काठमाडौं, २७ असार । चालू आर्थिक वर्ष (आव) २०८०–८१ को ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा करिब साढे २ खर्ब कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालू आवको जेठसम्ममा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा २ खर्ब ४६ अर्ब ८० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ, जुन गत आवको जेठसम्मको तुलनामा ६३ दशमलव ७६ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा यस्तो कर्जा १ खर्ब ५७ अर्ब ३६ करोड प्रवाह भएको थियो ।
यस्तै वार्षिक बिन्दुगत आधारमा २०८१ जेठ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.१ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार चालू आवको ११ महिनामा सबैभन्दा बढी घर जग्गा धितो सुरक्षणमा कर्जा प्रवाह भएको छ । जेठसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये घर जग्गा धितो सुरक्षणमा मात्रै ६८.५ प्रतिशत कर्जा प्रवाह भएको छ, जुन गत आवको जेठसम्मको तुलनामा ०.५ प्रतिशत विन्दुले बढी हो । गत आवको सोही अवधिमा यस्तो कर्जा ६८.० प्रतिशत रहेको थियो ।
चालू आवको जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणको रुपमा १२.० प्रतिशत कर्जा प्रवाह भएको छ । गत आवको जेठमा यस्तो कर्जाको अंश ११.६ प्रतिशत थियो ।
चालू आवको ११ महिनामा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ ६३.५ प्रतिशत कर्जा प्रवाह भएको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ ३६.५ प्रतिशत कर्जा प्रवाह भएको छ ।
सोही अवधिमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फ प्रवाह भएको कर्जा ०.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको ७.९, निर्माण क्षेत्रतर्फको ९.७, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको १३.७, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको २.८, सेवा उद्योग क्षेत्रतर्फको ५.२ र उपभोग्य क्षेत्रतर्फको कर्जा ६.५ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह ५.२ प्रतिशतले, विकास बैंकहरुको ४.३ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.७ प्रतिशतले बढेको छ ।
यस्तै चालू आवको जेठसम्ममा आवधिक कर्जा १९.६ प्रतिशतले, नगद प्रवाह कर्जा २३.६ प्रतिशतले, रियल स्टेट कर्जा ८.० प्रतिशतले, मार्जिन प्रकृतिको कर्जा १४.२ प्रतिशतलेर ट्रष्ट रिसिट (आयात) कर्जा ७.२ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ४३.४ प्रतिशतले र हायर पर्चेज कर्जा २१.२ प्रतिशतले घटेको छ ।