काठमाडौं, २ पुस । सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडेलमा पहिलोपटक प्रसारण लाइन निर्माण हुने भएको छ ।
सार्वजनिक निजी साझेदारीमा पहिलोपटक तमोर–ढुंगेसाँघु २२० केभी प्रसारण लाइन निर्माण गर्न सम्झौता भएको हो ।
मंगलबार राष्ट्रिय प्रसारण ग्रिड कम्पनी, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र निजी क्षेत्रका ५ वटा जलविद्युत आयोजना प्रवद्र्धक कम्पनीबीच ऊर्जा मन्त्रालयमा उक्त सम्झौता भएको हो ।
ग्रिड कम्पनीका अनुसार ३२ किलोमिटर लम्बाइ र २२०÷१३२ केभीको सबस्टेसन कार्यक्षेत्र रहेको उक्त आयोजनाको कुल लागत ३ अर्ब ८० करोड रुपैयाँ बराबर हुनेछ । आयोजना ‘निर्माण, सञ्चालन, स्वामित्व र हस्तान्तरण’ (बुट) मोडेलमा निर्माण हुनेछ ।
प्रसारण लाइन निर्माणमा यसअघि सरकारले मात्र लगानी गर्दै आएको थियो । अहिले भने पहिलो पटक निजी क्षेत्र प्रवेश गरेको हो । यो आयोजनामा निजी क्षेत्रका पाँच जलविद्युत् कम्पनीले स्वपूँजी लगानी गर्नेछन् । निर्माणअघिका सबै काम पूरा भइसकेको ग्रिड कम्पनीले जनाएको छ । प्रसारण लाइन निर्माण गर्न आवश्यक ७० रोपनी जग्गा यसअघि नै अधिग्रहण गरिसकिएको छ ।
आयोजना निर्माण गर्न एचआईडीसीएलले ऋण लगानी गर्नेछ । यसका लागि राष्ट्रिय प्रसारण ग्रिड कम्पनी र एचआईडीसीएलबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ ।
हाल आयोजनाको ७४ प्रतिशत शेयर विद्युत् उत्पादक कमपनी र बाँकी २६ प्रतिशत राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको हुने प्रस्ताव कायम गरिएको छ । जसअनुसार रेमिट हाइड्रोलाई १० प्रतिशत, सिम्बुवा रेमिट हाइड्रो ९, क्रिस्टल पावर डेभलपमेन्ट ४२, युनियन हाइड्रोपावर ८ र नेपाल हाइड्रो भेन्चरलाई ५ प्रतिशत तोकिएको छ ।
त्यसैगरी आयोजनाको मुख्य आयस्रोत सम्बन्धित उत्पादक कम्पनीले बुक गरेको ह्विलिङ चार्ज हुने र सोही आयबाट ऋण चुक्ता र सञ्चालन खर्च कटाएर हुने नाफा÷नोक्सान सेयरधनीले बेहोर्ने अवधारणा बनाइएको सम्झौतामा उल्लेख छ ।