काठमाडौं, २८ पुस । गत आर्थिक वर्ष (आव) २०८०/८१ मा मधेश प्रदेशको कृषि उपजले ढाकेको भू–क्षेत्रफल बढेको छ ।
राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको प्रादेशिक आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन आव २०८०/०८१ अनुसार समीक्षा अवधिमा मधेश प्रदेशको प्रमुख कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला)ले ओगटेको क्षेत्रफल २.८१ प्रतिशतले वृद्धि भइ १० लाख ३२ हजार ८ सय ६१ हेक्टर पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा यस्तो भू–क्षेत्रफल ०.७६ प्रतिशतले घटेर १० लाख ४ हजार ६ सय २३ हेक्टर रहेको थियो ।
तर, आव २०८०/८१ मा मधेशमा कृषि उपजले ढाकेको भू–क्षेत्रफल बढेको भए पनि कृषि उत्पादन भने घटेको छ । राष्ट्र बैंकका अनुसार मधेश प्रदेशको कृषि बाली (खाद्य तथा अन्य बाली, तरकारी तथा बागवानी र फलफूल तथा मसला) ६० लाख ३३ हजार ७ सय २२ मेट्रिक टन उत्पादन भएको छ, जुन अघिल्लो आवको तुलनामा ०.३३ प्रतिशतले कमी हो । सो वर्ष यस्तो बालीको कुल उत्पादनमा ५.९८ प्रतिशतले कमी आएको थियो ।
गत आवमा बालीअन्तर्गत धान, मकै, गहुँ, जौ, कोदो, फापर, आलु, उखु, भटमास, सुर्ती, सनपाट, दलहन, तेलहन आदि बालीले ओगटेको भू–भागमा ५.१९ प्रतिशतले वृद्धि भइ ८ लाख ६८ हजार ४ सय १ हेक्टर पुगेको छ । अघिल्लो आवको सोही अवधिमा समग्र खाद्य तथा अन्य बालीले ओगटेको क्षेत्रफलमा २.१५ प्रतिशतले कमी आएको थियो ।
समीक्षा अवधिमा धान बालीले ओगटेको क्षेत्रफलमा २.०९ प्रतिशत, गहुँले ओगटेको क्षेत्रफल ११.४३ प्रतिशत, आलुलेओगटेको क्षेत्रफल ४.०१ प्रतिशत, उखुले ओगटेको क्षेत्रफल २३.२४ प्रतिशत र तेलहनले ओगटेको क्षेत्रफल २३.२० प्रतिशतले वृद्धि भएको छ । तर, मकैले र दलहन बालीले ओगटेको क्षेत्रफल क्रमशः ३.४५ प्रतिशतर ४.६५ प्रतिशतले कमी आइ ५४ हजार २ सय ७२ हेक्टर र ९७ हजार ७ सय ५२ हेक्टरमा खेती भएको छ ।
यसैगरी गत आवमा खाद्य तथा अन्य बालीको उत्पादनमा सर्लाही जिल्लाको हिस्सा सबैभन्दा बढी २२.०६ प्रतिशत र सबैभन्दा कम धनुषा जिल्लाको हिस्सा ७.५३ प्रतिशत रहेको छ । तरकारी तथा बागवानीतर्फ सबैभन्दा बढी महोत्तरी हिस्सा धेरै छ । सो आवधिमा यस्तो हिस्सा २३.९४ प्रतिशत रहेको छ । त्यस्तै सबैभन्दा कम पर्सा जिल्लाको हिस्सा ५.५२ प्रतिशत रहेको छ । फलफूल तथा मसालातर्फसप्तरी जिल्लाको हिस्सा सबैभन्दा बढी २६.७२ प्रतिशत रहेको छ ।
समग्रमा, मधेश प्रदेशको धानको उत्पादनमा ३.६८ प्रतिशत, मकैको उत्पादनमा ११.४४ प्रतिशत, उखुको उत्पादनमा ३.४१ प्रतिशत, दलहनको उत्पादनमा १७.२५ प्रतिशत, आलुको उत्पादनमा २१.४९ र गहुँको उत्पादनमा २.४२ प्रतिशतले कमी आएको छ भने कोदो र तेलहनकोउत्पादनमा क्रमशः ७.६७ प्रतिशत र २२.२४ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कोदो र उखुको उत्पादन क्रमशः १८.८३ प्रतिशत र ३३.१८ प्रतिशतले घटेको थियो भने धानको उत्पादन ०.१८ प्रतिशत, गहुँको उत्पादन १०.७१ प्रतिशत, दलहनको उत्पादन १५.४७ प्रतिशत र तेलहनको उत्पादन १९.३५ प्रतिशतले वृद्धि भएको थियो ।