अस्मिता सापकोटा
काठमाडौँ, २५ असार । लगानी बैंकिङ फर्म जेफरिजका विश्लेषकहरूले गत फेबु्रअरीमा प्रकाशित गरेको टिप्पणी अनुसार भारतले जापान र जर्मनीलाई उछिनेर सन् २०२७ सम्ममा आफूलाई विश्वको तेस्रो ठूलो अर्थतन्त्रको रूपमा उभ्याउने अनुमान गरिएको छ ।
एक दशक अघि भारत विश्वको नवौं ठूलो अर्थतन्त्रको स्थानमा थियो । हालैको तथ्याङ्कले ३.७ ट्रिलियन अमेरिकी डलर कुल गार्हस्थ्य उत्पादन (जिडिपी)का साथ पाँचौं स्थानमा पुगेको देखाएको छ । साथै जेफरिजले आगामी चार वर्षभित्र यसको जिडिपी ५ ट्रिलियन डलर पुग्ने प्रक्षेपण गरेको छ । यसैगरी एस एन्ड पी ग्लोबल मार्केट इन्टेलिजेन्सले पनि भारत जापानलाई उछिनेर सन् २०३० सम्ममा ७.३ ट्रिलियन डलरको जीडीपीसहित विश्वको तेस्रो ठूलो अर्थतन्त्र बन्ने सम्भावना रहेको बताएको छ ।
कतिपय विज्ञहरू भारतको अर्थतन्त्रको वृद्धिका प्रमुख कारक प्रधानमन्त्री नरेन्द्र मोदीले नेतृत्व सम्हाल्नु बताउँछन् । साथै द इकोनोमिस्टले उनलाई ‘विश्वको सबैभन्दा लोकप्रिय नेता’ भनेर समेत रिपोर्ट गरेको छ । यद्यपि भारतीय कांग्रेस पार्टीका अनुसार जोसुकैले सरकार बनाए पनि यस दशकमा भारत विश्वको तेस्रो ठूलो अर्थतन्त्रको रूपमा उदय हुने लामो समयदेखि भविष्यवाणी गरिएको बताइएको छ ।
प्रधानमन्त्री मोदीले ल्याएका सुधारका कार्यक्रमहरूले भारतको आर्थिक वातावरणलाई मौलिक रूपमा परिवर्तन गरेको, यसको स्थिरता बढाएको र अन्तरराष्ट्रिय लगानीकर्तालाई अपिल गरेकाले नै अर्थतन्त्रमा थप सुधार भएको कतिपयको बुझाइ छ । यी सुधारमध्येको वस्तु तथा सेवा कर (जीएसटी)ले देशको कर प्रणालीलाई एकीकृत गर्न र राष्ट्रव्यापी व्यापार सञ्चालनलाई सरल बनाएको देखिन्छ ।
भारतीय सरकारले वैदेशीक लगानी बढाउन गरेको पहलले पनि यो निष्कर्षमा पुग्न सम्भव छ कि बहुराष्ट्रिय निगमहरूले निकट भविष्यमा टेक्नोलोजी, उत्पादन र सेवाहरू जस्ता भारतको विस्तारित क्षेत्रहरूमा लगानी गरेर आफ्ना कार्यहरू विस्तार गर्न सक्छन् । यसले भू–आर्थिक परिदृश्यलाई परिवर्तन गर्न सक्ने र भारतलाई औद्योगिक विकासको नयाँ केन्द्रको रूपमा स्थापित गर्न सहयोग पुर्याउने कूटनीतिज्ञहरुको भनाइ छ । साथै भारतले अन्तरराष्ट्रिय मुलुकसँग बढाउँदै लगेको कूटनीतिक सम्बन्धले पनि घनिष्ठ आर्थिक सम्बन्धलाई बढावा दिएको र व्यापार सम्झौताहरू बढाउने कार्यमा सघाउ पुगेको देखिन्छ, जसले विश्वमाझ अर्थतन्त्र अझ बलियो बनाउन मद्दत गर्ने देखिन्छ ।
गोवा इन्स्टिच्युट अफ म्यानेजमेन्टका निर्देशक अजित पारुलेकर र इन्डियन एकेडेमी अफ म्यानेजमेन्टका निर्वाचित अध्यक्ष विजय परेराले सेप्टेम्बर २०१४ मा सुरु गरिएको ‘मेक इन इन्डिया पहल १.०’ लगानी उत्प्रेरित गर्न, नवप्रवर्तनलाई अगाडि बढाउन, सीपहरू विकास गर्न र उन्नत निर्माण पूर्वाधार स्थापना गर्न महत्वपूर्ण भएको दाबी गरेका छन् । साथै लगानीमैत्री वातावरण, पूर्वाधारको आधुनिकीकरण र विदेशी प्रत्यक्ष लगानी (एफडीआई)का लागि नयाँ क्षेत्रहरू खोल्ने लक्ष्य राखेको अर्को पहल ‘मेक इन इन्डिया २.०’ ले अगाडिका कार्यबाट पाठ सिक्नुपर्ने उनीहरूको भनाइ छ ।
(एजेन्सीको सहयोगमा )