काठमाडौं, १७ पुस । विभिन्न पाँच देशका नवनियुक्त राजदूतहरूले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा बुधवार राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त राजदूतहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।
पोर्चुगलका लागि नेपाली राजदूत प्रकाशमणि पौडेल, दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत प्रा.डा. कपिलमान श्रेष्ठ, बेल्जियमका लागि नेपाली राजदूत सेवा लम्साल, मलेसियाका लागि नेपाली राजदूत डा. नेत्र प्रसाद तिम्सिना र डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले शपथ लिएका हुन् ।
सरकारको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरुलाई राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेका थिए ।