काठमाडौं, ५ माघ । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ ।
सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले सो प्रस्ताव स्वीकृत गरेको हो ।
सभामुख घिमिरेले अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने बताए ।
आइतबार गृहमन्त्री रमेश लेखकले नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । प्रस्तावमाथि सांसदहरूले छलफल गरी यसमा गृहमन्त्रीले जवाफसमेत दिइसकेका थिए । तर गणपूरक संख्या नपुगेपछि उक्त विधेयक स्वीकृत हुन सकेको थिएन ।