अस्मिता सापकोटा
काठमाडौं, ५ कार्तिक । चियाकफी विश्वमा धेरै उपभोग हुने पेय पदार्थ हुन् । यद्यपि यो उपभोगका अत्यावश्यक पेय भने होइन । त्यसैले यसको सेवनलाई शोख, विलासिता वा आदतसँग जोड्ने गरिन्छ ।
चिया विश्वमै पानीपछि दोस्रो धेरै खपत हुने पेय हो भने कफीको पनि माग धेरै नै छ । विश्वभरमा हरेक दिन अर्बौं कप चियाकफी पिइन्छ । यी दुवै पेय पदार्थ मानव सभ्यतासँग जोडिएका छन् । कफीको उत्पत्ति ९औँ शताब्दीको इथियोपियामा भएको थियो भने चिया प्राचीन चीनबाट शुरू भएको मानिन्छ । तर युरोपमा भने चियाकफी १७औँ शताब्दीतिर मात्र पुगेको हो । त्यहाँ यसले थोरै समयमै यसले आफ्नो साम्राज्य बनायो । यससँगै विश्वका हरेक ठाउँबाट चियाकफीको माग हुन थाल्यो र व्यापार विश्वभर फैलियो ।
व्यापार बढेसँगै चियाकफी उब्जनी गर्ने जमिन पनि बढाउन थालियो । आजभोलि यो व्यावसायिक रूपमा ठूला फार्महरूमा उब्जाइन्छ र प्रशोधन गरी प्याक गरेर संसारभर पठाइन्छ ।
सामान्य तबरले हेर्दा चियाकफीले पनि वातावरणमा असर गर्छ र जस्तो लागे पनि यसले पार्ने नकारात्मक प्रभाव भने धेरै छ । यसले वातावरणमा पार्ने प्रभाव धेरै कुरामा निर्भर गर्छ । यसको खेती, ढुवानी, उपभोग, फोहोर व्यवस्थापन लगायत सम्पूर्ण चक्रको अध्ययन गरेर केही अनुसन्धानले वातावरणमा सबैभन्दा ठूलो प्रभाव भने खेतीले पार्ने गरेको पत्ता लगाएका छन् ।
शुरूआतमा कफी रूखको छायाँमा कुनै पनि विषादी प्रयोग नगरी उब्जाइन्थ्यो । तर अहिले ठूला घाम लाग्ने फार्महरूमा उब्जाइन्छ, जसमा पानी, मल र विषादीको बढी प्रयोग आवश्यक पर्छ ।
चियाकफी टिप्न मेशिन, सिँचाइमा कार्बन उत्सर्जन गर्ने ऊर्जा, नाइट्रस अक्साइड (शक्तिशाली हरितगृह ग्यास) उत्सर्जन गर्ने मल लगायतको प्रयोगले वातावरणमा नकारात्मक प्रभाव पार्ने कफी अनुसन्धानमा १८ वर्ष बिताएकी लाइफ साइकल एनालिस्ट एमी स्टकवेल बताउँछिन् ।
चिया, कफी खेतीका लागि जंगल फँडानी धेरै हुनु अर्को ठूलो समस्या हो ।
धेरैजसो दक्षिणी देशहरूमा चियाकफी जस्ता नगदे बाली उत्पादन गर्न जंगल फाँडिने गरेको वातावरण तथा जलवायु क्षेत्रका जानकार लेना पार्ट्च्स बताउँछिन् ।
दक्षिणी देशमा उत्पादित चियाकफी जर्मनी जस्ता देशहरूमा निर्यात गरिन्छ । चियाखेती श्रीलंका, भारत जस्ता दक्षिण एसियाली देशहरूमा वन फँडानीको मुख्य कारण बनिरहेको छ ।
सन् २०२३ को कफी ब्यारोमिटरका अनुसार कफी उत्पादनका लागि हरेक वर्ष करिब १ लाख ३० हजार हेक्टर वन नाश हुन्छ । साथै नेदरल्याण्ड्मा गरिएको एक अध्ययनले पनि विश्वमै ५ प्रतिशत वन विनाश कफी खेतीको लागि हुने देखाउँछ ।
चियाकफी उपभोग गर्न प्रशोधन पनि गर्नुपर्छ । यसले पार्ने वातावरणीय प्रभाव प्रशोधनमा प्रयोग गर्ने ऊर्जामा निर्भर हुन्छ । यसैगरी उक्त उत्पादन समुद्रमार्गबाट ढुवानी हुन्छन् वा हवाईजहाजमार्फत भन्नेले पनि वातावरणमा कति असर पर्छ निर्भर हुन्छ ।
ढुवानी गर्दा हवाईजहाजको सट्टा मालवाहक जहाजको प्रयोगबाट उत्सर्जन कम हुने २०२१ को एक अध्ययनले देखाएको छ ।
चिया र कफीले वातावरणमा पार्ने असर घटाउन के गर्न सकिन्छ ?
उत्पादनको एकतिहाइ कफी प्रायः खेर जाने गरेको केही तथ्यांकहरूले देखाउँछन् ।
तयारी कफिलाई खेर जान नदिन आफूलाई जति चाहिन्छ त्यति मात्र बनाउनु महत्वपूर्ण हुने स्टकवेल बताउँछिन् । यसबाट कफीको मात्र नभई ऊर्जाको समेत बचत हुने उनको भनाइ छ ।
चियाकफीलाई हावा रहित कन्टेनरमा राख्नु, प्लास्टिकको बट्टामा भएको चियापत्तीको बट्टाको सट्टा खुला पातको चिया किनेर प्रयोग गर्नु वातावरणको दृष्टिले उपयोगी हुन्छ । चियाकफीबाट हुने वातावरणीय प्रभाव न्यूनीकरण गर्न व्यवसायी, किसान र सरकारको पनि मुख्य भूमिका हुन्छ ।
कम मल प्रयोग गरेर, पानी र ऊर्जाको राम्रो व्यवस्थापन गरेर र कफीका बियाँहरू विमानको सट्टा मालवाहक जहाजबाट निर्यात गर्दा यसबाट हुने कार्बन उत्सर्जन करिब ७७% कम गर्न सकिने २०२१ को युसिएल ( लण्डनको रिसर्च युनिर्भसिटी) को एक अध्ययनले देखाएको छ ।
यसैगरी व्यवसायीहरूले वातावरणमैत्री प्याकेजिङ र नवीकरणीय ऊर्जाको प्रयोग गरेर पनि वातावरणीय प्रभाव न्यूनीकरणमा योगदान पु¥याउन सक्छन् ।
गत वर्ष युरोपेली संघले कफी र कोकाजस्ता उत्पादन जंगल फँडानी भएको ठाउँबाट ल्याउन नपाइने कानुन पारित ग¥यो । यस कानुनले व्यवसायीहरूलाई त्यस्ता उत्पादन जंगल फँडानी भएको ठाउँबाट ल्याइएको नभएको प्रमाणित गर्न बाध्य बनाउँछ । यसका साथै यसले किसानलाई वातावरणलाई नोक्सान नगर्ने तरिकाबाट उक्त वस्तुको उत्पादन गर्न उत्प्रेरित गर्छ ।
कफीको माग अबको २५ वर्षमा दोब्बर हुने अनुमान छ । तर अर्कोतिर विश्व जलवायु परिवर्तनको मारमा छ, जसका कारण कफी उत्पादन गर्न सकिने क्षेत्र घट्दै गएको छ । यसको उत्पादन बढाउन जंगल फँडानी गर्दा जलवायु परिवर्तनलाई झनै टेवा पुग्ने देखिन्छ । त्यसैले चियाकफीको माग बढ्दै जाँदा वन फाँडेर नयाँ क्षेत्रमा उत्पादन शुरू गर्न नहुने विज्ञहरूको सुझाव छ ।
(डिडब्लुको सहयोगमा)