• ताजा समाचार, विज्ञान/प्रविधि

    २०२४ का एआई ट्रेन्ड

     155 Views
    २०२४ का एआई ट्रेन्ड

    अस्मिता सापकोटा
    काठमाडौं, २२ असोज । च्याट जिपिटी जस्ता आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मोडलको आविष्कारले नयाँ प्राविधिक युगको शुरूआत गरेको छ र यससँगै एआई द्रुत रुपमा विकास हुँदैछ । २०२४ का शुरुआती चरणको विश्लेषण गर्दा एआई नवप्रवर्तनको गति सुस्त हुने कुनै संकेत देखिँदैन, बरू यसले अझ गति लिने संकेत गर्छ । यस लेखमा यस वर्षका मुख्य केही एआई ट्रेन्डबारे चर्चा गरिएको छ ।

    १. मल्टिमोडल एआई

    मल्टिमोडल एआई २०२४ को एक उत्कृष्ट कृत्रिम बौद्धिक प्रणाली हो । यसले लेख, भिडियो, इमेज लगायतलाई एकै पटक संयोजन गर्न सक्छ । त्यसैले यो एआईलाई अन्य भन्दा उत्कृष्ट मानिन्छ । यसले कुनै पनि लेखको व्याख्या गर्नुका साथै त्यसलाई भिडियो वा अडियोमा अनुवाद गर्न पनि सक्छ । यसरी नै कुनै पनि अडियो वा भिडियोलाई पाठमा रूपान्तरण गर्न पनि सक्छ । च्याट जिपिटी–४, ओपन एआई लगायत मल्टिमोडल एआईले पाठ, अडियो, भिजुअल इनपुट लगायतबाट त्यस सम्बन्धि अन्य जानकारी उपलब्ध गराउँछ । यस प्रकारको एआई विभिन्न डेटा सेटको पहिचान र विश्लेषण गर्न सक्षम हुन्छन् । त्यसैले वित्तीय सेवा, ग्राहक विश्लेषण, मार्केटिङ लगायत क्षेत्रमा यस्ता एआईको प्रयोग गरिन्छ, जसबाट लागत खर्च र समय दुवैको बचत हुन्छ ।

    २. स्मल ल्याङ्वेज मोडल

    कम कम्प्युटिङ स्रोतबाट प्रभावकारी रूपमा कार्य गर्न सक्ने क्षमताको कारण स्मल ल्याङ्वेज मोडल (एसएलएम) एआई लार्ज ल्याङ्वेज मोडल (एलएलएम) भन्दा बढी लोकप्रिय हुँदैछन् । आकार सानो भए तापनि स्मार्टफोन जस्ता कम्प्याक्ट उपकरणहरूमा प्रभावकारी रूपमा सञ्चालन हुने भएकाले यो प्रयोगकर्ता मैत्री छ । साथै यस्ता एआई प्रयोग गर्न ब्राउजर भए पुग्ने र कुनै वित्तीय लगानी नलाग्ने हुँदा यसको प्रयोग बढ्दो छ । प्रविधि क्षेत्रमा माइक्रोसफ्टका फाई र ओर्का जस्ता एसएलएम मोडेलका एआई केहि क्षेत्रहरूमा एलएलएम भन्दा पनि प्रभावकारी छन् । यसबाट सानो मोडलको एआईबाट पनि धेरै काम गर्न सकिन्छ, सबै कामका लागि सधैं ठूलो मोडेलको आवश्यकता पर्दैन भन्ने पुष्टि हुन्छ ।

    ३. कस्टुमाइजेबल जेनेरेटिभ एआई

    सेवा ग्राहीको हक हितलाई ध्यानमा राख्दै उनीहरुको आवश्यकता पूरा गर्न कस्टुमाइजेबल जेनेरेटिभ एआई मोडल एक उपयुक्त मोडल हो । यस प्रणाली सेवा निजीकरणका लागि उपयोगी हुन्छ । यसले उपभोक्ताको गोपनीयता कायम राख्न सहयोग गर्छ । साथै अन्य भन्दा यस्ता एआई बढी सुरक्षित पनि हुन्छन् । यसमा उद्योग आफै तथा सम्बन्धित संस्थासँग डेटाको नियन्त्रण हुने भएकाले पनि उपभोक्ताको गोपनीयता कायम रहन्छ । स्वास्थ्य, कानूनी, वित्तीय लगायत क्षेत्रमा यस्ता एआई मोडल प्रयोग हुन्छ । आगामि दिनमा उपभोक्ता तथा सेवा ग्राहिको गोपनियता तथा सुरक्षाको सम्बोधन गर्न थप एआई नियमहरू कायम हुने हुँदा कस्टुमाइजेबल जेनेरेटिभ एआईको माग बढ्ने सम्भावना छ ।

    ४. स्याडो एआई (कार्यस्थलमा एआई)

    २०२२ मा च्याटजिपिटी शुरू भएदेखि काममा स्याडो एआई प्रविधि प्रयोग हुँदै आएको छ । आईटी विभागबाट पूर्व स्वीकृति नलिई वा निरीक्षणविना छिटो समस्याको समाधान खोज्ने कर्मचारीको परिणामको रूपमा स्याडो एआई देखापरेको छ । एआई थप पहुँचयोग्य हुँदै जाँदा यो प्रवृत्ति अझ प्रचलित हुँदै गइरहेको छ । यसले कम्पनीको गोपनीयता भंग गर्न सक्ने सम्भावना रहन्छ । यो प्रवृति विकसित हुँदै जाँदा कम्पनीहरुले स्पष्ट एआई नीति तय गरेर स्याडो एआई प्रवृत्तिलाई सम्बोधन गर्नुपर्छ । एआई प्रयोगलाई थप सुरक्षित र गोपनीय बनाउन गर्नुपर्ने कार्यमा अग्रसर हुनु अहिलेको आवश्यकता हो ।

    ५. एआई नियमन तथा नैतिकता

    गोपनीयता तथा सुरक्षा जोखिमलाई ध्यानमा राखेर एआई नियमनको माग बढ्दै गएको छ । यसको व्यापक प्रयोगबाट नक्कली तथा गलत जानकारी सम्प्रेषण लगायत जोखिमलाई कम गर्न यसको नियमन सम्बन्धी थप नियम, कानून बन्ने सम्भावना छ । युरोपेली संघ (इयु)ले एआईलाई नियन्त्रण गर्ने विश्वको पहिलो कानून पारित गर्न प्रयास गरिरहेको छ । साथै पारदर्शिता र उत्तरदायित्व जस्ता मुद्दाहरूलाई सम्बोधन गर्दै विश्वभरका देशहरूले एआईका मापदण्ड तय गर्न थालेका छन् ।

    ६. एजेन्टलाई एआईको सहायता

    एआईले धेरै सम्पर्क केन्द्रहरूमा भर्चुअल एजेन्टको काम गरिरहेको छ । इन्पुट डेटाको आधारमा ग्राहकको भावनाको विश्लेषण गर्न सक्षम एआईले सामान्य प्रश्नोत्तरको जवाफ दिने, ठाउँको दिशा देखाइदिने लगायत कार्य गरेर मानव एजेन्टको कामलाई सहजीकरण गरिरहेको छ ।

    एआई प्रविधिको विकास द्रुत गतिमा हुँदैछ । हरेक क्षेत्र तथा व्यवसायमा यसको प्रयोग अनिवार्य जस्तै भइसकेको छ । एआईको प्रयोग केही जोखिमपूर्ण भए तापनि यसलाई नियमन गरेर व्यवसायमा प्रयोग गर्न सकियो भने यसबाट प्रशस्त लाभ लिन सकिन्छ । यसले कम्पनीहरूलाई अनलाइन समुदायसँग मध्यस्थता गर्न, ब्रान्डको सुरक्षा गर्न, सामाजिक सञ्जालमा उपस्थिति कायम राख्न लगायत काममा सहयोग गर्छ । साथै यसले ग्राहक सेवा एजेन्टको सहयोगीको रूपमा समेत काम गर्छ ।

    (एजेन्सीको सहयोगमा)

    यसमा तपाइको मत

    Facebook Comment