कोभिडअघिको अवस्थामा अझै किन फर्किएन पर्यटन क्षेत्र ?

अनलाइनसमय |
१८ पुष २०८१
कोभिडअघिको अवस्थामा अझै किन फर्किएन पर्यटन क्षेत्र ?

सुनिता सुवेदी,
काठमाडौं, १८ पुस । पछिल्लो दशकमा पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार बन्दै आएको छ । पर्यटन उद्योगमा विस्तार र पर्यटक आगमनको क्रम बढ्दो अवस्थामा रहेकै बेला कोभिड महामारी यसको ठूलो बाधक बन्यो । कोभिडको दुई वर्ष पर्यटन उद्योग नराम्ररी थलियो । कोभिडको जोखिम घटेसँगै आन्तरिक पर्यटन फस्टायो । यससँगै बाह्य पर्यटक आगमन ठूलो सुधारको अपेक्षा गरिए पनि त्यसअनुसार हुन नसकेको तथ्यांकले नै देखाउँछ । विज्ञ एवं व्यवसायीले नेपालको पर्यटन उद्योग कोभिड अघिको अवस्थामा पुग्न २ वर्षसम्म लाग्ने अनुमान गरे पनि कोभिडपछिको तीन वर्ष बित्दा समेत पुरानो लयमा फर्किन सकेको छैन ।

अहिले विश्वका अधिकांश मुलुक कोभिड अगाडिभन्दा धेरै पर्यटक ल्याउन सफल भइसकेका छन् । तर, नेपालको पर्यटक आगमन अझै पूर्ण रूपमा पुनरुत्थान हुन सकेको छैन । नेपाल पर्यटन बोर्डका अनुसार सन् २०२४ मा ११ लाख ४७ हजार ५६७ पर्यटक नेपाल घुम्न आएका छन्, जुन संख्यात्मक हिसाबले कोभिडअघिको वर्षको ९६ प्रतिशत पुनरुत्थान भएको हो । कोभिड सुरु भएको वर्ष सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक आएका थिए । यो सङ्ख्या अहिलेसम्मकै सर्वाधिक हो ।

कोभिड महामारीपछि पर्यटक धेरै आएको २०२४ पहिलो वर्ष हो । यस वर्ष सरकारले १२ लाख (सन् २०१९ भन्दा धेरै) पर्यटक भित्र्याउने लक्ष्य राखेको थियो, जुन पनि पूरा हुन सकेन । त्यसो त नेपालमा यो वर्ष नेपाल प्रिमियर लिग (एनपीएल), विश्व बौद्ध सम्मेलन, अन्तर्राष्ट्रिय बेलुन महोत्सव, चिनियाँ ड्रागन बोट महोत्सव भए, तर पर्यटक आगमनले कोभिड अगाडिको लय भने यो वर्ष पनि लिन सकेन ।

सन् २०२० मा नेपाल लगायत अन्य मुलकमा लकडाउन भएकोले पर्यटन व्यवसाय नराम्ररी थला परेको थियो । २०१९ को तुलनामा नेपालमा आउने विदेशी पाहुनाको सङ्ख्या ८२ प्रतिशतले घटेको थियो । सो अवधिमा जम्मा २ लाख ३० हजार ८५ र २०२१ पर्यटकको आगमन भएको थियो । सन् २०२१ मा यो सङ्ख्या घटेर १ लाख ५० हजार ९६२ मा सीमित भयो ।

सन् २०२२ मा भने आगमनमा सुधार हुँदा पर्यटकको सङ्ख्या ६ लाख १४ हजार ८ सय ६९ पुगेको थियो । सन् २०२३ मा १० लाख १४ हजार ८ सय ८२ जना विदेशी पर्यटक नेपाल भित्रिएका थिए ।

सन् २०२४ नेपालका लागि त्यति सुखद थिएन । अविरल वर्षा, बाढीपहिरोको त्रास, भारतीय बस दुर्घटना, साताको अन्तरालमा दुईवटा विमान दुर्घटना लगायत कारणले पनि पर्यटकको आगमनमा कमी आउँदा लक्ष्यमा पुग्न नसकिएको नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले बताए । उनले भने, ‘जुन महिनासम्म पर्यटक आगमन लयमा थियो, तर जुलाईमा पर्यटक बोकेर आएको भारतीय बस दुर्घटना भयो । त्यसपछि भारतीय पर्यटकको सङ्ख्या घट्यो, त्यस्तै सौर्य विमान दुर्घटना, चिनियाँ नागरिक बोकेर स्याँफ्रुवेशी जाँदै गरेको हेलिकप्टर दुर्घटना भयो । यसले एउटा त्रास पैदा गिरिदियो, जसकारण चिनियाँ पर्यटक पनि घटे ।’

यसले युरोपेली मुलुकका पर्यटकमा पनि त्रास सिर्जना गरेकाले त्यहाँबाट आउने पर्यटक समेत घटेको उनले बताए । ‘गत असोज ११ र १२ गते गएको बाढी पहिरोले राजमार्ग बन्द भए, त्यसको क्षतिले पनि विदेशी पर्यटकलाई नेपाल आउने वातावरण भएन । यद्यपि हामीले यसलाई अनुकूल बनाउनेगरी प्रचारप्रसार ग¥यौं, जसले केही सहज भयो,’ उनले भने ।

लामिछाने नेपालमा पर्यटक आगमन घट्नु अर्काे प्रमुख कारण हवाई भाडा रहेको बताउँछन् । उनले भने, ‘गत नोभेम्बर ८ देखि दैनिक १० घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा नेपाल आउने पर्यटकले टिकट नपाउने, पाइए पनि महँगो हवाई भाडा भयो । त्यसले नेपाल आउने पर्यटकलाई प्रोत्साहन भन्दा निरुत्साहित ग¥यो । यसको असर हरेक महिनामा देखिएको छ ।’ सुरुवाती महिनामा अन्तरराष्ट्रिय बजारमा प्रचारप्रसार तथा प्रवद्र्धन गर्न नसकेको उनले बताए ।

यता, होटल एसोसिएसन नेपाल (हान)का अध्यक्ष विनायक शाहले कोभिड अगाडिको पर्यटक आगमन नजिक पुगेको, तर अपेक्षा अनुसार भित्र्याउन नसकिएको बताए । उनले भने, ‘तीन वर्षमा यो राम्रो प्रगति हो । तर अहिले पूर्वाधारले हामीलाई साथ दिएको छैन, हाम्रो क्षमता ३५ लाख पुगिसकेको छ । हामीले यी सबैलाई सेवा दिन सक्छौं । तर, अहिले नेपालमा पूर्वाधार सीमित भएकाले पर्यटक आउनै सकेका छैनन् ।’ ८ नोभेम्बरदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घण्टा बन्द हुनु, पोखरा र भैरहवा विमानस्थल नचल्नु, काठमाडौंबाट प्रमुख पर्यटक गन्तव्य पोखरा, लुम्बिनी, चितवन जोड्ने सडक पुनर्निर्माण भइरहेकाले त्यहाँ पुग्न असहजताका कारण उल्लेख्य पर्यटक आउन नसकेको उनको ठम्याइ छ ।

सन् २०१९ को पर्यटक आगमनको तथ्यांक अब वर्ष २०२५ मा ‘ब्रेक’ हुने अनुमान गर्न सकिन्छ । पर्यटक आगमन बढाउन बोर्ड अन्तरराष्ट्रिय बाजारीकरण, आधुनिक प्रविधि (डिजिटलाइजेसन) प्रयोग बढाएर अगाडि बढ्ने निर्देशक लामिछानेले बताए । यस्तै उनले यो वर्ष चाइना बजारलाई लक्षित गरी ‘भिजिट नेपाल एयरिङ चाइना २०२५’ मनाउन लागिएको बताए ।

यस्तै आगामी दिनमा बढीभन्दा बढी विदेशी आगन्तुकलाई नेपाल भित्र्याउन विमानस्थल सञ्चालन, गन्तव्यसम्म पुग्ने बाटो सहज बनाउनुपर्ने शाहले बताए । ‘चिनियाँहरू झण्डै २० करोड र भारतीय १० करोडको हाराहारीमा बाहिर घुम्न जान्छन्, यसको २ प्रतिशत मात्र ल्याउन सके पनि हामीलाई पुग्छ । चीन र भाररतसँग जोड्ने सडक राम्रो भए लक्ष्य अनुसारको पर्यटक भित्र्याउन समस्या हुँदैन, तर हामीसँग अहिले त्यही पूर्वाधार नै भएन ।’

 

वर्ष र महिनाअनुसार पर्यटक आगमन : 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस