अस्मिता सापकोटा
काठमाडौं, १७ असोज । ‘बुढेसकालले छोएर हो कि खाना रूच्नै छाड्यो’ यो वाक्यांश केही बुज्रुकहरुबाट हामीमध्ये धेरैले सुनेको हुनुपर्छ । वयस्कमा जति पनि खाने मानिसलाई एउटा उमेर कटेपछि खानामा रूचि घट्दै जान्छ । साथै युवा अवस्थामा जस्तो भोक लाग्ने पनि हुँदैन । यस्तो किन हुन्छ ? आज हामी यही सन्दर्भको वरिपरि चर्चा गर्छांै ।
हाम्रो शरीरले कतिकति बेला खाना खाने भन्ने संकेत दिइनै रहेको हुन्छ । साथै कति खाने भन्ने पनि शरीरको आवश्यकता अनुसार निर्धारण हुन्छ । जीवनका चरण अनुसार शरीरलाई ऊर्जाको आवश्यकता फरक पर्ने भएकाले खानाको मात्रा जीवनकालभरि परिवर्तन भइरहन्छ । बाल्यकालमा केही चम्चा खानाले भरिने पेटले वयस्क उमेरमा धेरै खोज्छ । साथै बुढेसकालले छोएपछि भने पुनः थोरै खानाले नै पेट भरिन्छ ।
भोक हर्मोनले कसरी काम गर्छ ?
शरीरलाई चाहिने ऊर्जा खानाबाट प्राप्त हुन्छ । खानामा पाइने कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन, मिनरल जस्ता पोषक तत्व ऊर्जामा परिणत हुन्छन् । यीमध्ये केहीले शरीरलाई चाहिने अन्य महत्वपूर्ण तत्व सिर्जनामा समेत मद्दत गर्छन् । शरीरमा यस्ता प्रक्रिया निरन्तर भइरहन्छन् ।
शरीरमा नियमित ऊर्जा आपूर्ति सुनिश्चित गर्न विशेष प्रणालीहरू हुन्छन् । यस्तै भोक र तृप्तिलाई नियन्त्रण गर्न पनि विशेष खालका केही स्वायत्त प्रणाली हुन्छन् । यी मुख्यतया पेट तथा आन्द्राबाट आउने संकेत हुन् । यी संकेत लेप्टिन जस्ता हार्मोनबाट पनि आउँछन्, जसले मस्तिष्कको मुख्य नियन्त्रण केन्द्र हाइपोथ्यालेमसलाई संकेत दिन्छ । हाइपोथ्यालेमसले पाएको संकेत अनुसार नै हामी भोक लागेको अथवा अघाएको थाहा पाउँछौं ।
मानिसमा भोक जगाउन तथा तृप्त पार्न लेप्टिन जस्ता रासायनको मुख्य भूमिका हुन्छ । यस्ता रासायनलाई हंगर (भोक) हार्मोन पनि भनिन्छ । लेप्टिनका साथै घ्रेलिन पनि एक भोक हार्मोन हो ।
घ्रेलिन पेटमा पैदा हुने हार्मोन हो । पेटबाट यो हार्मोन रगतमा पुगेपछि यसले मस्तिष्कलाई भोक लागेको संकेत दिन्छ । जब खानाले पेट भरिन्छ, रगतमा घ्रेलिनको मात्रा घट्छ् । यसले पेट भरिएको महसुस गराउँछ ।
मानव शरीरमा भोक जगाउने तथा पेट भरिएको संकेत दिने अन्य हार्मोन पनि छन् । तीमध्ये इन्सुलिन तथा अन्य प्यान्क्रियाटिक हार्मोनले पेट भरिएको संकेत गर्छन् ।
मानव पाचन प्रक्रिया
पाचन प्रक्रिया मुखदेखि नै सुरु हुन्छ । दाँतले खाना चपाउँदा मुखमा भएको लार खानामा मिसिन्छ । लारमा हुने एमाइलेज इन्जाइमले खानामा भएको स्टार्चलाई टुक्य्राउँछ । साथै लारको चिप्लोपनाले खानालाई घाँटीबाट निल्न पनि सजिलो बनाइदिन्छ । मुखबाट पेटसम्म खाना पुग्ने प्रक्रियालाई पेरिस्टाल्सिस भनिन्छ ।
पेटमा खाना पचाउने इन्जाइमहरू धेरै हुन्छन् । यस्ता इन्जाइमले खानाको पोषण तत्वलाई रगतमा घुलिन सक्नेगरी टुक्य्राउँछन्, जुन रगतमार्फत शरीरका विभिन्न तन्तुसम्म पुग्छ । यसरी शरीरलाई आवश्यक ऊर्जा प्राप्त हुन्छ ।
उमेर अनुसार भोक कसरी परिवर्तन हुन्छ ?
मानव शरीरमा शारीरिक तथा मानसिक वृद्धिका लागि ऊर्जा चाहिन्छ । बाल्यावस्थामा भोकको महसुस कम हुने भए तापनि किशोरावस्थामा आइपुग्दा भने शरीरले धेरै खाना खोज्छ । तर बुढेसकाल लागेपछि भने भोकको मात्र घट्छ । किनकि वयस्कमा जति ऊर्जा अन्य समयमा चाहिँदैन ।
मानव शरीरमा सबैभन्दा धेरै ऊर्जा खपत हुने अंग मांसपेशी हो । बुढेसकाल लागेपछि शरीरमा प्रोटिन बन्ने प्रक्रियामा ह्रास आउँछ । त्यसैले शरीरले पर्याप्त मात्रामा प्रोटिन उपभोग गर्न पाउँदैन । यसैकारण शरीरमा भएको मांसपेशी पनि घट्दै जान्छ । मांसपेशी कम हुँदा शरीरमा ऊर्जा खपत पनि कम हुन्छ, जसको कारण भोक कम लाग्ने भएकाले खानाको मात्रा पनि घट्छ । बुढेसकालमा पनि भोक कायम राख्न खानामा प्रोटिनको मात्रा बढाउनुपर्ने केही पोषणविद्को भनाइ छ ।
(एजेन्सीको सहयोगमा)