• ताजा समाचार, स्वास्थ्य/जीवनशैली

    यस्ता ‘लाइफ स्किल’, जुन जीवनमा अत्यावश्यक छ

     127 Views
    यस्ता ‘लाइफ स्किल’, जुन जीवनमा अत्यावश्यक छ

    अस्मिता सापकोटा

    काठमाडौँ, २४ असार । मानिसमा स्वाभाविक रूपमा केही गुण अवगुण हुन्छन् । आफूमा भएका गुणहरूमध्ये जीवन उपयोगी गुण के हुन् र अनुपयोगी के के हुन् भन्ने थाहा पाउँदा कस्ता गुणलाई अझ स्तरीय बनाउने भन्ने निक्र्योल गर्न सकिन्छ । आवश्यकता अनुसार आफूलाई चाहिने लाइफ स्किल सजिलै सिक्न र सुधार्न सकिन्छ । यसले आत्मविश्वास बढाउनुका साथै भविष्यमा आइपर्ने समस्याको समाधान गर्न समेत सघाउँछ । जीवनमा सफल हुन अत्यावश्यक केही लाइफ स्किलबारे चर्चा गरिएको छ :

    १. रचनात्मक सोच

    रचनात्मक सोच भनेको अरुले भन्दा बेग्लै तरिकाबाट, अरुलाई प्रभावित बनाउन सक्ने गरी सोच्नु हो । यस्तो लाइफ स्किल रचनात्मक कार्यहरू, जस्तै– लेखन, डिजिटल मार्केटिङ, भिडियो, अडियो बनाउने, ग्राफिक डिजाइनिङ आदिजस्ता पेशामा आबद्घ हुन अत्यावश्यक हुन्छ ।

    २. आलोचनात्मक सोचाइ

    आलोचनात्मक सोच भनेको कुनै जानकारी वा अनुभवहरूलाई सूक्ष्म रूपमा विश्लेषण गर्न सक्ने क्षमता हो । यसले समस्या पहिचान र मूल्यांकन गर्न मद्दत गर्छ । साथै यसले व्यक्तिगत विकास र वृद्धिमा पनि योगदान दिन सक्छ ।

    ३. निर्णय लिने क्षमता

    जीवनका हरेक पलहरुमा निर्णय लिनु पर्ने हुन्छ । सही समयमा सही निर्णय लिन सकेन भने मानिसले जीवनमा प्रगति गर्ने सक्दैन । कतिपय मानिस गलत निर्णयको कारण जीवनमा सफल हुन सक्दैनन् । कस्तो बेला कुन निर्णय लिइयो भन्ने कुराले नै जीवन निर्धारण गर्छ ।

    ४. समानुभूति

    समानुभूति भनेको अरूको आवश्यकता, चाहना र भावना बुझ्न सक्ने क्षमता हो । सम्बन्धमा यसले ठूलो भूमिका निर्वाह गर्छ । चाहे व्यक्तिगत सम्बन्ध होस् या पेशागत सम्बन्ध, समानुभूतिविना सम्बन्ध एकतर्फी हुन्छ । कुनै पनि पेशामा अगाडि बढ्न त्यो पेशा सम्बन्धी व्यक्तिहरुबीच समानुभूति हुन आवश्यक हुन्छ ।

    ५.सञ्चार क्षमता

    सञ्चार क्षमता भनेको आप्mना कुरा सबैमाझ पुर्‍याउन सक्नु र सबैलाई बुझाउन सक्नु हो । हामीले बोलेको कुरा अरुले बुझ्दैन भने त्यो सञ्चार हुदैन । आफ्नो कुरा अरुलाई बुझाउनु र अरुको कुरा पनि आफूले बुझ्नु नै कुशल सञ्चार हो । यसले हामीलाई हाम्रा विचार र इच्छाहरू मौखिक र गैर–मौखिक रूपमा व्यक्त गर्न मद्दत गर्दछ । कुशलतापूर्वक सञ्चार गर्ने क्षमता जीवनको सबै क्षेत्रमा महत्वपूर्ण हुन्छ ।

    ६. तनाव व्यवस्थापन

    अहिलेको समयमा सबैभन्दा ठूलो चुनौति हो तनाव व्यवस्थापन । यसको लागि स्वास्थ्य जीवनशैलीको आवश्यकता हुन्छ । तनाव भएका मानिसलाई कुनै पनि कार्य कुशलतापूर्वक सम्पन्न गर्न कठिन हुन्छ । अहिले प्रतिस्पर्धाको समय हो, यस्तोमा तनाव हुन्छ नै, तर यसलाई प्रभावकारी ढंगले व्यवस्थापन गर्न सक्नु पर्छ । सफल जीवनका लागि तनाव व्यवस्थापन महत्वपूर्ण हुन्छ ।

    ७. भावनात्मक रूपमा सबल

    भावनात्मक रूपमा सबल हुनु भनेको सकारात्मक सोचको विकास गर्नु, पेशागत सम्बन्ध र व्यक्तिगत सम्बन्धको महत्व बुझेर त्यही अनुसारको व्यवहार गर्न जान्नु हो । कमजोर भावनात्मक अवस्थाले मानसिक स्वास्थ्य समस्याहरू निम्त्याउन सक्छ । साथै यसले हाम्रो सम्बन्धलाई नकारात्मक असर पार्न सक्छ । कतिपय मानिसले पेशालाई पेशाको रूपमा मात्र नहेरी भावनात्मक रूपले कामको खास जिम्मेवारीका अतिरिक्त बफादारी देखाउँदा वा अतिरिक्त योगदान दिँदा पनि कालान्तरमा त्यसले मानसिक रूपमा असर पार्न सक्छ ।

    ८. समस्या समाधान गर्ने क्षमता

    यो लाइफ स्किलले जीवनमा भएका समस्यालाई छिटो र प्रभावकारी रूपमा समाधान गर्न मद्दत गर्छ । साथै समस्याको पहिचान गर्न, विश्लेषण गर्न र सही समाधानको उपाय अपनाउन सिकाउँछ । केही नसुल्झेका समस्याहरूले मानसिक तनाव निम्त्याउन सक्ने सम्भावना हुन्छ । त्यसैले यो लाइफ स्किल आवश्यक हुन्छ ।

    ९. आत्म–जागरुकता

    आत्म–जागरुकता हुनु अत्यावश्यक हुन्छ । यसले आत्म–विश्लेषण गर्न सघाउँछ । जसले गर्दा आफ्नो शक्ति र कमजोरी दुवै पत्ता लगाउन सकिन्छ । मानिसले आफूलाई चिन्नु भनेको केही हदसम्म जीवनको उद्देश्य पहिल्याउनु हो । यसले आफू कुन कार्य गर्दा सफल हुन सक्छु र आफ्नो उद्देश्य पूर्ति हुन्छ भन्ने थाहा पाउन सघाउँछ ।

    १०. समय व्यवस्थापन क्षमता

    यो लाइफ स्किलले जीवनको हरेक पक्षमा मद्दत गर्दछ । हरेक कार्य समयमै सम्पन्न गर्न सक्नु जीवनको असल पाटो हो । सही समयमा सही कार्य गर्नु सफल जीवनका लागि आवश्यक एक खुबी हो । यो स्किलले आफ्नो उत्पादनशीलता बढाउन, लक्ष्य तोक्न र कार्य व्यवस्थित गर्न सहयोग पुर्‍याउछ । कुन कार्यलाई कति समय दिने भन्ने कुराले पनि त्यसको महत्व र उपलब्धि कति हुन्छ भन्ने थाहा हुन्छ ।

    (एजेन्सीको सहयोगमा )

    यसमा तपाइको मत

    Facebook Comment