अस्मिता सापकोटा
काठमाडौं, १३ असोज । केही समय अघिसम्म कसैले फलानोलाई उच्च रक्तचाप छ भन्दा पक्कै त्यो पाको मान्छे नै होला भन्ने सोचिन्थ्यो । तर अहिले त्यो अवस्था छैन । १५ वर्ष माथिका जो कोही यो रोगबाट पीडित हुन सक्छन् । पछिल्लो समय विश्वमै उच्च रक्तचापका बिरामीको संख्या बढ्दो छ ।
विश्वभरका वयस्क जनसंख्याको ३० प्रतिशतभन्दा बढी उच्च रक्तचापबाट पीडित छन् । यो रोग हृदय रोग, मिर्गौला रोग, एरिथमिया, डिमेन्सिया लगायत रोगको जोखिमको मुख्य कारक पनि हो ।
नेपालमा पनि उच्च रत्तचापका बिरामीको संख्या बढीरहेकै देखिन्छ । सन् २०२२ मा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सर्वेक्षणले देशको १५ वर्ष माथिको जनसंख्याको २० प्रतिशतभन्दा बढी उच्च रक्तचापबाट पीडित रहेको देखाएको छ ।
उच्च रक्तचाप भएका व्यक्तिको मुटुको चाल अन्यको भन्दा तेज हुन्छ । साथै त्यस्ता मानिसको शरीरका नसाका पर्खालहरू पनि छिट्टै कमजोर हुन्छन् । मुटुको चाल सामान्यभन्दा छिटो हुने हुँदा यसबाट अन्य हृदय रोगहरूको जोखिम पनि निम्तिन सक्छ । यद्यपि खानपानमा सुधार गरे यसबाट हुन सक्ने अन्य रोगको जोखिम भने न्यूनीकरण गर्न सकिन्छ ।
कतिपयमा उच्च रक्तचाप वंशानुगत हुन्छ । तर अहिलेको समयमा खराब खानपान र जीवन शैलीका कारण यो रोग लाग्नेको संख्या बढ्दो छ । सन्तुलित भोजन तथा पर्याप्त शारीरिक क्रियाकलापबाट यो रोगको जोखिम भने न्यूनिकरण गर्न सकिन्छ ।
यो रोग लागिसकेकाले पनि औषधिको सेवन र स्वस्थ जीवनशैली अपनाएर रक्तचाप नियन्त्रण गर्न सक्छन् । यहाँ उच्च रक्तचाप भएका व्यक्तिका लागि हानिकारक प्रमुख ८ खाद्यवस्तुबारे चर्चा गरिएको छ ।
१. नुन
नुन उच्च रक्तचाप भएका व्यक्तिका लागि एकदमै हानिकारक हुन्छ । आहारमा सोडियमको मात्रा बढ्दा रगतमा पनि यसको मात्रा उच्च हुन्छ । सोडियमको मात्रा बढी भएको रगतलाई मिर्गौलाले राम्ररी फिल्टर गर्न सक्दैन । जसका कारण रगतमा पानीको मात्रा बढ्छ र यसबाट रक्तचाप बढ्छ । यस्तो हुनबाट बच्न स्वस्थ व्यक्तिका लागि सोडियमको दैनिक सेवन १५०० मिलिग्रामभन्दा बढी हुन नहुने पोषण विद्हरू बताउँछन् ।
२. रातो मासु
रातो मासुमा सेतो मासु र समुद्री खानाको तुलनामा सोडियमको मात्रा बढी हुन्छ । सोडियमले रक्तचाप बढाउँछ । त्यसैले रक्तचाप नियन्त्रण गर्न र उच्च रक्तचापबाट बच्न रातो मासुको प्रयोग कम गर्न डाक्टरहरु सुझाउँछन् ।
२. मादक पदार्थ
मादक पदार्थ पिउनुको कुनै पनि स्वास्थ्य लाभ छैन । धेरै मात्रामा मदिराको सेवनले रक्तचापमा अस्थायी वृद्धि हुन्छ । तर लामो समयसम्म मदिराको सेवनले रक्तचापको स्तर बढ्छ । साथै यसले उच्च रक्तचापका साथै अन्य मुटुसम्बन्धी रोगहरू पनि निम्त्याउन सक्छ । यसरी नै यसले मोटोपना बढाउने सम्भावना पनि हुन्छ । मोटोपना भएको व्यक्तिलाई उच्च रक्तचापका साथै अन्य रोगको पनि अत्यधिक जोखिम हुने सम्भावना बढी हुन्छ ।
३. धूमपान तथा सुर्तीजन्य पदार्थ
चुरोट तथा सुर्तीजन्य पदार्थको बाहिरी खोलमै यो ‘स्वास्थ्यका लागि हानिकारक छ’ लेखिएको हुन्छ । चुरोट तथा सुर्तीमा हुने निकोटिनले रगतको चाप बढाउनुका साथै अन्य रोगको जोखिम समेत बढाउँछ । यसको अत्यधिक सेवनले हार्ट अट्याकको जोखिम समेत निम्तिन सक्छ ।
४. तारेका खानेकुरा
तेलमा तारेका खानेकुरामा पोषक तत्वको कमी हुनुका साथै कोलेस्ट्रोलको मात्रा पनि बढी हुन्छ । यसले रक्तचापलाई झन् बढाउँछ । साथै यस्ता खानेकुराले अन्य रोगको जोखिम समेत बढाउँछ ।
५. क्याफिन
क्याफिन युक्त पेय पदार्थको अनियन्त्रित सेवनले रक्तचाप हुने सम्भावना हुन्छ । साथै यसको सेवनले अचानक नै रक्तचाप बढ्न सक्ने हुँदा यसले गर्ने हानि अझै जटिल हुन सक्छ ।
६. गुलिया खानेकुरा
क्यान्डी, टफी, चकलेट लगायत गुलिया खानेकुराले पनि शरीरमा सोडियमको मात्रा बढाउँछ । यस्ता गुलिया चकलेटमा चिनीको मात्रा पनि ज्यादै हुन्छ, जसले रक्तचाप बढाउन थप टेवा पु¥याउन सक्छ । साथै धेरै मात्रामा चिनीयुक्त खानेकुराको सेवनले मोटोपना हुने सम्भावना हुन्छ, जुन सीधै मुटुको रक्तचाप वृद्धिसँग सम्बन्धित छ । साथै यसबाट अन्य मुटुरोग को जोखिम समेत बढ्न सक्छ ।
७. कार्बोनेटेड पेय
कार्बोनेटेड पेय पदार्थहरूमा चिनीको मात्रा अत्यधिक हुन्छ । यसले व्यक्तिको दाँत तथा मुखको स्वास्थ्यलाई पनि बिगार्छ । साथै यसले शरीरमा पानीको मात्र काम गराउँछ, जसका कारण उच्च रक्तचाप बढ्न सक्छ ।
८. प्रशोधित खानेकुरा
बजारमा पाइने प्रशोधित खानेकुरामा उच्च मात्रामा नुन, चिनी र चिल्लो पदार्थ हुने भएकाले यस्ता खानेकुरा स्वस्थ मानिसकै लागि पनि हानिकारक छ । साथै यस्ता खानाले उच्च रक्त चापको जोखिम पनि बढाउँछ ।
(एजेन्सीको सहयोगमा)