• ताजा समाचार, स्वास्थ्य, स्वास्थ्य/जीवनशैली

    चिसो पानीले नुहाउनु स्वास्थ्यको लागि राम्रो हो ?

     166 Views
    चिसो पानीले नुहाउनु स्वास्थ्यको लागि राम्रो हो ?

    अस्मिता सापकोटा

    काठमाडौं, ४ असोज । नुहाउनु मानिसको दिनचर्याको एउटा महत्वपूर्ण कर्म हो । स्वास्थ्यसँग पनि सम्बन्धित भएकाले धेरै मानिस प्रायः दैनिक नै नुहाउँछन् । हिन्दु धर्मशास्त्रीय मान्यता अनुसार पनि दैनिक बिहान घाम नझुल्किँदै नुहाउनुलाई उत्तम मानिन्छ । साथै परापूर्व कालदेखि नै सबेरै उठेर खोला, तलाउ वा कुवामा स्नान गर्ने परम्परा चलिआएको पनि छ । यद्यपि अहिलेको समयमा यो सधैं र सबैका लागि सम्भव हुँदैन ।

    जाडो महिनामा नुहाउन हामी तातोपानीकै भर पर्छौं । तर केही अध्ययनकर्ताहरु चिसो पानीमा नुहाउँदा हृदय स्वास्थ्यमा सुधार हुनुका साथै तनाव व्यवस्थापनमा समेत मद्दत पुग्ने बताउँछन् । यसलाई क्रायोथेरापीको रूपमा प्रयोग गर्न सकिने केही अध्ययनहरुले देखाएका छन् । यस्तो थेरापी बरफ, पानी वा हावामार्फत पनि गर्न सकिन्छ ।

    मानिसहरूले स्वास्थ्य लाभको लागि चिसो पानी प्रयोग गर्ने गरेको लामो इतिहास छ । १९औँ शताब्दीको सुरुवातबाटै उपचारमा पनि चिसो पानीको प्रयोग भएको पाइन्छ । डाक्टरहरूले आवेग नियन्त्रणमा राख्न शरणार्थी तथा जेलका कैदीहरूमा यसको प्रयोग गरेको पाइन्छ । साथै यसको प्रयोग प्राचीन ग्रीसमा पनि हुने गरेको केही अध्ययनले देखाएको छ ।

    उपचारमा धेरै अघिदेखि नै चिसो पानीको प्रयोग विधिको सुरुवात भए तापनि यस सम्बन्धी अध्ययनहरु भने कम नै देखिन्छन् ।

    चिसो पानीसम्बन्धी थेरापीका बारेमा अहिलेसम्म लगभग १०० ओटा मात्र अध्ययन भएको ड्यूक विश्वविद्यालयको अर्थोपेडिक सर्जरी विभागका एसोसिएट प्राध्यापक डा. कोरी साइमन बताउँछन् । साथै भएका अध्ययन पनि विधिसम्मत नभएको उनको भनाइ छ । यद्यपि धेरै विज्ञहरूसँग चिसो पानीले कसरी स्वास्थ्य सुधार गर्न सक्छ भन्ने वैज्ञानिक प्रमाणहरू भएको उनले उल्लेख गरेका छन् ।

    सन् २०२२ मा प्रकाशित करेन्ट साइकोलोजी जर्नलले दैनिक एक मिनेटसम्म दुई हप्ता १० डिग्री सेल्सियसदेखि १४ डिग्री सेल्सियस तापक्रम भएको पानीमा नुहाउने मानिसहरूले अन्यको तुलनामा कम तनाव अनुभव गर्ने देखाएको छ । श्वासप्रश्वास सम्बन्धी व्यायाम गरेपछि चिसो पानीले नुहाउनु थप प्रभावकारी हुने उक्त जर्नलमा उल्लेख छ ।

    साथै चिसो पानीले मानसिक सतर्कतामा सुधार ल्याउन सक्ने जर्जियाकी एक व्यायाम फिजियोलोजिस्ट डा. रेचेल रीडको पनि अनुभव छ । यद्यपि हृदय रोग, रक्तसंचार समस्या, मधुमेह जस्ता रोग भएका मानिसहरूले डाक्टरको सल्लाहविना चिसो पानीले नुहाउन नहुने विज्ञहरूको भनाइ छ । गर्भवती भएका, भर्खरै शल्यक्रिया गरेका वा मदिरा वा लागूऔषधको प्रभावमा परेका मानिसहरूले पनि डाक्टरको सल्लाहविना चिसो पानीले नुहाउन नहुने रिड बताउँछिन् ।

    यसैगरी चिसो पानीले प्रतिरक्षा प्रणालीलाई पनि मजबुत बनाउने केही अध्ययनले देखाएका छन् । २०१६ को एक अध्ययनले ३० देखि ९० सेकेन्ड चिसो पानीले नुहाउने व्यक्तिहरू अन्यको तुलनामा बिरामीको कारण काममा जान नसक्ने अवस्थामा २९% ले कमी आएको देखाएको छ । साथै चिसो पानीमा नुहाउँदा कम बिरामी हुने अन्य अध्ययनहरुले समेत देखाएका छन् ।

    अध्ययनहरूमा ५० डिग्री फरेनहाइटदेखि ६० डिग्री फरेनहाइट (१० डिग्री सेल्सियसदेखि १५.५ डिग्री सेल्सियस)को पानीलाई चिसो पानीको रुपमा परिभाषित गरिएको छ । तर यही नै अनिवार्य हुनुपर्छ भन्ने हुँदैन । थर्मोमिटरले ननापी पनि आफ्नै अनुकूलता अनुसारको चिसो पानी उपयोग गर्न सकिने साइमनको भनाइ छ । चिसो पानीले नुहाउने प्रयास गर्न चाहनेले विस्तारै तापक्रमको मात्रा मिलाएर आफूलाई अभ्यस्त गर्नुपर्ने उनी सुझाउँछन् ।

    साइमन र रीड दुवै नै चिसो पानीले नुहाउनु समग्र स्वास्थ्य सुधार गर्ने एक निश्चित तरिका हो भन्न सक्दैनन् । तर तनावपूर्ण संसारमा यस्तोे अभ्यास मानसिक तथा शारीरिक स्वास्थ्यको लागि राम्रो हुन सक्ने उनीहरुको भनाइ छ ।

    (एजेन्सीको सहयोगमा)

     

    यसमा तपाइको मत

    Facebook Comment