काठमाडौं, १२ पुस । नेपाल राष्ट्र बैंकले तीनवटा रेमिट्यान्स कम्पनीको इजाजत (लाइसेन्स) खारेज गरेको छ ।
विप्रेषण कारोबारका लागि नेपाल राष्ट्र बैंकबाट इजाज पत्र प्राप्त नमस्ते रेमिट इन्टरेनशनल प्रालि (नयाँ बानेश्वर), मोर्डन रेमिट्यान्स प्रालि (कमलपोखरी), र भाटभटेनी मनी ट्रान्सफर (कान्तिपथ) का लाइसेन्स खारेज गरिदिएको हो ।
केन्द्रीय बैंकले बिहीबार एक सूचना जारी गर्दै तीन कम्पनीहरूले लिएको इजाजत पत्र नेपाल राष्ट्र बैंक, विप्रेषण विनियमावली, २०७९ (प्रथम संशोधन सहित)को विनियम (१३ को उप) विनियम (५) बमोजिम खारेज गरिएको जनाएको छ ।
विप्रेषण कारोबारको सिलसिलामा यी कम्पनीहरूसँग कुनै व्यक्ति वा संघसंस्थाले लेनदेन (विप्रेषणसँग सम्बन्धित कारोबार मात्र) रकम बाँकी रहेको भए सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र विदेशी विनिमय व्यवस्थापन विभागमा लिखित जानकारी दिन राष्ट्र बैंकले आग्रह गरेको छ ।
तोकिएको म्यादभित्र लिखित जानकारी प्राप्त हुन नआएमा देहायमा उल्लेखित विप्रेषण कम्पनीहरूको बैंक जमानत फुकुवा हुने राष्ट्र बैंकले जनाएको छ ।