काठमाडौं, १५ पुस । आज गुरुङ समुदायले हर्षोल्लासका साथ तमु ल्होसार मनाएका छन् ।
पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर ‘तमु ल्होसार’ पर्व मनाइएको हो । काठमाडौं उपत्यकाका गुरुङ समुदायले टुडिखेलमा र गुरुङ समुदायको बाहुल्य रहेको क्षेत्रका बासिन्दाले आ–आफ्नो क्षेत्रमा तमु ल्होसार मनाइएको छ ।
जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । यसलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउँछन् ।
‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।
तमु ल्होसारमा १२ वटा वर्ष हुन्छन्, जसलाई १२ फरक जनावरहरूको नामले चिनिन्छः मुसा, गोरु, बाघ, बिरालो, अजिङ्गर, सर्प, घोडा, भेंडा, बाँदर, चरा, कुकुर, र सुँगुर । तमु समुदायले यसपाली गरुड बर्षलाई विदाइ गरी सर्प बर्षको स्वागत गरेका छन् ।
यसैबीच काठमाडौँ उपत्यकामा रहेका गुरुङ समुदायले धुमधामका साथ तमु ल्होसार मनाएका छन् । उनीहरुले टुँडिखेलमा भेला भएर तमु ल्होसार मनाएका हुन् ।
हेर्नुहोस तस्विरहरु:
तस्विर: बिशाल खड्का