काठमाडौं, २६ पुस । लुम्बिनी प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ४६ प्रतिशत रहेको छ ।
नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा यस प्रदेशको उद्योगहरूको औसत क्षमता उपयोग ४६ दशमलव ४१ प्रतिशत रहेको छ, जुन आर्थिक वर्ष २०७९/८० को तुलनामा ९ दशमलव ९५ प्रतिशत बिन्दुले कमी हो । सो वर्ष औसत क्षमता उपयोग ५६ दशमलव ३६ प्रतिशत थियो ।
समीक्षा वर्षमा नमूना छनौटमा परेका उद्योगहरुमध्ये सबैभन्दा बढी रोजिन उत्पादन गर्ने उद्योगले ९२ दशमलव ४३ प्रतिशत र सबैभन्दा कम साबुन उत्पादन गर्ने उद्योगले २ दशमलव ४१ प्रतिशत क्षमता उपयोग गरेका छन् । साबुन उत्पादन गर्ने नमूनामा छनौट भएको साबुन उद्योगले गुणस्तरीय कच्चा पदार्थ प्राप्त गर्न नसक्दा उत्पादनमा कमी आएको अनुमान गरिएको छ ।
गत वर्षको तुलनामा प्लाइउड ४२ दशमलव, चामल ३८ दशमलव १ र गहुँको पिठो ३२ दशमलव ९५ प्रतिशतले उपयोग क्षमता बढेको छ । सो अवधिमा सिन्थेटिक कपडा १५ दशमलव २२, मदिरा १३ दशमलव ९८ र फलामको छड, पत्ती १३ दशमलव ५५ प्रतिशतले उपयोग क्षमतामा कमी आएको छ ।
रोजगारीको अवस्था
समीक्षा वर्षमा अध्ययनमा समेटिएका २७ वटा उद्योगहरूमध्ये २ वटा बन्द अवस्थामा छ भने बाँकी २५ वटा उद्योग सञ्चालनमा छन् । तथ्याङ्क अनुसार यी उद्योगहरूमा ४ हजार ५९२ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् । जसमा महिला ४८७ र पुरुष ४ हजार १०५ जना रहेका छन् । गत वर्ष ५ हजार २६३ जनाले रोजगारी पाएका थिए ।
लुम्बिनी प्रदेशमा उद्योगको दर्ता स्थिति
उद्योग विभागका अनुसार २०८१ असार मसान्तसम्ममा यस प्रदेशमा ७५६ वटा उद्योगहरू दर्ता भएका छन् । ती उद्योगको लगानी रू. ३ खर्ब २७ अर्ब ५७ करोड रहेको छ । सो उद्योगहरूले जम्मा ७६ हजार ०८० जनालाई रोजगारी प्रदान गरेका छन् ।
लुम्बिनी प्रदेशमा रहेका उद्योगहरूको जिल्लागत हिस्सामा सबैभन्दा धेरै रुपन्देही जिल्लाको ३८ दशमलव ६२ प्रतिशत रहेको छ भने सबैभन्दा कम प्यूठान र रोल्पा जिल्लाको शून्य दशमलव ४० प्रतिशत रहेको छ । बुटवल औद्योगिक क्षेत्रमा ६४ र नेपालगञ्ज औद्योगिक क्षेत्रमा ३० वटा उद्योग सञ्चालनमा छन् । बुटवल औद्योगिक क्षेत्रमा थप ४ वटा उद्योग निर्माणको क्रममा छन् भने ४ वटा बन्द अवस्थामा रहेका छन् ।
नेपालगञ्ज औद्योगिक क्षेत्रमा ५ वटा उद्योगहरु बन्द अवस्थामा छन् । रुपन्देही जिल्लामा रहेको विशेष आर्थिक क्षेत्र (एसइजेट)मा हाल ११ वटा उद्योग सञ्चालन भइरहेका र २ वटा सञ्चालन हुने क्रममा छन् । यस प्रदेशमा थप औद्योगिक क्षेत्र स्थापना गर्ने उद्देश्यले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्र र बाँकेको नौवस्ता औद्योगिक क्षेत्रको निर्माण कार्य अगाडि बढेको छ ।
बढ्यो क्षेत्रगत औद्योगिक कर्जा
समीक्षा वर्षमा यस प्रदेशको कुल औद्योगिक कर्जा रू. एक अर्ब ३१ करोड ६४ लाख रहेको छ । यो आर्थिक वर्ष २०८० असार मसान्तसम्मको तुलनामा ४ दशमलव ४४ प्रतिशत बढी हो । २०८० असार मसान्तमा पनि यस्तो कर्जा अघिल्लो वर्षको तुलनामा ५ दशमलव ९५ प्रतिशतले वृद्धि भएको थियो ।
२०८१ असार मसान्तमा कुल औद्योगिक कर्जामध्ये कृषि, वन तथा पेय पदार्थ उत्पादन र गैरखाद्य वस्तुको उत्पादन सम्बन्धी उद्योगमा प्रवाह भएको कर्जामा वृद्धि भएको छ भने अन्य सबै क्षेत्रमा घटेको छ ।
सो अवधिमा यस प्रदेशमा प्रवाह भएको कुल कर्जामा औद्योगिक कर्जाको हिस्सा २३ दशमलव ५१ प्रतिशत रहेको छ । प्रवाहित कुल औद्योगिक कर्जामध्ये सबैभन्दा बढी गैर–खाद्य वस्तु उत्पादन सम्बन्धी उद्योगहरुमा ४२ दशमलव ७२ प्रतिशत रहेको छ भने सबैभन्दा कम विद्युत्÷ग्यास÷पानी सम्बन्धी उद्योगमा शून्य दशमलव ८१ प्रतिशतले कमी आएको छ ।