• ताजा समाचार, विज्ञान/प्रविधि

    विश्वको झण्डै दोब्बर पुग्यो चीनको वायु तथा सौर्य ऊर्जा क्षमता

     97 Views
    विश्वको झण्डै दोब्बर पुग्यो चीनको वायु तथा सौर्य ऊर्जा क्षमता

    अस्मिता सापकोटा

    काठमाडौँ, ३१ असार। अहिले जलवायु परिवर्तन, विश्व तापमान वृद्धि जस्ता समस्याको न्यूनीकरण विश्वकै लागि चुनौती बनिरहेको छ । त्यसमा पनि ठूला अर्थतन्त्र र औद्योगिक मुलुकहरूलाई यो झनै चिन्ताको विषय बनेको छ । साथै बढ्दो औद्योगिक तथा उपभोक्ता माग परिपूर्तिका लागि ऊर्जा दक्षता हासिल गर्नुपर्ने अवस्था छ । यस्तोमा विकसित अर्थतन्त्र र उदीयमान अर्थतन्त्र भएका मुलुक नवीकरणीय ऊर्जा उत्पादन तथा प्रयोगमा अग्रसर हुन थालेका छन् ।

    हालैका वर्षमा वायु ऊर्जा, सौर्य ऊर्जा जस्ता नवीकरणीय ऊर्जा क्षमता हासिल गर्नेमा चीन अग्रणी मुलुकको रूपमा देखिएको छ । विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको चीनले बाँकी विश्वको तुलनामा दुई गुणा बढी वायु तथा सौर्य ऊर्जा उत्पादन गरिरहेको एक नयाँ अध्ययनले देखाएको छ ।

    विश्वका ठूला वायु र सौर्य उर्जा उत्पादन प्लान्टमध्ये झण्डै दुई तिहाइ चीनमा नै भएको बिहीबार प्रकाशित एक अनुसन्धानले देखाएको हो ।

    ग्लोबल इनर्जी मनिटर (जिइएम)को रिपोर्ट अनुसार हाल चीनमा ३३९ गिगावाट (१ गिगावाट बराबर १० लाख मेगावाट हुन्छ) क्षमताको ऊर्जा परियोजना निर्माणाधीन छ । जसमा १५९ गिगावाट वायु ऊर्जा र १८० गिगावाट सौर्य ऊर्जा रहेको छ । यो बाँकी विश्वको तुलनामा झण्डै दोब्बर भएको अमेरिकामा रहेको एक थिंक ट्याङ्कको विश्लेषण छ ।

    ‘यस्तो ऊर्जा उत्पादनमा विश्वकै दोस्रो स्थानमा रहेको संयुक्त राज्य अमेरिकाले हाल जम्मा ४० गिगावाट मात्र सौर्य तथा वायु ऊर्जा परियोजना निर्माण गरिरहेकोमा चीनको उत्पादन धेरै हो,’ जिइएमको रिपोर्टमा भनिएको छ ।

    नवीकरणीय ऊर्जामा चीनको यो प्रगतिले सन् २०३० सम्ममा सो क्षमता तीन गुणा बढाउने विश्वव्यापी लक्ष्य थप जलविद्युत् उत्पादनविना नै हासिल गर्न सक्ने अध्ययनले जनाएको छ । साथै अध्ययनले पेचिङलाई आगामी वर्ष संयुक्त राष्ट्रसंघमा जलवायु प्रतिबद्धतामा आफ्ना लक्ष्यहरू उठाउन आग्रह पनि गरेको छ ।

    जलवायु परिवर्तनका प्रमुख कारक हरितगृह ग्यासको मुख्य उत्सर्जनकर्ता एसिया रहँदै आएको छ भने चीनको बढ्दो नवीकरणीय ऊर्जाले विद्युत् उत्पादनमा कोइलाको प्रयोग धेरै हदसम्म न्यूनीकरण गरेको छ ।

    सन् २०३० सम्ममा चीनको कार्बन उत्सर्जन चरम सीमामा पुग्ने, तर त्यसपछि यो क्रमशः घटाउँदै लगेर सन् २०६० सम्ममा शून्यमा झर्ने वाचा उसले गरेको छ । अहिलेको समयमा चीनको विशाल नवीकरणीय ऊर्जा उत्पादनका केही सीमितता छन् । जसले गर्दा देशको समग्र उर्जा माग सम्बोधन गर्न नवीकरणीय ऊर्जा मात्र पर्याप्त हुँदैन । त्यसकारण पनि चीन ऊर्जा तथा इन्धनका लागि कोइलामा निर्भर हुनुपरेको छ । यद्यपि यस वर्ष नै चीनको वायु तथा सौर्य ऊर्जा क्षमताले कोइलालाई उछिनेको जिइएमको रिपोर्टमा उल्लेख छ ।

    चीनमा कतिपय नवीकरणीय ऊर्जा स्रोत दुर्गम उत्तर पश्चिमी क्षेत्रहरूमा छन् । देशले यस्तो क्षेत्रमा उत्पादित उक्त ऊर्जालाई पूर्वका प्रमुख आर्थिक तथा बढी जनसंख्या भएका क्षेत्रहरूमा प्रसारणका लागि आवश्यक व्यवस्था पनि गरिरहेको छ ।

    यसैगरी मे २०२३ मा चीनले कोइलाको प्रयोगबाट ६०% बिजुली निकालेकोमा यस वर्षको सोही महिना उक्त स्रोतबाट ५३% मात्र उत्पादन ग¥यो । जुन अहिलेसम्मकै कम भएको कार्बन ब्रीफले बिहीबार प्रकाशन गरेको विश्लेषणले देखाएको छ ।

    चीनको यस वर्षको ४४% ऊर्जाको स्रोत गैर–जीवाश्म इन्धन हो । यो शृंखला बढ्दै गएमा गतवर्षको कार्बन उत्सर्जन नै हालसम्मको उच्च हुने र त्यसबाट घट्दै जाने एसिया सोसाइटी पोलिसी इन्स्टिच्युटकी लौरी माइलीभिर्टाले औंंल्याइन् । यसले चीन कार्बन उत्सर्जनको न्यूनीकरणमा सक्रिय रहेको पुष्टि हुन्छ ।

    (जर्मन मिडिया डिडब्लुको सहयोगमा)

     

    यसमा तपाइको मत

    Facebook Comment