काठमाडौं, २८ माघ । प्रहरीको अन्तराष्ट्रिय संगठन इन्टरपोल सचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने २०औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा भाग लिन एआईजी दीपक थापाको टोली फ्रान्स प्रस्थान गरेको छ । आइतबार एआईजी थापासाथै एसपी कोमल शाहको टोली आइतबार फ्रान्स प्रस्थान गरेको हो ।
हेड अफ एनसीबी कन्फरेन्सको मुख्य रूपमा ‘सिनारिओ अफ क्राइम अगेन्सट चाइल्ड’ विषय लगायत अन्तराष्ट्रिय स्तरमा हुने अपराधहरुको विषयमा छलफल हुने बताइएको छ । यससम्बन्धमा इन्टरपोलका १९६ सदस्य राष्ट्रहरूका एनसिबि प्रमुखहरु, इन्टरपोल महासचिव तथा पदाधिकारीहरू बिच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुनेछ ।
साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा क्षमता विकासका विषयहरूमा एसिया एन्ड द साउथ प्यासिफिक रिजनल राउन्ड टेबल मिटिङ पनि हुने कार्यक्रम तय भएको बताइएको छ ।
इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने यो कन्फरेन्स २०२५ फेब्रुअरी ११ देखि १३ सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ ।