अस्मिता सापकोटा
काठमाडौँ, २४ असार। प्लास्टिक तथा यसका उत्पादन हाम्रो दिनचर्यासँग अभिन्न रूपमा जोडिएका छन् । हामीले प्रयोग गर्ने कपडादेखि खाने र पकाउने भाँडासम्ममा यसको प्रयोग हुन्छ । पुरानो भएपछि यो भाँचिन्छ या च्यातिन्छ । हामी त्यसलाई आगोमा बालिन्दिछौं या फोहोरको रूपमा फालिदिन्छौं । तर त्यसरी डढाइएको वा फालिएको प्लास्टिक कता जान्छ भन्ने हामीमध्ये धेरैले सोचेका समेत हुँदैनौं । हालै गरिएको एक सर्वेक्षणले हामीले प्रयोग गरेर फालेको प्लास्टिकका टुक्रा हामीभित्रै प्रवेश गरिसकेको देखाएको छ ।
माइक्रोप्लास्टिक १० माइक्रोमिटरभन्दा साना हुन्छन् । धेरै समय अघिदेखि वैज्ञानिकहरू यिनै माइक्रोप्लास्टिकको खोजीमा थिए । उनीहरूको खोजले माइक्रोप्लास्टिकहरू हावामा जताततै तैरिरहने गरेको देखाएको छ । अध्ययनका अनुसार पहिलोपटक यस्तो प्लास्टिक समुन्द्रको पिँधमा भेटियो । क्रमशः पेयपदार्थ, पिउने पानी हुँदै फलफूल तथा तरकारीमा पनि पाइएको छ ।
हामीले प्रयोग गर्ने अधिकांश कपडा पनि प्लास्टिकका मसिना कणबाटै बनेका हुन्छन्, जुन पुराना हँुदै जाँदा माइक्रोप्लास्टिकको स्रोत बन्छन् । एक अनुसन्धानले बताए अनुसार वर्षमा मानिसले करिब ७४ हजारदेखि १२१ हजार यस्ता कण निलिरहेको हुन्छ । वैज्ञानिकहरुले यसले शरीरलाई कसरी र कति मात्रामा हानि गर्छ भन्ने यकिन गरिसकेका छैनन् । तर पहिलेको तुलनामा हाम्रो शरीरमा यसको मात्रा बढ्दै जानु राम्रो संकेत भने पक्कै होइन । यसले हाम्रो शरीरका मुख्य अंगहरूमा प्रवेश गरिसकेको केही अनुसन्धानले देखाएको छ ।
प्लास्टिक बनाउन १० हजारभन्दा बढी रसायनको प्रयोग गरिन्छ । जसमध्ये २४ सयभन्दा बढी रसायन हानिकारक हुन सक्ने अनुमान छ । यी रसायनले शरीरका विभिन्न अंगमा पुगेर तिनको कार्यशैली तथा क्षमतामा ह्रास पुर्याउन सक्ने सम्भावना हुन्छ । प्लास्टिक उत्पादनको वृद्धिसँगै यसले मानिसको शरीरलाई पु¥याउने नकारात्मक असर बढ्दै जान्छ । यो अरू वस्तु जस्तो कुहिँदैन, बरु स–साना टुक्रामा परिणत हँुदै जान्छ र माइक्रो प्लास्टिक बन्छ ।
सन् १९५० देखि उत्पादन भएका प्लास्टिकमध्ये करिब १० प्रतिशत मात्रै पुनः प्रयोग गरिएको एक अध्ययनले बताउँछ । बाँकी जमिन, ताल, खोला, समुन्द्र आदिमा थुप्रिएका छन् । यीमध्ये केही हामीले सास फेर्दा फोक्सो हँुदै तन्तुमा पुग्छन् र हाम्रो स्वास्थ्यलाई नकारात्मक असर पु¥याउँछन् । यस्ता प्लास्टिक पाठेघर, कलेजो लगायत आमाको दूूधमा समेत भेटिइसकेको वैज्ञानिकहरू बताउँछन् । म्याक्रोफेज (प्रतिरक्षा कोशिका)हरु शरीरमा पुगेका प्लास्टिकसँग लड्न खोज्छन् । तर माइक्रो प्लास्टिकलाई हराउन नसक्दा आफै मर्छन् । यस्तोमा शरीरले पनि यस्ता प्लास्टिकसित लड्न नसक्ने देखिन्छ ।
इटालीमा गरिएको एक सर्वेक्षण अनुसार आर्टरी (मुटुदेखि अन्य अंगहरुमा रगत पुर्याउने एक प्रकारको नली)मा यसको मात्रा भएका व्यक्तिहरूलाई हृदयाघात, स्ट्रोक जस्ता कारणले मृत्यु हुने सम्भावना बढी हुन्छ । त्यस्तै अर्को रिपोर्टले आन्द्रा सूजन हुने रोग भएका मानिसको दिसामा पनि यसको मात्रा बढी भएको पत्ता लगाएको छ ।
माइक्रो प्लास्टिक र रोगहरुबीचको प्रत्यक्ष सम्बन्ध बारेको अनुसन्धान अझै पर्याप्त नभएको अनुसन्धानकर्ताहरुको भनाइ छ । यद्यपि केही क्यान्सर कोशिकाहरू माइक्रोप्लास्टिकको सम्पर्कमा आएपछि द्रुत दरमा फैलिने एक अध्ययनले देखाएको छ ।
मानिसहरु दैनिक धेरै रसायनको सम्पर्कमा आउने भएकाले पनि, यसले पार्ने प्रत्यक्ष प्रभावको बारेमा स्पष्ट हुन गाह्रो भएको अनुसन्धानकर्ता बताउँछन् । उनीहरूले अझै पनि केही अंगहरूमा यसको मात्रा कति लामो समयसम्म रहन्छ भन्ने बुझ्न बाँकी नै रहेको बताएका छन् ।
माइक्रो प्लास्टिक जस्तै अर्को चिन्ताको बिषय हो नानोप्लास्टिक । वैज्ञानिकहरू यसको बारेमा सबैभन्दा चिन्तित छन् । यो प्लास्टिक माइक्रो प्लास्टिकभन्दा अझ धेरै सानो आकारको हुन्छ । यसले फोक्सोको समस्या, हृदय रोग र अकाल मृत्यु निम्त्याउने सम्भावना भएको विभिन्न अनुसन्धानले देखाएको छ । भर्खरै गरिएको एक अध्ययनले पानीको बोतलमा अनुमान गरेकोभन्दा १०० देखि १,००० गुणा नानोप्लास्टिकको टुक्रा रहेको पत्ता लगाएको छ ।
(एजेन्सीको सहयोगमा)