श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक छ : राष्ट्रपति पौडेल

अनलाइनसमय |
१६ पुष २०८१
श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं, १६ पुस । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास भनेको आर्थिक र भौतिकमात्रै नहुने बताउँदै श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को छैटौं श्रम संसदलाई सम्बोधन गर्दै उनले यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गर्दैे प्राकृतिक स्रोत साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले नै गर्ने बताए ।

उनले भने, ‘मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्रै होइन, यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको छ । प्राकृतिक श्रोत, साधन र पुँजीको परिचालन गर्ने भनेकै श्रमजीवि वर्ग हुन् । श्रम र पुँजीलाई सँगै अघि बढाउन आवश्यक छ ।’

राष्ट्रपति पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको बताए ।

आफ्नो राजनीतिक जीवनमा देशको सामाजिक र आर्थिक रुपान्तरणका लागि कृषक, श्रमिक तथा मजदुरको सम्मानको विषयलाई आफूले सदैव प्राथमिकता दिएको उनले स्मरण गरे ।

राष्ट्रपति पौडेलले भने, ‘निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु, सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि हामीले यही अवधारणाको जगमा खोज्नुपर्दछ ।’

नेपालका श्रमजीवीहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गरेको योगदान सराहनीय रहेको र सोही योगदानका कारण संविधानमा उचित श्रम अभ्यास, सङ्गठन गर्न पाउने स्वतन्त्रता, सामूहिक सौदावाजी र योगदानमा आधारित सामाजिक सुरक्षाजस्ता विषय मौलिक हककारुपमा रहन पुगेको उनले उल्लेख गरे । सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार बन्ने राष्ट्रपति पौडेलको भनाइ थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस