कत्तिको सुरक्षित हुन्छ सनस्क्रिनको प्रयोग ?

अनलाइनसमय |
२८ भदौ २०८१
कत्तिको सुरक्षित हुन्छ सनस्क्रिनको प्रयोग ?

अस्मिता सापकोटा
काठमाडौं, २८ भदौ । जलवायु परिवर्तन अहिलेको मुख्य समस्याको रुपमा देखा परिरहेको छ । हरित ग्यासहरुको उत्पादनका कारण पृथ्वीलाई सुरक्षित गर्ने ओजोन तह क्रमस पातलिँदै गएको छ । यसको असरले पृथ्वीमा तापक्रम बढ्नुका साथै मानिसमा विभिन्न छालाजन्य रोगको संक्रमण अधिक हुन थालेको छ । यसैबीच, सनस्क्रिन क्रिमको प्रयोग पनि बढ्दो छ । अहिलेको समयमा यसको प्रयोग महत्वपूर्ण मानिन्छ । तर यसको प्रयोग गर्नुअघि यसले गर्ने फाइदाका साथै निम्त्याउन सक्ने असरहरुको बारेमा पनि सचेत हुनुपर्ने देखिन्छ ।

सनस्क्रिन विभिन्न रसायनहरूको प्रयोगबाट बनाइन्छ । बजारमा रासायनिक र खनिज गरी दुई प्रकारका सनस्क्रिनहरू देख्न पाइन्छ । रासायनिकले सूर्यबाट आएका विकिरणलाई सोस्छ र छालालाई जोगाउँछ भने खनिजले सूर्यको विकिरणहरूलाई प्रतिबिम्बित गर्दिन्छ र छालाभित्र छिर्न दिँदैन । रासायनिक सनस्क्रिनमा हुने ‘युभी फिल्टर’ले शरीरका कोशिकाहरुको ‘डिएनए’ क्षति हुनबाट जोगाउँछ ।

जर्मनीका जुडिथ सिरोके जस्ता छाला विशेषज्ञहरु पछिल्लो समयमा छालाको क्यान्सर बढ्दै गएको बताउँछन् । प्रायः छाला सम्बन्धी रोग बाहिर घाममा काम गर्ने र छालाको सुरक्षाका लागि केही प्रयोग नगर्ने मानिसहरुमा देखिएको उनीहरु बताउँछन् ।

उपचार नगरिएको छालाको क्यान्सरले बिरामीहरूको लागि विनाशकारी परिणामहरू निम्त्याउन सक्ने उनीहरुको भनाइ छ । अनुहारमा भएको निको नहुने घाउ वा ट्युमरले पछि गएर अनुहारको भागहरुलाई नै नष्ट गर्न सक्न सिरोके बताउँछन् । साथै उनी आफूले भने सधैँ सनस्क्रिन लगाउने गरेको खुलाउँछन् ।

अहिलेको समयमा सकेसम्म शरीर पूरै ढाक्ने कपडा लगाउन छाला विशेषज्ञहरू सुझाव दिन्छन् । साथै कपडाले नढाक्ने भागहरुमा सनस्क्रिन लगाउनाले छालालाई केही मात्रामा सुरक्षित राख्ने उनीहरु बताउँछन् ।

दिउँसोको मध्यघाममा बाहिर नजान र सूर्यका विकिरणहरुबाट बच्न छालारोग विशेषज्ञहरु सल्लाह दिन्छन् । साथै जानै परेमा सनस्क्रिन तथा कसिलो गरी बुनेको कपडा लगाउँदा सूर्यको विकिरणबाट बच्न सकिने उनीहरुको भनाइ छ ।

 

कस्ता सनस्क्रिन प्रयोग गर्ने ?

हामीले प्रयोग गर्ने सनस्क्रिन पानीको माध्यमबाट ढल हँुदै खोला र समुन्द्रसम्म पुग्न सक्छ । कतिपय यस्ता सामानमा प्रयोग गरिने अक्सिबेन्जोन र अक्टिनोक्सएट जस्ता रासायनले सामुद्रिक जीवहरुलाई हानी गर्ने केही अध्ययनले देखाएको छ । सन् २०१६ मा गरिएको एक अध्ययनले सामुद्रिक जीव कोरलको मृत्युको कारण अक्सिबेन्जोन भएको देखाएको छ । यस्ता रसायनले जेब्राफिस र स्रिम्प जस्ता अन्य सामुद्रिक जीवको भु्रण विकासमा समेत असर गर्ने र उनीहरुको अकालमै मृत्यु हुने अध्ययनहरूले पत्ता लगाएका छन् । यस्ता रासायन ‘फूड चेन’मा प्रवेश गर्न सक्ने र मानिसमा समेत नकारात्मक असर पु¥याउन सक्ने अध्ययनहरुले देखाउँछन् ।

नानो पार्टिकल्स नभएका जिंक अक्साइड र टाइटेनियम डाइअक्साइड भएको खनिज वा भौतिक सनस्क्रिन वातावरणको लागि सुरक्षित भएको यूएस फूड एन्ड ड्रग एड्मिनिस्ट्रेशनले प्रमाणित गरेको छ । यस्ता रासायन भएको सनस्क्रिन छालाको सतहमा रहन्छ र यसको रक्षा गर्छ । शरीरमा हानिकारक रासायनहरु नजाउन् भनेर चिन्तित हुनेहरुका लागि यस्ता सनस्क्रिन उत्तम भएको यूकेस्थित छाला अनुसन्धान केन्द्रका वरिष्ठ अनुसन्धानकर्ता मिको यामाडा बताउँछन् ।

कुनै पनि सनस्क्रिन प्रयोग गर्नु पहिला त्यसमा कस्ता रसायन छन् भन्ने कुरामा आफै सचेत हुनुपर्ने अनुसन्धानकर्ताहरुको भनाइ छ ।

(एजेन्सीको सहयोगमा)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *