निर्जीवन लघुबीमामा बजार हिस्सा बढाउँदै लघुबीमा कम्पनी (भिडियो रिपोर्ट)
अनलाइनसमय |
१९ पुष २०८१
काठमाडौं, १९ पुस । नेपालको निर्जीवन लघु बीमामा लघुबीमकले बजार हिस्सा बढाउँदै लगेका छन् । यस्तो बीमा ठूला कम्पनीहरूको कम प्राथमिकतामा पर्दा लघुबीमकले व्यवसाय बढाएका हुन् । नेपाल बीमा प्राधिकरणले २०७९ मङ्सिरमा तीनओटालाई लघु जीवन र चारओटालाई लघु निर्जीवन बीमकको अनुमति दिएको थियो । प्राधिकरणले अनुमति दिएका सबै कम्पनीले कारोबार थालेसँगै लघुबीमा व्यवसाय लघुबीमकमा सर्न थालेको छ ।
गरीब तथा विपन्न वर्गमा बीमाको पहुँच पु¥याउन भन्दै प्राधिकरणले २०७१ सालमै लघुबीमा निर्देशिका जारी गरेको थियो । यस्तै २०७५ सालमा बीमा कम्पनीहरूलाई कुल व्यवसायको १० प्रतिशत लघुबीमा गर्न निर्देशनसमेत दिइएको थियो । तर लघुबीमा कम्पनी सञ्चालनमा आएपछि यो व्यवस्था अनिवार्य गरिएको छैन ।
चालू आर्थिक वर्षको पहिलो ५ महिनामा ठूला सातओटा निर्जीवन बीमा कम्पनीले मात्र लघुबीमा व्यवसाय गरेका छन् । सो अवधिमा कुल ३४ करोड ७१ लाख रुपैयाँको निर्जीवन लघु बीमा व्यवसाय भएकोमा लघुबीमकको मात्रै ३३ करोड ८८ लाख रहेको छ । जसको अर्थ निर्जीवन लघुबीमा व्यवसायमा ठूला कम्पनीको हिस्सा साढे २ प्रतिशत मात्र देखिएको छ ।
चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा कुल १ लाख ३७ हजार ९७४ लघु निर्जीवन बीमालेख जारी भएका छन्, जसमध्ये लघुबीमकबाट मात्रै जारी बीमालेख १ लाख ३३ हजार ३८५ रहेका छन् । प्राधिकरणले सञ्चालनको अनुमति दिएसँगै लघुबीमा कम्पनीहरूले पहुँच, दायरा र व्यवसाय बढाउँदै लगेका छन् ।
बीमा ऐन, २०७९ मा न्यून आय भएका, सामाजिक तथा भौगोलिक रूपले पिछडिएका व्यक्तिलाई लक्षित गरी गर्ने बीमालाई लघुबीमाको रूपमा व्याख्यासहित लघुबीमा कारोबारका लागि छुट्टै कम्पनी स्थापना गर्न सकिने उल्लेख छ । प्राधिकरणले सोही ऐनको प्रावधानअनुसार लघुबीमा कम्पनीको अनुमति दिएको हो । हाल जीवन तथा निर्जीवन गरी सात लघुबीमक सञ्चालनमा छन् । प्रस्तुत छ, हिमालय टेलिभिजनको बिहीवार प्रसारित वित्तीय शिक्षा कार्यक्रममा प्रस्तुत भिडियो रिपोर्ट ।