काठमाडौं, २ साउन । एक वर्ष अवधिमा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता करिब ६२ अर्ब रुपैयाँ बराबरको आएको छ । उद्योग विभागका अनुसार गत आर्थिक वर्ष २०८०–८१ को अन्तिमसम्ममा ६१ अर्ब ९० करोड ४५ लाख वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यो अघिल्लो आर्थिक वर्ष २०७९–८० को तुलनामा ६२.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको १२ महिनामा यस्तो प्रबिद्धता ३८ अर्ब ४० करोड ७५ लाख लगानी प्रतिबद्धता गरिएको थियो ।
विभागका अनुसार गत आवको असारमा सबैभन्दा बढी लगानी प्रतिबद्धता आएको छ । सो महिना मात्रै १७ अर्ब ४८ करोड ४७ लाख बराबरको प्रतिबद्धता आएको छ ।
५ खर्ब नाघ्यो एफडिआई
हालसम्म नेपालमा वैदेशिक लगानी प्रतिबद्धता ५ खर्ब नाघेको छ । विभागका अनुसार गत आवको अन्तिमसम्ममा ५ खर्ब ११ अर्ब ८९ करोडभन्दा बढी लगानी प्रतिबद्धता आएको छ ।
४०७ उद्योगले पाए वैदेशिक लगानी प्रतिबद्धता, साना उद्योगमा लगानीकर्ताको आकर्षण
यस्तै विभागका अनुसार एक वर्ष अवधिमा साना ठूला गरी कुल ४०७ उद्योगका लागि प्रत्यक्ष वैदेशिक लगानीको प्रस्ताव गरिएको छ । असारमा मात्रै ४८ उद्योग स्वीकृत भएका छन् । सुरुदेखि हालसम्म ६ हजार २६७ उद्योगमा लगानी प्रतिबद्धता आएको छ ।
लगानी प्रतिबद्धता स्वीकृत पाएका उद्योगमध्ये लगानीकर्ताको आकर्षण सबैभन्दा बढी साना उद्योगमा देखिएको छ । पछिल्लो एक वर्षमा ४०७ उद्योगले लगानी स्वीकृत पाउँदा साना उद्योग मात्रै ३८६ छन् । आव २०८०–८१ को १२ महिनामा ६ वटा ठूला उद्योगले र १५ वटा मझौला उद्योगले लगानी स्वीकृत पाएका छन् ।
पर्यटन क्षेत्रमा सबैभन्दा बढी लगानी
क्षेत्रगत आधारमा वैदेशिक लगानीको आकर्षण सबैभन्दा बढी पर्यटन क्षेत्रमा देखिएको छ । विभागका अनुसार गत आवको एक वर्ष अवधिमा पर्यटन क्षेत्रमा १९७ एफडिआई स्वीकृत भएका छन् । सो अवधिमा सेवा क्षेत्रमा १ सय ३३ वटा एफडिआई स्वीकृत भएका छन् । त्यस्तै उत्पादन क्षेत्रमा ४६, सूचना प्रविधितर्फ ११, कृषि (एग्रो)तर्फ ८, पूर्वाधारतर्फ ६ र उर्जा तथा खनिज क्षेत्रतर्फ ३÷३ लगानी स्वीकृत भएका छन् ।
२२ हजारभन्दा बढीलाई रोजगार हुने अनुमान
गत आर्थिक वर्षमा वेदेशिक लगानी प्रतिबद्धतामा स्वीकृत भएका ४०७ उद्योग स्थापना भए २२ हजार भन्दा बढलिे रोजगारी पाउनेछन् । विभागका अनुसार सो अवधिमा २२ हजार ९४ जनाले रोजगारी पाउनेछन् । असार महिनामा मात्रै स्वीकृत भएका उद्योग स्थापना भएपश्चात् १ हजार ९ सय ४८ जनाले रोजगारी पाउने अनुमान छ ।
२२ सयभन्दा बढीले पाए बिजनेस भिसा
एक वर्ष अवधिमा बिजनेस भिसा २२ सयभन्दा बढीले बिजनेस भिसा पाएका छन् । विभागबाट आर्थिक वर्ष २०८०÷८१ को १२ महिनामा २ हजार २ सय २९ लगानीकर्ता बिजनेस भिसामार्फत वैदेशिक भ्रमणमा गएका छन् । सोही अवधिमा प्रतिनिधिमार्फत ४ सय ९ जनाले विजनेस भिसा पाएका छन् । डिपेन्डेन्टतर्फ १ हजार ७ जनालाई बिजनेस भिसा दिइएको विभागको तथ्याङ्कमा उल्लेख छ ।
करिब पोने ३ अर्ब रोयल्टी बाहिरियो
गत आर्थिक वर्षमा १२ महिनामा नेपालबाट करिब पौने ३ अर्ब रोयल्टी बाहिरिएको छ । विभागका अनुसार यस वर्ष २ अर्ब ७९ करोड रुपैयाँ रोयल्टी बाहिरिएको छ, जुन अघिल्लो आवको १२ महिनासम्मको तुलनामा १९.७२ प्रतिशतले बढी हो । गत आवको असारसम्ममा २ अर्ब ३३ करोड रोयल्टी बाहिरिएको थियो ।