अस्मिता सापकोटा
काठमाडौं, २७ कार्तिक । सामान्यतया एक व्यक्तिको जागिरे जीवन करिब ४० वर्षको हुन्छ । तर धेरैका लागि यो अवधि पर्याप्त हुँदैन । कोहीले आर्थिक कारणले लामो समयसम्म काम गर्न चाहन्छन् भने, कतिपयले आफूलाई सक्रिय र व्यस्त राख्न दीर्घकालीन रोजगारी खोजिरहेका हुन्छन् । कारण जुनसुकै होस् धेरै मानिसहरूले दीर्घकालीन रोजगारीको विकल्पलाई प्राथमिकतामा राख्दै आएका छन् ।
हालै अमेरिकी श्रम तथ्यांक ब्यूरोले गरेको एक अध्ययनले सन् १९५७ देखि १९६४ बीच जन्मिएका व्यक्तिहरूले १८ देखि ५४ वर्षको उमेरसम्म औसतमा १२.४ वटा विभिन्न काम गरेको तथ्य देखाएको छ । यो प्रवृत्ति आगामी वर्षहरूमा झनै तीव्र हुने अपेक्षा गरिएको छ, जहाँ एक व्यक्तिले आफ्नो रोजगारी अवधिमा औसतमा १५ देखि २० वटा विभिन्न काम गर्ने अनुमान छ ।
यसरी रोजगारीको क्षेत्र बदल्दा फरक अनुभव र शीपको विकास हुन्छ, जसले भविष्यमा एक वा एकभन्दा बढी पार्ट–टाइम वा फ्रील्यान्सिङ काम गर्न सक्षम बनाउँछ । यसलाई ‘पोर्टफोलियो करियर’ भनिन्छ, जसले व्यक्तिलाई आफ्ना रुचि पत्ता लगाउन, नयाँ क्षमता विकास गर्न र सन्तोषजनक व्यावसायिक जीवन निर्माण गर्न अवसर प्रदान गर्छ ।
धेरै किसिमका रोजगारीको अनुभवले व्यक्तिको क्षमता वृद्धि हुनुका साथै नयाँ शीपको पनि विकास हुन्छ । आफ्नो शीप र क्षमतालाई उचित रूपमा उपयोग गर्न सकियो भने प्रशस्त कामको अवसर पाइन्छ ।
हार्वर्ड बिजनेस रिभ्युको एक अध्ययनले सहायक काममा संलग्न हुनेहरूले एक जागिरमा मात्र केन्द्रित हुनेहरूभन्दा उच्च स्तरको खुसी र सन्तुष्टि अनुभव गर्ने तथ्य प्रस्तुत गरेको छ ।
आफ्नो रुचि र क्षमताअनुसार रोजगारी छनोट गर्दा दीर्घकालीन सन्तुष्टि प्राप्त हुन्छ । रुचि अनुसारको काम गर्न यस क्षेत्रमा काम गरिरहेका व्यावसायिक व्यक्तिहरूसँग सम्बन्ध विस्तार गर्नु, सम्बन्धित कार्यक्रमहरूमा सहभागी हुनु तथा कामको अवसर र चुनौतीबारे जानकारी हासिल गर्नु आवश्यक हुन्छ । साथै धेरै रोजगारीको सम्भावनालाई बढाउन निरन्तर सिकाइमा पनि जोड दिनुपर्छ ।
धेरै किसिमका काममा संलग्न हुनु भनेको धेरै काम एकैचोटि गर्नु होइन । यसको अर्थ हो आफ्नो रुचि र क्षमता अनुसार मेल खाने रोजगारीको दिगो र सन्तोषजनक बाटो निर्माण गर्नु । यसका लागि परिस्थितिअनुसार विकसित हुन सक्नुपर्छ ।
(एजेन्सीको सहयोगमा)