सुनिता सुवेदी,
काठमाडौं, ८ माघ । घरजग्गा व्यवसाय नेपालको अर्थतन्त्रको महत्वपूर्ण क्षेत्रको रूपमा रहेको छ । चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो तीन महिनासम्म सुस्ताउँदै गएको घरजग्गा व्यवसाय पछिल्लो तीन महिनायता भने लयमा फर्किएको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्याङ्क अनुसार चालू आवको पुसमा देशभर ४८ हजार १५६ वटा घरजग्गा लिखत पारित भएको छ, जुन मंसिरको तुलनामा ११ दशमलव ०१ प्रतिशतले बढी हो । गत मंसिरमा ४३ हजार ३७९ वटा घरजग्गाको कारोबार भएको थियो ।
पुसमा घरजग्गा कारोबारबाट प्राप्त आम्दानी समेत ९ दशमलव ७४ प्रशितले बढेको छ । मंसिरमा यस क्षेत्रबाट ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ राजस्व संकलन भएकोमा पुसमा बढेर यस्तो आम्दानी ४ अर्ब २५ करोड २३ लाख प्राप्त भएको छ ।
तथ्याङ्क अनुसार चालू आवको साउनमा ४३ हजार ८३५ घरजग्गाको कारोबार हुँदा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ आम्दानी प्राप्त भएको थियो । त्यसपछि लगातार दुई महिना कारोबार र आम्दानी दुबै घटेको थियो । कार्तिकयता भने यसको व्यवसायमा सुधार भएको देखिन्छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता वेदप्रसाद अर्याल घरजग्गा व्यवसायमा केही सुधार देखिएको बताउँछन् । उनले भने, ‘राजस्व र कारोबारको वृद्धिले घरजग्गाको व्यवसाय बढेको देखाउँछ । पाँच सात महिना अगाडिलाई हेर्दा कारोबार र राजस्वमा भएको वृद्धिले केही सुधार भएको देखिन्छ ।’
तर यता नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष विदुर धमला भने घरजग्गा कारोबारमा सुधार नदेखिएको बताउँछन् । ‘अहिलेको तथ्यांकले पनि घरजग्गा कारोबार चलायमान भएको जस्तो लाग्दैन । घरजग्गाको राजस्वमा केही वृद्धि भए पनि समग्र व्यवसाय बढेको छैन ।’
विभागका अनुसार गत मङ्सिरको तुलनामा पुसमा राजस्व सङ्कलन पनि बढेको छ । गत मङ्सिरमा ३ अर्ब ८७ करोड ४८ लाख रुपैयाँ बराबर राजस्व सङ्कलन भएकोमा पुसमा बढेर ४ अर्ब २५ करोड २३ लाख रुपैयाँ आम्दानी उठेको थियो ।
विभागका अनुसार सो महिनामा सेवा करबाट ३० करोड ४३ लाख रुपैयाँ सङ्कलन भएको छ । यस्तै, रजिस्ट्रेशन दस्तुरबाट २ अर्ब ६८ करोड ७८ लाख र पूँजीगत लाभकरबाट १ अर्ब ६० करोड ८३ लाख प्राप्त भएको छ ।
६ महिनामा भएको घरजग्गा कारोबार र आम्दानी:
स्रोत : भूमि व्यवस्थापन तथा अभिलेख विभाग
तथ्याङ्कले घरजग्गा कारोबारमा केही सुधार हुँदै गएको देखाएता पनि कोभिड अगाडिको लयमा अझै फर्कन सकेको छैन । विभागका अनुसार आव २०७७÷७८ को पुसमा मात्रै ७६ हजारभन्दा बढी घरजग्गाको कारोबार भएको थियो, जबकी त्यसबेला कोभिडले देशको समग्र अर्थतन्त्र नै सुस्त गतिमा थियो । घर जग्गा व्यवसायमा केही कमजोरी भने नभएका होइनन् ।
अध्यक्ष धमला हाल घरजग्गासँग सम्बन्धित कार्यान्वयनमा रहेको नीति नै यस व्यवसायका लागि प्रमुख चुनौती बनेको बताउँछन् । ‘घरजग्गा किन्न व्यक्तिले कर्जा लिँदा आम्दानी र त्यसको स्रोत माग्ने गरिएको छ । पहिले लोन लिँदा मेरो यो स्रोत छ, यसबाट तिर्छु भनेर पाइन्थ्यो, तर अहिले त्यस्तो छैन । अन्य विलासिताका वस्तु किन्दा स्र्रोत चाहिँदैन । तर घरजग्गा किन्दा ट्याक्सेबल इनकम चाहिन्छ भनिएको छ । हाम्रो स्रोत भनेको नै विदेशमा बस्ने नेपालीले कमाएर पठाएको पैसाले यहाँ घरजग्गा किन्ने हो । उनीहरुले आफ्नो स्रोत देखाउन वडाको सिफारिस लिनुपर्दा झन्झट भएको छ,’ उनले भने ।
उनले पछिल्लो समय घरजग्गा व्यवसायमा ब्ल्याकमेल गर्ने प्रवित्ति बढेको बताए । उनले भने, ‘हामीले घरजग्गा जतिमा किन्छौं, त्यतिमै देखाउँछौं र कर तिर्छौं । त्यसपछि केही विकास गरेर थोरै नाफा लिएर बिक्री गर्छाैं । तर जग्गामा व्यक्तिगत लगानी गर्ने हरुलाई पैसा लुकाउने ठाउँ बन्यो ।’ घर जग्गा व्यवसायका लागि व्यक्तिगत भन्दा कम्पनीलाई प्राथमिकता दिनुपर्ने उनको जोड छ । ‘कम्पनी को थ्रुबाट काम गर्दा ६ मिटरको बाटो राख्नुपर्ने, एक्सेस रोड ८ मिटरको हुनुपर्ने, ५ प्रतिशत ओपन स्पेस हुनैपर्छ भन्ने छ,’ उनले भने ‘व्यक्तिले गर्दा १० मिटरका बाटो काटे पनि भयो, नगर विकासका मापडण्ड पालना गरिएको हुँदैन ।’
आगामी दिनमा होला चलायमान ?
भूमि व्यवस्थापन तथा अभिलेख विभागका प्रवक्ता अर्याल पुससम्मको तथ्याङ्क अनुसार थोरै क्रमशः बढ्दै गएकाले आगामी दिनमा पनि सोही गतिमा जान सक्ने बताउँछन् । ‘ट्रेन्ड हेर्दा कारोबार चलायमान भइसकेपछि क्रमशः चलायमान हुँदै जानेछ, कहिलेकाहीँ अधिकतम बढ्दा घट्ने क्रम देखिन्छ । तर, घरजग्गा कारोबारमा अहिलेको वृद्धिलाई हेर्दा समयसापेक्ष देखिन्छ । ठूलो मात्रामा वृद्धि नभई क्रमशः बढेकोले आगामी दिनमा सोही हिसाबले जाने देखिन्छ,’ उनले भने ।