एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको थियो । माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो ।