६.७९ प्रतिशतले बढ्यो कर्णालीमा कृषि उत्पादन

अनलाइनसमय |
१७ पुष २०८१
६.७९ प्रतिशतले बढ्यो कर्णालीमा कृषि उत्पादन

काठमाडौं, १७ पुस । कर्णाली प्रदेशमा कृषि बाली र उत्पादनमा ६ दशमलव ७९ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको प्रादेशिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०८०/८१ अनुसार कर्णालीमा कृषि बाली र उत्पादनमा ६ दशमलव ७९ प्रतिशतले वृद्धि भई १२ लाख ५२ हजार ६५४ मेट्रिक टन पुगेको छ । आर्थिक वर्ष २०७०/८०मा कर्णालीमा कृषि बाली उत्पादन १२.९१ प्रतिशतले वृद्धि भएको थियो ।

बैंकले कर्णालीका १० वटै जिल्लामा गरेको आर्थिक सर्वेक्षणमा आर्थिक वर्ष २०७९/८० को तुलनामा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल १.९४ प्रतिशतले वृद्धि भई ३ लाख २७ हजार ९० हेक्टर कायम भएको छ । गत वर्ष यस्तो क्षेत्रफलमा ६.९१ प्रतिशतले कमी आएको थियो ।

आर्थिक वर्ष २०८०/८१ को असार मसान्तसम्म कर्णाली प्रदेशको खाद्य तथा अन्य बालीले ढाकेको क्षेत्रफल ०.५७ प्रतिशतले वृद्धि भई २ लाख ८० हजार २५१ हेक्टर पुगेको छ । गत वर्ष उक्त क्षेत्रफल ६.८९ प्रतिशतले घटेको थियो ।

आव २०८०/८१ मा धान बालीले ढाकेको क्षेत्रफल ८.४८ प्रतिशतले वृद्धि भई ४१ हजार ९०४ हेक्टर पुगेको छ । त्यस्तै मकै बालीले ढाकेको क्षेत्रफल २.१२ प्रतिशतले बढेर ८७ हजार २१३ हेक्टर पुगेको छ । गत वर्ष धान बालीले ढाकेको क्षेत्रफल १.१८ प्रतिशतले घटेको थियो भने मकै बालीले ढाकेको क्षेत्रफल ५.५८ प्रतिशतले वृद्धि भएको थियो ।

समीक्षा वर्षमा गहुँ कोदो, जांै र फापर बालीले ढाकेको क्षेत्रफलमा भने क्रमशः ०.९७ प्रतिशत, २८.१६ प्रतिशत, ३३.३० प्रतिशत र २३.०१ प्रतिशतले घटेको छ । गत वर्ष गहुँ, कोदो, जौ र फापर बालीले ढाकेको क्षेत्रफल क्रमशः ०.५२ प्रतिशत, १७.५७ प्रतिशत, १.८० प्रतिशत र ४६.५८ प्रतिशतले बढेको थियो ।

आव २०८०/८१ मा भटमास बालीले ढाकेको क्षेत्रफलमा २.७५ प्रतिशतले घटेर ४,६३४ हेक्टर कायम भएको छ । गत वर्ष भटमास बालीले ढाकेको क्षेत्रफल ०.९१ प्रतिशतले बढेको थियो ।

कर्णाली प्रदेशमा रहेका १० जिल्लाहरुमध्ये खाद्य तथा अन्य बाली क्षेत्रमा सुर्खेत जिल्लाले सबैभन्दा धेरै २१.९५ प्रतिशत र हुम्ला जिल्लाले सबैभन्दा कम २.२७ प्रतिशत हिस्सा ओगटेको छ ।

समीक्षा वर्षमा खाद्य तथा अन्य बालीले समष्टिगत कृषि क्षेत्रको ८५.६८ प्रतिशत हिस्सा ओगटेको छ । त्यस्तै तरकारी र बागवानी बालीले ढाकेको क्षेत्रफल क्रमशः ३६.४० प्रतिशत र ५.९८ प्रतिशतले वृद्धि भई क्रमशः १८ हजार ९१९ हेक्टर र ५ हजार ०८७ हेक्टर पुगेको छ ।

आव २०८०/८१ मा तरकारी तथा बागवानी बालीले ढाकेको क्षेत्रफल २८.५८ प्रतिशतले वुद्धि भई २४ हजार ००६ हेक्टर कायम भएको छ ।

कर्णाली प्रदेशमा रहेका १० जिल्लाहरुमध्ये तरकारी र बागवानी क्षेत्रमा सल्यान जिल्लाले सबैभन्दा धेरै ३४.०७ प्रतिशत र डोल्पा जिल्लाले सबैभन्दा कम १.११ प्रतिशत हिस्सा ओगटेको छ । त्यसैगरी, सुर्खेत ३०.९५ प्रतिशत,  दैलेख १२.१३ प्रतिशत, रुकुम पश्चिम ६.८६ प्रतिशत, जाजरकोट ४.४७ प्रतिशत, कालिकोट ४ं.४० प्रतिशत, जुम्ला २.९२ प्रतिशत, हुम्ला १.७५ प्रतिशत, मुगु १.३३ प्रतिशत र डोल्पाले १.११ प्रतिशत हिस्सा ओगटेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस