‘उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक’

अनलाइनसमय |
६ असोज २०८१
‘उद्यमशीलताका लागि कर्जा सुरक्षण अत्यावश्यक’

काठमाडौं, ६ असोज । उद्यमशीलता तथा रोजगारी वृद्धिका लागि कर्जा सुरक्षण अत्यावश्यक रहेको विज्ञहरूले बताएका छन् । शुक्रबारदेखि सुरु भएको एसियाली सुरक्षण संस्था (एसिक) को ३६ औँ सम्मेलनको दोस्रो दिन शनिबार वक्ताहरूले नवप्रवर्तन र उद्यमशीलता विकासमा कर्जा सुरक्षण महत्वपूर्ण हुने धारणा राखेका हुन् ।

दोस्रो दिनको उद्घाटन सत्रमा प्रधानमन्त्रीका मुख्य आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा निकै कम १८ प्रतिशतले मात्र बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिने गरेको जानकारी दिए ।

बैङ्क तथा वित्तीय संस्थाले महिलालाई कर्जा प्रवाह गर्दा प्रतिफलको दर उच्च हुने उनको धारणा थियो । महिलाहरूमा धितो राख्ने सम्पत्ति कम हुने गरेकाले ऋण लिएर काम गर्ने अवस्था नभएको उनको भनाइ छ । समृद्ध राष्ट्र बन्नका लागि महिलासहित सुविधाबाट वञ्चित समुदायसम्मका समाजका सबै वर्गमा कर्जाको पहुँच सहज बनाउनुपर्ने उनको सुझाव छ ।

सम्मेलनमा नवप्रवर्तनमा लगानी ः कर्जा सुरक्षण संस्थाको भूमिका विषयक सत्रका सहभागीले नवप्रवर्तन र उद्यमशीलतामा कर्जा सुरक्षणको आवश्यकतासहित आफ्नो देशको अभ्यास र अनुभव आदानप्रदान गरेका थिए ।

कोरिया कर्जा सुरक्षण कोष (कोडिट) अध्यक्षका नीति सल्लाहकार जुङ्गिन योनले कोडिटले नयाँ सोच र योजना भएका तर वित्तीय रूपमा अप्ठ्यारोमा परेका उद्यमीमा लगानी गरेको बताए ।

मलेसियाली क्रेडिट ग्यारेन्टी कर्पोरेसन (सिजिसी) का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मोहम्मद इसकले मलेसियाका साना तथा मझौला उद्योग (एसएमई) मध्ये एक तिहाइलाई सिजिसीले सहयोग गरिरहेको जानकारी दिए ।

फिलिफिन्सको कर्जा सुरक्षण निकाय फिलिपिन ग्यारेन्टी कर्पोरेसन (पिजिसी) का वरिष्ठ उपाध्यक्ष सेल्सो गुटिअरेजले फिलिपिन्सको नवप्रवर्तनसम्बन्धी कानुन र कार्यक्रमहरूले साना उद्योगीको विकासलाई निरन्तरता दिन सहयोग गर्दै आएको जानकारी दिए ।

सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा एसियाका १६ देशका सुरक्षण निकायको उपस्थिति छ । नेपालले ३० वर्षपछि यो सम्मेलन आयोजना गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस