• ताजा समाचार, स्वास्थ्य, स्वास्थ्य/जीवनशैली

    बालबालिकामा अत्यधिक मोटोपना हुन नदिन के गर्ने ?

     266 Views
    बालबालिकामा अत्यधिक मोटोपना हुन नदिन के गर्ने ?

    अस्मिता सापकोटा
    काठमाडौं, १२ असोज । मानौँ तपार्इं कुनै पार्कमा हुनुहुन्छ । नजिकै एउटा मोटो बच्चा खेलिरहेको देख्नुभयो । तपाईं साना केटाकेटी मन पराउनुहुन्छ भने तपाईंका आँखाले उसलाई पक्कै पछ्याउँछन् ।

    तपार्इं मात्र होइन, प्रायः सबैको मस्तिष्कमा स्वस्थ बच्चा भन्ने बित्तिकै एउटा मोटो, खाइलाग्दो बच्चाको तस्बिर आउँछ । साथै बच्चा लक्षित विज्ञापनमा पनि प्रायः मोटा बच्चाहरु नै देखिन्छन् । यसले पनि हाम्रो मस्तिष्कमा बच्चाहरु मोटा भएको नै राम्रो हो भन्ने छाप पारिदिएको छ । यद्यपि बच्चामा अत्यधिक दुब्लोपना र मोटोपना दुवै नै अस्वस्थताको संकेत भने हो ।

    देख्दा मोटा देखिने सबै बच्चामा मोटोपना नहुन पनि सक्छ । ३० भन्दा माथि बडी मास इन्डेक्स (बिएमआइ) भयो भने बच्चालाई मोटोपना भएको मानिन्छ । तर यसो भन्दैमा दुब्ला बच्चा सबै स्वस्थकर हुन्छन् भन्ने होइन । अत्यधिक दुब्लोपना भएका बच्चामा पनि कुपोषण हुन्छ ।

    पछिल्लो समय मोटोपनाको समस्या तीव्र रूपमा बढेको छ । खासगरी शहरी क्षेत्रका बालबालिकामा यो समस्या बढ्दो छ । सन् २०२४ मा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सार्वजनिक गरेको तथ्यांकले विश्वभर अधिक तौल (ओभर वेट)बाट पीडित ५ देखि १९ वर्ष उमेर समूहका बालबालिकाको संख्या ३९ करोड रहेको देखाएको छ भने १६ करोड बालबालिकालाई मोटोपना (ओबिसिटी)ले गाँजेको देखिन्छ । विश्वभर तीव्र रूपमा बढ्दै गएको यस समस्यालाई डब्लुएचओले सन् १९९७ मै महामारीको रूपमा घोषणा गरिसकेको छ ।

    बालबालिकामा मोटोपना बढ्नुको मुख्य कारण अत्यधिक प्रशोधित खानेकुराको सेवन हो । यस्ता खानेकुरामा उच्च मात्रामा बोसो, नुन र चिनी जस्ता तौल बढाउने मुख्य कारक हुन्छन् । साथै शारीरिक क्रियाकलापको कमीले पनि बालबालिकामा मोटोपना निम्त्याइरहेको छ ।

    मोटोपना भएका बालबालिका वयस्क हुँदा पनि मोटा नै हुने सम्भावना बढी हुन्छ । यसले उनीहरुमा गम्भीर खालका समस्या निम्त्याउन सक्ने विज्ञहरुले बताएका छन् । मोटोपना भएका बालबालिका वयस्क हुँदासम्म उच्च रक्तचाप, क्यान्सर, मधुमेह जस्ता रोगको उच्च जोखिममा हुन्छन् ।

    विश्वका धेरै संघसंस्थाले बालबालिकामा मोटोपनाको नियन्त्रणका लागि सामूहिक प्रयास गरिरहेका छन् । यद्यपि प्रयास अनुसारको नतिजा भने आउन सकेको छैन ।

    बालबालिकामा मोटोपना हुन नदिन पहिलो दायित्व अभिभावकको हुन्छ । उनीहरुमा यस्तो अवस्था आउन नदिन अपनाउनु पर्ने केही उपाय :

    १. पौष्टिक खाना खुवाउने

    बालबालिकालाई पोषण युक्त खानेकुरा मात्र खुवाउनु पर्छ । मोटोपनाको समस्या समाधानका लागि खानामा पौष्टिक आहार समावेश गर्नु एकदमै महत्वपूर्ण हुन्छ । बालबालिकालाई ताजा फलफूल, तरकारी, अनाज तथा माछा मासु खुवाउनु पर्छ । साथै उनीहरुलाई उच्च मात्रामा चिनी र बोसो भएका खाना नदिन डाक्टरहरु सुझाउँछन् । यस्ता खानाले मोटोपना निम्त्याउनुका साथै यस सम्बन्धित अन्य रोग पनि निम्त्याउन सक्छ । खाना बनाउने गतिविधिमा संलग्न गराएर उनीहरुलाई पोषणयुक्त खानाको बारेमा मार्गदर्शन गर्न सकिने बाल विशेषज्ञ बताउँछन् ।

    २. दैनिक शारीरिक क्रियाकलापमा सहभागी गराउने

    बालबालिकाको समग्र विकासमा शारीरिक क्रियाकलाप अत्यावश्यक छ । साथै उनीहरुमा सन्तुलित तौल कायम राख्न पनि साइक्लिङ, दौड, पौडी, फुटबल जस्ता बाह्य खेलकुदमा सहभागी गराउनु महत्वपूर्ण हुन्छ । वल्र्ड हेल्थ अर्गनाइजेसन (डब्लुएचओ)का अनुसार स्वस्थ शारीरिक तथा मानसिक विकासका लागि ६ देखि १७ वर्षका बालबालिका तथा किशोरकिशोरीहरू हरेक दिन कम्तीमा पनि ६० मिनेट सक्रिय हुनुपर्ने साथै ३ देखि ५ वर्षका बालबालिकालाई दिनभर नै सक्रिय राख्नुपर्ने देखिन्छ ।

    ३. स्क्रिन समय कम गर्ने

    पछिल्लो समय बालबालिका खेलकुदमा भन्दा टिभी तथा इन्टरनेटका कार्यक्रमहरुमा बढी नै आकर्षित देखिन्छन् । साथै आपूmलाई मन पर्ने कार्टुन तथा भिडियो गेम मै उनीहरुले अधिकांस समय बिताउने गरेको पाइएको छ, जुन बालबालिकामा मोटोपना बढाउने एउटा कारक हो । स्वस्थ विकासका लागि अभिभावकले उनीहरुलाई यस्ता क्रियाकलापमा भन्दा धेरै शारीरिक क्रियाकलाप लगायत सिर्जनात्मक कार्यमा अग्रसर गराउन प्रयास गर्नुपर्छ । साथै उनीहरुको बौद्धिक विकासलाई ध्यानमा राख्दै केही बाल उपयोगी कार्यक्रम छनोट गरेर आफ्नै निगरानीमा कार्यक्रममा सक्रिय गराउनुपर्छ ।

    ४. हरेक क्रियाकलापमा सहभागी हुने

    बालबालिकाको हरेक क्रियाकलापमा अभिभावकको साथ, सहयोग र सहभागिताको बाल विकासमा महत्वपूर्ण भूमिका हुन्छ । एक अध्ययनका अनुसार अभिभावकको कम हेरचाह पाएका बालबालिकाहरुले अन्यको तुलनामा आफ्ना साथीहरुसँग खेल्न तथा घुलमिल हुन भन्दा टिभी तथा भिडियो गेममा बढी रुचि राख्ने गरेको पाइएको छ । अभिभावकले उनीहरुको हरेक क्रियाकलापमा सहभागी भएर उनीहरुमा बाहिर खेल्ने, इन्टरनेटमा समय बिताउने, पढ्नेलेख्ने लगायत सम्पूर्ण कार्यमा सन्तुलन कायम राख्नुपर्छ । यसैगरी उनीहरुलाई राम्रो कामको लागि प्रोत्साहन गर्ने साथै अभिभावक आफै पनि उनीहरुका लागि उदाहरणीय बन्नु पर्छ ।

    घरका सदस्य सबैले पौष्टिक आहार, शारीरिक क्रियाकलाप, सिर्जनात्मक कार्यमा ध्यान दिने हो भने बच्चामा पनि त्यही बानीको विकास हुन्छ । सन्तुलित आहार तथा नियमित शारीरिक क्रियाकलाप नै बालबालिकाको समग्र विकासको आधार हो । यसका लागि अभिभावकले उनीहरुको आहार तथा क्रियाकलापलाई ध्यानमा राखेर त्यहि अनुसारको वातावरण निर्माण गरिदिनु पर्छ ।

    (एजेन्सीको सहयोगमा)

    यसमा तपाइको मत

    Facebook Comment