काठमाडौं, ९ फागुन । ललितपुरस्थित एलसीसीआई ग्लोबल क्वालिफिकेसन्स र फोर्थ भ्याली कलेज, स्कटल्याण्डको सहकार्यमा पाककला तथा आतिथ्य व्यवस्थापन (हस्पिटालिटी म्यानेजमेन्ट)सम्बन्धी नेपाल-स्कटल्याण्ड छात्र आदान-प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । २०२५ फेब्रुअरी ४ देखि २० सम्म ललितपुर, काठमाडौं, भरतपुर र पोखरामा आयोजित उक्त कार्यक्रममा नेपाली र स्कटिस विद्यार्थी, प्रशिक्षक तथा आतिथ्य व्यवसायीहरू सहभागी थिए ।
कार्यक्रमले स्थायी खाना पकाउने अभ्यास तथा सामुदायिक परियोजना सञ्चालन गर्दै नेपाली परम्परागत परिकार प्रवद्र्धनका साथै स्थानीय तथा अग्र्यानिक सामग्रीको प्रयोगद्वारा दिगो पाककला प्रणालीको विकासमा टेवा पुगेको एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सले बताएको छ । साथै, फुड वेस्ट म्यानेजमेन्ट सम्बन्धी कार्यशालाहरूमार्फत होटल तथा खानपान व्यवसायमा वातावरणमैत्री विशिष्ट व्यवस्थापन रणनीति लागू गर्न सिकाएको बताइएको छ ।

कार्यक्रममा विद्यार्थीहरूको व्यावसायिकता, नेटवर्किङ तथा करियर विकासमा ध्यान दिँदै सफ्ट स्किल तालिम प्रदान गरिएको थियो । जसमा मिक्सोलोजी सम्बन्धी विशेष प्रशिक्षण पनि समावेश थियो । फुड सेफ्टी तालीममार्फत खाद्य सुरक्षा, स्वच्छता तथा जोखिम व्यवस्थापन सम्बन्धी ज्ञान दिइएको उक्त कार्यक्रममा नेपाली र स्कटिस विज्ञहरूबीच अन्तरक्रियात्मक छलफल तथा अनुभव आदान-प्रदान भएको थियो । साथै नवीनतम आतिथ्य संस्कृति र स्थायित्वका अभ्यासबारे विचार विमर्श गरिएको बताइएको छ ।
कार्यक्रमले नेपाललाई अन्तरराष्ट्रिय स्तरमा चिनाउने अवसर सिर्जना गर्दै नेपाली पाककला तथा आतिथ्य क्षेत्रको विशिष्टता विश्वभर प्रवद्र्धन गर्न योगदान पुर्याएको समेत एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सले उल्लेख गरेको छ । विद्यार्थी तथा व्यवसायीका लागि व्यावहारिक शीप अभिवृद्धि गर्ने यो कार्यक्रम सैद्धान्तिक ज्ञान र वास्तविक व्यावसायिक अभ्यासलाई जोड्ने सेतुको रूपमा रहेको संस्थाले बताएको छ ।

हरित तथा दिगो हस्पिटालिटी व्यवस्थापन प्रवद्र्धन गर्दै वातावरणमैत्री अभ्यासलाई प्रोत्साहन गरिएको उक्त कार्यक्रमले नेपाललाई अन्तरराष्ट्रिय आतिथ्य शिक्षा केन्द्रका रूपमा स्थापित गर्ने आधार तय गरेको बताइएको छ । साथै यसले नेपाल–स्कटल्याण्डबीचको सहकार्य सुदृढ बनाएको र भविष्यमा थप अन्तरराष्ट्रिय तालिम तथा साझेदारीका अवसर खुलाउने अपेक्षा गरिएको छ । यसले नेपाली पर्यटन तथा आतिथ्य उद्योगलाई विश्वस्तरीय बनाउन योगदान पुग्ने एलसीसीआई ग्लोबल क्वालिफिकेसन्सले बताएको छ ।