काठमाडौं, १० माघ । चालू आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो पाँच महिनामा स्थायी लेखा नम्बर (प्यान) लिनेको संख्या घटेको छ ।
अर्थ मन्त्रालयको तथ्याङ्क अनुसार गत आवको पहिलो पाँच महिनाको तुलनामा चालू आवको सोही अवधिमा प्यान लिनेको संख्या १ दशमलव ७८ प्रतिशतले घटेको हो । गत मंसिरसम्ममा प्यान लिनेको संख्या २ लाख ९४ हजार ७४४ रहेको छ । गत वर्षको यसै अवधिमा ३ लाख १०२ ले लिएका थिए । यद्यपि शूरूदेखि हालसम्म ६५ लाख २० हजार ८७७ प्यान जारी भएको छ ।
सो अवधिमा व्यक्तिगत प्यान लिनेको संख्या शून्य दशमलव १४ प्रतिशतले बढेको छ । गत मंसिरसम्ममा यस्तो प्यान लिनेको संख्या २ लाख ४७ हजार ४४६ रहेको छ भने गत आवको यसै अवधिमा २ लाख ४७ हजार ८५ ले लिएका थिए ।
पछिल्लो एक वर्षको अवधिमा व्यावसायिक प्यान लिनेको संख्या भने घटेको छ । गत आवको पहिलो पाँच महिनामा ५० हजार ४६६ ले व्यावसायिक प्यान लिएका थिए भने चालू आवको सो अवधिमा ४६ हजार १९२ ले लिएका छन् । यसैगरी गत मंसिरसम्ममा करकट्टी गर्ने निकायले लिएको कुल प्यान ३४ हजार ४३४ पुगेको छ ।
सो अवधिमा मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमार्फत प्यान लिनेको संख्या पनि घटेको छ । गत आवको पहिलो पाँच महिनामा मूल्य अभिवृद्धि करतर्फ ११ हजार ७७३ र अन्तःशुल्कतर्फ ५ हजार १६८ प्यान जारी भएको थियो भने चालू आवको सोही अवधिमा यस्तो करदाताको संख्या क्रमशः ९ हजार ८०० र ४ हजार ४८३ रहेको छ ।