काठमाडौं, १ माघ । चापागाउँदोबाटोको भाटभटेनीलाई १० हजार रुपैयाँ जरिवाना तोकिएको छ । संयुक्त जिल्ला बजार अनुगमन समिति ललितपुरले भाटभटेनीको उक्त शाखालाई जरिवाना गरेको हो ।
ललितपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेको नेतृत्वमा खटिएको संयुक्त अनुगमन समितिले भाटभटेनीलाई सोमबार १० हजार रुपैयाँ जरिवाना गरेको हो ।
घिमिरेका अनुसार म्याद उल्लेख नगरिएको इम्लीको आचार भेटिएपछि एउटा प्याकेज गुणस्तर जाँचका लागि पठाएर बाँकी अचार जफत गरिएको छ । अहिले सचेतनाका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ बमोजिम १० हजार मात्रै जरिवाना गरिएको घिमिरेले बताइन् ।
ललितपुर जिल्लाको संयुक्त बजार अनुगमन समितिमा उद्योग तथा वाणिज्य कार्यालय, नेपाल पत्रकार महासंघ लगायतका प्रतिनिधि थिए । सो टोलीले चापागाउँदोवाटोको मकवानपुर फष्टफुड र ए टु जेड स्टोरमा समेत अनुगमन गरी देखिएका कमजोरी सुधार्न सचेत गराएको छ ।