अस्मिता सापकोटा
काठमाडौं, १५ असोज । घरआँगन वा बारीमा ढकमक्क फूलेका फूलहरू वा वनजंगलमा फूल फुल्ने प्रजातिका रुखहरूमा भुन्भुनाइरहेका मौरी त हामीले देखेकै हुनुपर्छ । मौरीले ती फूलको रसबाटै मह बनाउँछन् । यो प्रायः सबैलाई थाहा भएकै कुरा हो । तर मह बनाउँदा उनीहरुले गर्ने मेहनत तथा मह बन्ने प्रक्रियाबारे भने सबैलाई थाहा नहुन सक्छ । आज हामी त्यही प्रक्रियाबारे चर्चा गर्छौं ।
मह संसारभरिका मानिसले मन पराउने गुलियो तथा स्वादिष्ट पदार्थ हो । फच्र्युन बिजनेश इन्साइट्स अनुसार सन् २०२३ मा महको विश्वव्यापी बजार ९ अर्ब डलर बराबरको थियो । यस वर्ष यो ९.४ अर्ब डलरको पुग्ने प्रक्षेपण गरिएको छ ।
नेपालमा पनि महको उत्पादन तथा खपत बढ्दो छ ।
महको उपयोगिता धेरै छ । यसलाई खाजाको रूपमा मैदा वा आटाका परिकारमा राखेर खानुका साथै औषधिको रूपमा पनि प्रयोग गरिन्छ । मनुका हनी (मौरीको एक प्रजातिबाट बनेको मह)मा एन्टिमाइक्रोबियल गुणहरू हुने भएकाले यसलाई घाउ निको पार्न पनि प्रयोग गर्न सकिने एक अध्ययनले देखाएको छ ।
पसलका तखताहरूमा लहरै देखिने महको उत्पादनमा मौरीले अधिकांश समय बिताएको हुन्छ । वास्तवमा उनीहरुले मह कसरी बनाउँछन् त ? सिटी स्टेट क्यापिटलका जीवविज्ञानका सहप्राध्यापक डा. एडोल्फो सान्चेज ब्लान्कोले मह बन्ने चरण र प्रक्रियाबारे निम्न विषयमा रहेर व्याख्या गरेका छन् ।
मौरीले आफ्नै मह खान्छन् ?
मौरीले ठूलो मात्रामा मह उत्पादन गर्छन् । उनीहरूले यो मह आफ्नो घारमा भएका मौरीहरुको पोषणका निमित्त प्रयोग गर्ने सान्चेज ब्लान्को बताउँछन् । साथै महले मौरीको पखेटामा हुने मांसपेशीलाई पनि उर्जा दिन्छ । उनीहरुले प्रयोग गरेर बचेको मह हनी कम्ब (मौरीको चाका)मा भण्डारण गर्छन् । जाडो याममा फूलको रस खोज्न कठिन हुने समयमा उनीहरुले त्यही महको प्रयोग गर्ने ब्लान्को बताउँछन् । साथै उनीहरुले लार्भालाई पनि त्यही मह खुवाउने ब्लान्कोको भनाइ छ ।
मह कसरी उत्पादन हुन्छ ?
मह उत्पादनमा महिला कामदार मौरीको प्रमुख भूमिका हुन्छ । उक्त मौरीले चुसेको फूलको रस विभिन्न पाचन प्रक्रियापछि महमा रूपान्तरण हुन्छ ।
मौरीमा अन्य कीरा फट्याङ्ग्रामा भन्दा भिन्नै किसिमको पाचन प्रणाली हुन्छ । साथै उनीहरुको पेट पनि भिन्नै किसिमको हुन्छ । मौरीको पेटलाई जीव वैज्ञानिकहरू ‘हनी स्टोमक’ पनि भन्छन् । कामदार मौरीहरूले चुसेको रस हनी स्टोमकमा पुगेपछि विशेष किसिमका पाचन इन्जाइमहरूले उक्त रसलाई ग्लुकोज र फ्रक्टोजमा रूपान्तरण गर्ने ब्लान्को बताउँछन् ।
मौरीले चुसेको रस धेरै पटकको पाचन प्रक्रियापछि मात्र महमा परिणत हुन्छ । जब मौरी रस चुसेर आफ्नो घारमा फर्किन्छन्, उनीहरुले आफूले चुसेको रस ओकल्छन् र त्यो फेरि अर्को मौरीले खान्छ । यो प्रक्रियालाई रेगुर्गीटेशन भनिन्छ । यो प्रक्रिया धेरै पटक दोहोरिएपछि मात्र मह बन्छ । यस्तो महमा पानी हुन्छ । यस्तो पानी मिश्रित महलाई मौरीले चाकामा भण्डारण गर्छन् ।
चाकामा भण्डारण गरिएको उक्त महमा भएको पानी सुकाउन मौरीहरूले आफ्नो पखेटाको प्रयोग गर्छन् । यो प्रक्रिया पंखा प्रयोग गरेर कपडा सुकाउनु जस्तै रहेको ब्लान्कोको भनाइ छ । यसरी मौरीले आफ्नो लागि मह बनाउँछन् । महको प्रशोधन कार्य पूरा भएपछि मौरीले महको चाकालाई मैनले बन्द गर्छन् । यसरी मौरीको समूहले चिसो मौसमका लागि आफ्नो खाना भण्डारण गर्छन् । यसको सम्पूर्ण प्रक्रिया पूरा भइसकेपछि मौरीपालकले मह काढ्ने र प्रशोधन गर्ने प्रक्रिया अघि बढाउँछ ।
एउटा औसत मौरीको घारमा ६० हजारदेखि ८० हजार माहुरी हुने अष्ट्रेलियन एकेडेमी अफ साइन्सको अनुमान छ ।
(एजेन्सीको सहयोगमा)