आर्थिक वर्ष २०८०–८१ को बजेट: पूँजीगत खर्च ६३.४७% मात्रै, आम्दानी लक्ष्यको ७४%

अनलाइनसमय |
१ साउन २०८१
आर्थिक वर्ष २०८०–८१ को बजेट: पूँजीगत खर्च ६३.४७% मात्रै, आम्दानी लक्ष्यको ७४%

काठमाडौं, १ साउन । आज साउन १ गतेदेखि चालू आर्थिक वर्ष २०८१–८२ शुरु भएको छ । आर्थिक वर्ष २०८०–८१ वितिसक्दा सरकाले बजेट विनियोजित लक्ष्य अनुसारको खर्च गर्न सकेन ।

महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष (आव) २०८०–८१ को अन्तिम दिन अर्थात् असार ३१ गते)सम्ममा सरकारले पुँजीगत खर्च ६३.४७ प्रतिशत मात्रै गरेको छ । यस वर्ष सरकारले पूँजीगत खर्चतर्फ ३ खर्र्ब २ अर्ब ७ करोड रुपैयाँ बजेट विनियोजन गरिएकोमा वर्षको अन्तिम दिनसम्म्मा १ खर्ब ९१ अर्ब १ करोड मात्र खर्च गरेको छ ।

सरकारले गत आवको लागि छुट्याएको चालू खर्च समेत अपेक्षा अनुसार परिचालन गर्न सकेन । आर्थिक वर्ष २०८०–८१ को अन्तिम दिनसम्म सरकारले चालूतर्फ ९ खर्ब ५२ अर्ब ४१ करोड मात्रै खर्च ग¥यो । यस वर्षका लागि सरकारले चालू खर्चतर्फ कुल ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रुपैयाँ बजेट विनियोजन गरको थियो ।

यस्तै आवको असार ३१ सम्ममा वित्तीय व्यवस्थातर्फ २ खर्ब ६४ अर्ब ६३ करोड रुपैयाँ खर्च गरेको छ । अर्थात् यो रकम सरकारले यो वर्षका लागि वित्त व्यवस्थापनतर्फ लिएको वार्षिक लक्ष्यको ८६.०७ प्रतिशत मात्र हो ।

आव २०८०–८१ मा सरकारको कुल बजेट खर्च १४ खर्ब ८ अर्ब ७६ करोड रुपयाँ भएको छ, जुन सरकारले यस वर्षका लागि छुट्याएको वार्षिक लक्ष्यको ८३ दशमलव ४१ प्रतिशत मात्र हो । सो वर्षका लागि सरकारले कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाखको बजेट विनियोजन गरेको थियो ।

लक्ष्यको ७४.४४ प्रतिशत राजस्व संकलन, साढे ३ खर्ब बजेट घाटा

गत आर्थिक वर्षमा सरकारले लक्ष्य अनुसार राजस्व पनि संकलन गर्न सकेन । जसकारणले गर्दा सरकार गत आवमा साढे ३ खर्बको बजेट घाटमा छ । एक वर्ष अवधिभर १४ खर्ब ८ अर्ब ७६ करोड खर्च गरेको सरकारले १० खर्ब ५८ अर्ब ८९ करोड मात्र राजस्व संकलन गर्न सफल भयो । आव २०८०–८१ मा सरकार ३ खर्ब ४९ अर्ब ८ करोडको बजेट घाटामा छ ।

आर्थिक वर्ष २०८०–८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड राजसव संकलन गर्ने लक्ष्य राखेको थियो । तर, वार्षिक लक्ष्यको ७४.४४ प्रतिशत मात्र राजस्व संकलन गर्न सक्यो ।

गत आवमा सरकारले संकलित राजस्वमध्ये कर राजस्व लक्ष्यको ७२.३५ प्रतिशत संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आर्थिक वर्षका लागि सरकारले १३ खर्ब ५ अर्ब ४७ करोड ९६ लाखबराबर कर राजस्व उठाउने लक्ष्य राखेको थियो । तर, वर्षको अन्तिम दिनसम्ममा ९ खर्ब ४४ अर्ब ५५ लाख राजस्व संकलन गर्न सक्यो । त्यस्तै गैरकरतर्फ १ खर्ब १७ अर्ब ६ करोड २१ लाख उठाउने लक्ष्य राखिएकोमा १ खर्ब १४ अर्ब ३४ करोड १६ लाख बराबर मात्रै संकलन भएको छ । अर्थात् यो रकम वार्षिक लक्ष्यको ९७.६८ प्रतिशत हो ।

गत आर्थिक वर्षमा सरकारले वैदेशिक अनुदानतर्फ लिइएको लक्ष्यभन्दा निकै कम अनुदान लिएको छ । सरकारले आव २०८०८१ मा ११ अर्ब २२ करोड ६४ लाख अनुदान लिएको छ, जुन सरकारले सो वर्षका लािग लिइएको वार्षिक लक्ष्यको २२ दशमलव ४८ प्रतिशत मात्र हो । सरकारले गत आवमा ४९ अर्ब ९४ करोड ३० लाख वैदेशिक अनुदान लिने लक्ष्य राखेको थियो ।

चालू आवको बजेट कार्यान्वयनमा
चालू आर्थिक वर्ष २०८१–८२ को बजेट आजदेखि कार्यान्वयनमा आएको छ । चालू आवको लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट ल्याएको छ ।

यस वर्ष सरकारले चालूगत खर्चतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ बजेट छुट्याएको छ । यस्तै पूँजीगत खर्चतर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड र वित्त व्यवस्थापनतर्फ ३ खर्ब ६७ अर्ब १८ बजेट विनियोजन गरिएको छ ।

 

 

 

 

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

खोज्नुहोस